तामाकोसी पाँचौँमा कर्मचारी सञ्चयकोषले १२ अर्ब लगानी गर्ने

  ।   २०७८ श्रावण ११, सोमबार ०७:४८

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोसी पाँचौँमा १२ अर्ब ऋण उपलब्ध गराउने भएको छ।

रसुवागढी, माथिल्लो साञ्जेन, साञ्जेन र भोटेकोसीमा एकलौटी लगानी गरेको कोषले तामाकोसी पाँचौँमा एक्लै लगानी गर्न लागेको हो। लगानीसम्बन्धी त्रिपक्षीय समझदारीपत्रमा आइतबार हस्ताक्षर गरियो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, कर्मचारी सञ्चयकोषका प्रशासक तुलसीप्रसाद गौतम र तामाकोसी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिबमान प्रधानले हस्ताक्षर गर्नुभयो।

झण्डै १०० मेगावाट क्षमताको सो आयोजना असाध्यै आकर्षक भएकाले आफूहरुले लगानी गरेको कोषका प्रशासक गौतमले जानकारी दिनुभयो । माथिल्लो तामाकोसीको क्यासकेड परियोजनाका रुपमा तामाकोसी पाँचौँ अगाडि बढाउन लागिएको हो।

कुल ४५६ मेगावाट क्षमताको सो आयोजना निर्माणको अन्तिम चरणमा छ। माथिल्लो तामाकोसीको दुईवटा युनिट परीक्षण भइरहेको छ। असार अन्तिम साता उद्घाटन भए पनि उपकरणमा समस्या आएपछि केही दिन आयोजना बन्द भएको थियो।

तामाकोसी पाँचौँको कुल लगानी १६ अर्ब रहने अनुमान गरिएको छ। कुल लगानीमध्ये १२ अर्ब कोषले उपलब्ध गराउँदा थप चार अर्ब भने प्राधिकरणले लगानी गर्ने भएको छ। परियोजना सस्तो र आकर्षक भएकाले पनि आफूहरूले खुला हृदयसाथ लगानी गरेको कोषका प्रशासक गौतमको भनाइ छ।

माथिल्लो तामाकोसीको विद्युत्गृहमा बिजुली निकालेर निस्किएको पानीलाई उपयोग गरेर सुरीदोभान पु¥याइनेछ। आयोजनामा कुल आठ किमि लामो सुरुङ निर्माण गर्नुपर्नेछ।

माथिल्लो तामाकोसी निर्माणका क्रममा नै केही संरचनासमेत तयार भएकाले आयोजनालाई थप सहज हुने प्रमुख कार्यकारी अधिकृत प्रधानको भनाइ छ। यसमा बाँध निर्माण गर्नुनपर्ने भएकाले पनि थप सहज भएको छ। माथिल्लो तामाकोसीको टेलरेस टनेललाई अर्को टनेलमा स्थानान्तरण गर्न मिल्ने गरी भूमिगत इन्टेक बनाइएको छ।

तामाकोसी पाँचौँमा २५ मेगावाट क्षमताका चार युनिट रहनेछ। आयोजनाको कुल लागतका आधारमा प्रतिमेगावाट लागत १६ करोड मात्रै पर्ने भएकाले पनि सस्तो मानिएको छ।

आयोजनाका लागि पहुँचमार्ग निर्माण गर्नुपर्ने छैन। माथिल्लो तामाकोसीको सबै संरचनासमेत प्रयोग गर्न सकिन्छ। त्यसकारण पनि व्यवस्थापन थप सरल देखिन्छ।

प्रसारण लाइनसमेत तम्तयारी हालतमा रहेको, लागत सस्तो पर्ने एवं सबै विषयले सहज भएकाले कोषले ऋण उपलब्ध गराउन लागेको प्रशासक गौतमले रासससँगको कुराकानीमा भने, ‘हामीले समग्रतामा मूल्यांकन गर्दा आयोजना नै सबैभन्दा आकर्षक छ।’ आयोजनाले वार्षिक ५४० गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ। आवश्यक सबै काम सकेर आगामी १० महिनाभित्र बोलपत्रको काम थाल्ने र निर्माण सुरु गरिहाल्ने योजनामा प्रवद्र्धक कम्पनी लागिपरेको छ।

प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालयमै सो आयोजना सुरु गर्ने प्रयास गर्नुभएको थियो । पूर्वऊर्जामन्त्री वर्षमान पुनले सो आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गर्नुभएको थियो ।

योजनाले स्थानीय प्रभावित एवं आम सर्वसाधारणलाई साधारण सेयर बिक्री गर्ने योजना बनाएको छ। ‘हामीले एकपछि अर्को आकर्षक परियोजनामा लगानी गरिरहेका छौँ, तीमध्ये तामाकोसी पाँचौँ झन् आकर्षक छ,’ कोषका प्रशासक गौतमले भन्नुभयो, ‘छिट्टै आयोजनाको काम सुरु हुनेमा हामी आशावादी छौँ।’

केही अघिसम्म सो आयोजना माथिल्लो तामाकोसी अन्तर्गत नै राख्नुपर्ने माग पनि आएको थियो। प्राधिकरणले छुट्टै कम्पनी स्थापना गरेर अगाडि बढाएको छ। रासस

Next Post

अफगानिस्तानमा एक महिने कर्फ्यु

२०७८ श्रावण ११, सोमबार ०७:४८
एजेन्सी । अफगानिस्तान सरकारले मुलुकभर एक महिना लामो कर्फ्यु घोषणा गरेको छ। विद्रोही संगठन तालिबानले मुलुकका अधिकांश भू–भाग लगातार नियन्त्रणमा लिन थालेपछि सरकारले कर्फ्यु घोषणा गरेको हो। तालिबानले धेरैजसो सीमा क्षेत्रसहित आधाभन्दा बढी भू-भाग नियन्त्रणमा लिइसकेको छ। सरकारले राजधानी काबुलमा तालिबानको प्रवेश रोक्न कर्फ्यु आदेश जारी गरेको अनुमान गरिएको छ। […]