संवाददाता, नेपालगन्ज
बाँके । ३ प्रदेशका पत्रकार लक्षित जनचासो रिपोर्टिङ्ग सम्बन्धी अभिमुखिकरण कार्यक्रम बाँकेको नेपालगंजमा आजदेखी शुरु भएको छ । ८ र ९ (दुई) दिन सम्म चल्ने अभिमुखिकरण कार्यक्रमको आयोजना नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले गरेको हो ।
महासंघको केन्द्रिय समितिको निर्देशन अनुसार समन्वय भने बाँके शाखाले गरेको सचिव कमल डाँगीले जानकारी दिनु भयो । उद्दघाटन कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय कोषाध्यक्ष कलेन्द्र सेजुवालले पश्चिम नेपालको ओझेलमा पर्दै गएको नेपालगन्जलाई पुनः जगाउने गरी कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
अभिमुखीकरण कार्यक्रममा लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका करिब २५ जना पत्रकारहरु सहभागी छन । महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारीले जनचासोका विषयमा यस क्षेत्रका पत्रकारहरुलाई अभिमुखीकरण गराई काममा उर्जा बढाउने कार्य महासंघ केन्द्रिय समितिले गरेकोमा धन्यवाद दिँदै न्यु मिडियाका बारेमा पनि नेपालगन्जलाई केन्द्रमा राखी आगामी , योजना ल्याउन आग्रह गर्नु भयो ।
उद्घाटन कार्यक्रममा महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, सदस्य मोहम्मद आरिफ अन्सारी, दैनिक नेपालगन्जका प्रधान सम्पादक झलक गैरे, पत्रकार रुद्र सुबेदी लगायतले जनचासो रिपोर्टिङका बारेमा चर्चा गर्नु भएको थियो ।
अभिमुखिकरण कार्यक्रमको प्रशिक्षक हरी बहादुर थापा रहनु भएको छ । उहाँ हाल इकागज डटकमका प्रधान सम्पादक हुनुहुन्छ ।