२०७७ साल वैशाखबाट सुरु भएको कोरोना बीमाको भुक्तानी लिन अझै १ लाख ३८ हजार आवेदक बीमा रकम भुक्तानीको पर्खाइमा छन् ।
१४ अर्ब ५३ करोड ४३ लाख रुपैंया बीमा रकम पाउनुपर्ने भन्दै १ लाख ५२ हजारले आवेदन दिएका मध्ये १ लाख ३८ हजारले रकम पाउन बाँकी छ ।
त्यसमध्ये मापदण्ड अनुसार नै ३ अर्ब ५० करोड बीमा कम्पनीहरूको पुल मार्फत भुक्तानी भएको छ ।
कोरोना बीमा मापदण्डमा नै एक अर्ब रुपैयाँसम्मको दावी भुक्तानी बीमा कम्पनीले नै बेहोर्नुपर्ने, २ अर्ब सम्मको रकम नेपाल पुनर्बीमा कम्पनी, २ अर्ब रुपैयाँदेखि साढे २ अर्ब रुपैयाँसम्मको रकम बीमक कम्पनीहरूको महाविपत्ति पुल र साढे २ देखि साढे ३ अर्ब रुपैयाँसम्म भुक्तानी बीमा समितिले बेहोर्नुपर्ने उल्लेख छ ।
जुन कार्यान्वयनमा आइसकेको छ । साढे ३ अर्बमाथिको रकम भने नेपाल सरकारले व्यहोर्नुपर्ने भनिएको थियो । अझैसम्म पनि दाबी भुक्तानीमध्येको ११ अर्ब बढी रकम रकम बीमितले पाउन सकेका छैनन् ।
यसरी हेर्दा बाँकी ११ अर्ब बढी भुक्तानीको दायित्व सरकारमा सरेको छ । तर, अर्थमन्त्रालयले सो रकम भुक्तानी गर्ने नगर्नेबारे निर्णय लिन सकेको छैन । प्रतिस्थापन बजेट यस विषयमा मौन छ ।
अर्थ मन्त्रालयले बुधबार सरोकारवाला निकायसँगको छलफलमा पनि कुन स्रोतबाट रकम भुक्तानी गर्ने र कहिलेसम्म भुक्तानी गर्ने भन्नेबारे टुङ्गो नलगाएको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताउनुभयो ।
बीमा समितिको बुधबारको छलफलमा अर्थमन्त्रीलाई रकम जुटाउने स्रोत पुनर्बीमा कम्पनीको सेयर बिक्री गर्ने वा निर्जीवन बीमाको आयकर र भ्याटलाई समायोजन गरी रकम उठाउने वा कोरोना बीमा ऋणपत्र जारी गर्ने भन्ने विकल्पबारे सुझाव दिनुभएको थियो । तर, अर्थ मन्त्रालयले के गर्ने भन्ने टुङ्गो लगाउन सकेको छैन ।
यता बीमा कम्पनीहरूले भने मापदण्ड अनुसार भुक्तानी गरिसकेको बताउँछन् । बाँकी सरकारले नै तिर्नुपर्ने, उसले नतिरे कम्पनीले तिर्न नसक्न बीमक संघका अध्यक्ष चंकी क्षेत्री बताउनुहुन्छ ।
कोरोना बीमा योजना सुरु भएदेखि नै ३ जना अर्थमन्त्री फेरिए । तर, कोरोना बीमा कहिले पाउने भन्ने एकीन भने हुन सकेन । अर्बाैं रकम भुक्तानी गर्न बाँकी रहेको बीमा कम्पनीहरूले बाँकी रकम सरकारको दायित्व भन्दै पन्छिएका छन् ।
तर, दायित्व बोकेको अर्थ मन्त्रालयले भने कुन स्रोतबाट र कहिलेसम्म रकम भुक्तानी गर्ने भन्ने टुङगो लगाउन नसक्दा कोरोना बीमा भुक्तानीमा अन्योलता छाएको छ ।
नारायणी लामिछाने, इमेज खबर डटकमबाट