बालबालिकालाई खोप उपलब्ध गराउन सरकार पूर्ण प्रयासरत छ : प्रधानमन्त्री देउवा

  ।   २०७८ भाद्र २९, मंगलवार ०७:१९

काठमाण्डौ | प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकार पूर्ण प्रयासरत रहेको उल्लेख गर्नुभएको छ ।

५७ औँ राष्ट्रिय बाल दिवसको अवसरमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली बालबालिका एवम् अभिभावकहरूमा शुभकामना व्यक्त गर्दै उहाँले कोभिड–१९ बाट प्रभावित बालबालिकाका लागि प्रत्येक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत शय्याको व्यवस्था गरिएको बताउनुभयो ।

कोभिड–१९ को नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयमा थप प्रयास गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाइ छ । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा आत्मसात् गरेको छ ।

संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण तथा उचित स्याहारसहित सर्वाङ्गीण विकासको हक सुनिश्चित गरेको तथा

बालबालिकासम्बन्धी ऐन कानुनको तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको उहाँले उल्लेख गर्नुभएको छ । नेपालले बाल अधिकार महासन्धिको पक्ष देश भएको ३० पनि वर्ष पूरा भइसकेको छ ।
सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय एवम् राष्ट्रिय बाल अधिकार परिषदमार्फत बालबालिकाको हक अधिकार संरक्षण तथा सम्वर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रदेश सरकार तथा पालिकाले बाल अधिकार संरक्षण तथा सम्वर्द्धनका कार्यहरूलाई प्राथमिकताका साथ लागू गरिरहेका छन् ।

प्रधानमन्त्री देउवाले बालबालिकाको अधिकार संरक्षण गर्दै बालमैत्री देश निर्माणका लागि प्रत्येक घरपरिवार बालमैत्री हुन जरुरी रहेको उल्लेख गर्दै समुदाय, सरकार तथा विद्यालय र स्वास्थ्य सेवा पनि बालमैत्री हुन आवश्यक रहेको बताउनुभएको छ । बाल अधिकार संरक्षण तथा संवर्द्धन गर्नु सबैको साझा जिम्मेवारी भएको बताउँदै उहाँले राष्ट्रिय बाल दिवस २०७८ को अवसरमा सम्पूर्ण अभिभावक, सेवा प्रदायक व्यक्ति तथा निकायहरूलाई बालबालिकाको सर्वाङ्गीण विकासमा जिम्मेवार हुन पनि अनुरोध गर्नुभएको छ । रासस

Next Post

बालदिवसमा बालश्रमिक बालकलाई खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण

२०७८ भाद्र २९, मंगलवार ०७:१९
नेपालगञ्ज । बाँके युनेस्को क्लबले ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा नेपालगञ्ज र डुडुवाका बालश्रमिक बालकहरुलाई राहातस्वरुप मंगलवार खाद्यान्न र शैक्षिक सामाग्री वितरण गरेको छ । विश्व शिक्षाको सहयोग र नेपालगञ्ज उपमहानगरको समन्वयमा क्लबले सञ्चालन गरेको सक्रिय परियोजना अन्तर्गत घट्ना व्यवस्थापन गरिएका अति विपन्न तथा जोखिममा रहेका नेपालगञ्ज र डुडुवाका […]