संवाददाता, बर्दिया।
अमर शहिद दशरथ चन्द माबि खैरेनी बर्दियाका करिब २ सय विद्यार्थी जोखिमपुर्ण तरिकाले खोला पार गरी पढ्न आउनु पर्ने बाध्यता रहेको पाईएको छ । पानी परेका दिन कति बेला के हुन्छ, ठेगानै हुदैन ।
विद्यालयका प्रधानाध्यापक भिमलाल रिजालले खोला र सर्पको डसाईबारे दैनिक कक्षामा विद्यार्थीलाई सिकाई रहेपनि जोखिमको डर नहटेको जानकारी दिनुभयो ।
उहाँका अनुसार खोला तरेर बारबर्दिया नगरपालिका अन्र्तगतको ढकेला गाउँ र बाँसगढी नगरपालिका ९ अन्र्तगतको थुमनी गाउँका कक्षा ६ भन्दा माथिल्लो कक्षामा पढ्ने विद्यार्थीहरु आउने गर्छन ।
ढकेला र थुमनी गाउँमा कक्षा ५ सम्म पढाई हुने एक/एक वटा विद्यालय छन । तर पनि केही सानो कक्षाका विद्यार्थी यता नजिक पर्ने भनी अमर शहिद दशरथ चन्द माबि खैरेनी, बारबर्दियामा आउने गरेका छन ।
यहाँ अहिले करिब ५ सय विद्यार्थी अध्ययरत छन भने कक्षा १० सम्म पढाई हुन्छ ।
केही दिनअघि सोही क्षेत्रमा पुगेका एक युवाले विद्यार्थीहरु खोला तरदै गरेको फोटो खिचेर सामाजिक संञ्जाल फेसबुकमा अपलोड गरिदिए पछि त्यस क्षेत्रको बारेमा सामाजिक संञ्जालमा अहिले निकै चर्चा भएको छ ।
त्यतिकै फोटो सेयर पनि भएको छ । बाँसगढी नगरपालिका २ का राज थारुले आफूहरुको सामाजिक अभियान अन्र्तगत त्यहाँको फोटोलाई कैद गरी साथीहरुले सेयर गरेको र, संम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण होस भन्ने आफुहरुको चाहाना रहेको बताउनुभयो ।
राज थारुले आफु बास, नेपाल बाँसगढी शाखा र युवा संञ्जाल सँग आवाद्ध रहेको पनि जानकारी गराउनुभयो ।
#विद्यार्थी #खोला