
संवाददाता ।
भारतीय इतिहासमा पहिलोपटक पन्जाब राज्यले दलित समुदायबाट मुख्यमन्त्री पाएको छ । कांग्रेस नेता चरनजीत सिंह चन्नीले आज पञ्जाबको मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएको छ ।
उहाँ पञ्जाब राज्यमा मुख्यमन्त्रीको पद सम्हाल्ने पहिलो दलित व्यक्ति हुनुुभएको छ । पञ्जाब राज्यपाल बनवारीलाल पुरोहितले राज भवनमा आयोजित समारोहबीच चन्नीलाई शपथ ग्रहण गराउनुभएको हो ।
चन्नीले पञ्जाबी भाषामा सपथ ग्रहण गर्नुभएको थियो । काङ्ग्रेस नेता अमरिन्दर सिंहले पदबाट राजीनामा दिएपछि कांग्रेसले आइतबार चन्नीलाई पञ्जाबको मुख्यमन्त्रीको रूपमा चयन गरेको थियो ।
भारतीय समाचार पोर्टल दि वायरका अनुसार पन्जाब भारतको सबैभन्दा धेरै दलित समुदाय भएको राज्य हो । पन्जाबको सन २०११ को जनगणना अनुसारको ३ करोड जनसंख्याको ३२ प्रतिसत संख्या दलितको छ ।
आलोचकहरुले भने आगामी वर्ष सकिने कार्यकाललाई दलित मत तान्न मात्रै चन्नीलाई अल्पकालीन मुख्यमन्त्री बनाइएको आरोप लाएका छन् ।
नेपाल प्रेसबाट



