नेपालमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, कसरी बच्ने ?

  ।   २०७८ भाद्र २४, बिहीबार ०६:३५

काठमाडौं । साउनयता नेपालमा फैलिइरहेको स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा धेरै पाल्पामा आठ जनाको मृत्यु भएको छ । त्यस्तै काभ्रेमा चार तथा गुल्मी, रामेछाप, सिन्धुली र पर्वतमा एक–एक जनाको मृत्यु भएको महाशाखाको तथ्यांक छ ।

प्रत्येक वर्ष देखिने स्क्रब टाइफसको संक्रमण साउनयता नेपालमा बढेको हो ।

कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएर कोभिडको रिपोर्ट नेगेटिभ आएमा ‘स्क्रब टाइफस’ को परीक्षण गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

के हो स्क्रब टाइफस ?
स्क्रब टाइफस मुसा खरायो लगायतका रौँ भएका जीवजन्तुमा पाइने एक प्रकारको संक्रमित किर्नाको टोकाइबाट मानिसमा सर्ने संक्रमण हो । यस्ता, जीवजन्तुमा पाइने किर्ना ‘ओरिएन्सिया सुत्सुगामुसी’ नामक जीवाणुबाट संक्रमित छ भने उक्त किर्नाले मानिसलाई टोकेमा यो संक्रमण सर्दछ ।

नेपालमा सन् २०१३ मा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको एक सर्वेक्षणमा प्रत्येक १० मध्ये ७ वटा मुसामा यस्तो किर्ना भेटिएको थियो । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनकाअनुसार यो किर्नाको टोकाइको असर २४ देखि ४८ घण्टाभित्र देखापर्छ ।

घरमै मुसा बस्नै वातावरण भए टाइफस सर्ने सम्भावना बढी हुन्छ । यसबाहेक झाडी, बाक्लो घाँस भएको ठाउँ आदिमा मुसा बस्ने हुँदा खेतबारीको काम गर्ने क्रममा समेत यो रोग सर्ने गर्दछ ।

यी हुन् स्क्रब टाइफसका लक्षणहरू
स्क्रब टाइफसको संक्रमण भएमा सुुरुमा छाला चिलाउने, आँखा रातो हुँदै जाने, निम्फोग्राफी सुन्निनेजस्ता लक्षण देखा पर्छन् । विस्तारै खोकी लाग्ने, पेट दुख्ने, पखाला लाग्ने, उच्च ज्वरो आउने श्वासप्रश्वासमा अवरोध आउनेजस्ता समस्या बढ्न थाल्छन् र टोकेको ठाउँमा कालो सानो दाग बस्दै जान्छ ।

कसरी गर्ने उपचार ?
स्क्रब टाइफस आफैँमा खतरनाक रोग होइन । तर, समयमै रोग पत्ता नलाग्दा र औषधिको उचित प्रयोग नगरेमा बिरामीको ज्यान जाने खतरा हुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार यसको समयमै उपचार नभए फोक्सो, कलेजो, मस्तिष्क आदिमा असर पुर्‍याएर धेरैवटा अंगमा एकैपटक असर पर्ने ९मल्टी अर्गान डिस्फङसन० समेत हुनसक्छ ।

डा। पुनकाअनुसार यसको उपचारमा ‘डक्सिसाइक्लिन’ नामक औषधिको प्रयोग गरिन्छ । उल्लेखित लक्षण देखिए चिकित्सकको सल्लाहअनुसार औषधि खानुपर्छ । टाइफाइडसँग मिल्दोजुलदो लक्षण देखिने हुँदा नेपालमा स्क्रब टाइफसको पहिचानमा अझैपनि ढिलाइ हुने गरेको डा। पुनको अनुभव छ । जसकारण बिरामीको उपचार प्रक्रियासमेत लम्बिने गरेको छ ।

रगत परीक्षणको माध्यमबाट स्क्रब टाइफस पत्ता लगाउन सकिन्छ । सरकारीस्तरमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्क्रब टाइफसको परीक्षण गरिन्छ । समयमै पत्ता लागे औषधि सेवन सुरु गरेको १ देखि २ दिनमा स्क्रब टाइफस निको हुन्छ ।

Next Post

जस्टिन बिबरको वृत्तचित्र ‘अमेजन प्राइम’मा प्रिमियर हुँदै

२०७८ भाद्र २४, बिहीबार ०६:३५
मुम्बई । क्यानडियन गायक जस्टिन बिबरमाथि बनेको वृत्तचित्र ‘अमेजन प्राइम’ मा रिलिज हुने भएको छ । अवार्ड विजेता माइकल डी र्याटनेरले निर्देशन गरेको वृत्तचित्र ८ अक्टोबरमा प्रिमियर हुने अमेजन प्राइमले बुधबार जनाएको हो ।  ‘जस्टिन बिबरः आवर वल्र्ड’ ले गायक बिबरको भित्री पाटो र तीनवर्षमा उनको पहिलो फुल कन्सर्ट लगायत […]