सरुवा–बढुवाका लागि ‘सोर्स फोर्स’ लगाउने काम बन्द गर्नुहोस् : अर्थ सचिव मरासिनी

  ।   २०७८ भाद्र २७, आईतवार १४:४१

काठमाण्डौ । अर्थ सचिव मधुकुमार मरासिनीले भन्सार प्रशासनलाई तीन ‘स’ को अवधारणामा काम गर्न आग्रह गर्नुभएको छ । भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई आइतवार सम्बोधन गर्दै अर्थ सचिव मरासिनीले सुधार, सहजीकरण र सुशासनको अवधारणालाई आत्मसात् गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सरुवा वा बढुवाका लागि कुनै पनि दल, नेता वा सङ्गठनको फोन लगाउने कार्य तत्काल बन्द गर्न निर्देशन दिनुभयो । सरुवाका लागि फोन गराइ दबाब सिर्जना गर्ने कर्मचारीहरूको माग सुनुवाइ नहुने अर्थ सचिव मरासिनीले स्पष्ट पार्नुभयो । ‘त्यसरी फोनमा सोर्स फोर्स लगाउने कर्मचारीले आफ्नो इन्टिग्रेटीमा कम्प्रोमाइज गरिसकेको हुन्छ, इन्टिग्रेटी गुमाइसकेका कर्मचारीले कस्तो काम गर्छन्, त्यो आफैँ बुझ्नुहुन्छ’, उहाँले भन्नुभयो ।

राजश्व सचिव कृष्णहरि पुष्करले सेवाग्राहीले कर्मचारीको इमानदारितामाथि कुनै पनि प्रकारका प्रश्न उठाउन नसक्ने गरी काम गर्न निर्देशन दिनुभयो । उहाँले सेवाग्राहीका गुनासालाई तत्काल सम्बोधन गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगहरूको संरक्षण र प्रोत्साहन गर्ने गरी नीति आएकोमा सरकारलाई धन्यवाद दिनुभयो । उहाँले करको दर हेरफेरमा निजी क्षेत्रको सुझाव समेटिएको भन्दै खुसी व्यक्त गर्नुभयो । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नक लागि कच्चा पदार्थ आयातमा तयारी वस्तुको तुलनामा दुई तह कम दरको कर लगाउनुपर्नेमा ढकालले जोड दिनुभयो ।

भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले लक्ष्यअनुसारको राजस्व सङ्कलन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सदाचारलाई शिरमा तथा देशको हितलाई छातीमा राखेर काम गर्न मातहतका कार्यालय प्रमुख तथा कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

Next Post

बर्खामा चार अर्ब युनिट बिजुली बिहार पठाउन प्रस्ताव, हिउँदमा आयात गरिने

२०७८ भाद्र २७, आईतवार १४:४१
काठमाण्डौ | नेपाल विद्युत् प्राधिकरणले बर्खामा नेपालमा खपत गरी बढिरहेको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत् आयातका लागि भारतको बिहार राज्यसँग पारस्परिक मौसमी विद्युत् आदान–प्रदानको (Mutual Seasonal Power Exchange ) प्रस्ताव गरेको छ । प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी र अन्य निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूबाट बर्खामा उत्पादित विद्युत् देशभित्र खपत […]