जोनसन एन्ड जोनसन कोभिड खोप : स्नायु प्रणालीको समस्या देखा पर्न सक्ने चेतावनीबारे नेपाल सरकारले’ अनुसन्धान गर्ने’

  ।   २०७८ असार ३०, बुधबार १५:२२

फणीन्द्र दाहाल ।
अमेरिकाको औषधिसम्बन्धी नियामक निकायले जोनसन एन्ड जोनसनको खोपले स्नायु प्रणालीसम्बन्धी एक प्रकारको दुर्लभ अवस्थाको जोखिम बढाउन सक्ने चेतावनी दिएपछि अमेरिकी अनुदानमा सोमवार नेपाल भित्रिएको उक्त खोपबारे सरकारी संयन्त्रहरूले ’अनुसन्धान गर्ने’ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले स्नायु प्रणाली शिथिल हुने ’गीयाङ बारे सिन्ड्रोम’ भनिने अवस्था उक्त खोप लगाएका कारण आउन सक्ने सम्भावना न्यून रहेको उल्लेख गरेको छ ।

जोनसन एन्ड जोनसन खोप लगाएका व्यक्तिमा अमेरिकाको कुल जनसङ्ख्याको तुलनामा उक्त समस्या विकसित हुने सम्भावना तीनदेखि पाँच प्रतिशतभन्दा बढी रहेको अधिकारीहरूलाई उद्धृत गर्दै द न्यूयोर्क टाइम्सले जनाएको छ ।

अमेरिकामा झन्डै एक करोड २८ लाख व्यक्तिले जोनसन एन्ड जोनसनको खोप लगाइसकेका छन ।

सङ्घीय अनुगमन प्रणालीबाट उक्त खोप लगाएका व्यक्तिमध्ये १०० जनामा गीयाङ बारे सिन्ड्रोम देखिएको र तीमध्ये ९५ प्रतिशत गम्भीर स्थितिमा रहेको तथा बिरामीलाई अस्पतालमा भर्ना गर्नुपरेको एफडीएले जनाएको छ ।

तर उक्त निकायले अहिलेसम्म उपलब्ध प्रमाणले जोनसन एन्ड जोनसनको खोप र गीयाङ बारे सिन्ड्रोमको जोखिमबीच सम्बन्ध रहेको देखाए पनि ’प्रत्यक्ष सम्बन्ध रहेको स्थापित गर्ने आधार नदेखिएको’ जनाएको छ । उसका अनुसार जोनसन एन्ड जोनसनको खोपबाट थाहा पाइएका र सम्भावित जोखिमभन्दा त्यसले दिने सम्भावित लाभ बढी रहेको देखिन्छ ।

गियाङ बारे सिन्ड्रोम के हो ?
मानव शरीरको प्रतिरक्षा प्रणालीले स्नायुसम्बन्धी कोषलाई क्षति पु¥याएपछि त्यसले मांसपेशीलाई कमजोर बनाउँछ तथा बेलाबेलामा पक्षाघात हुँदा गीयाङ बारे सिन्ड्रोम देखा पर्ने एफडीएले उल्लेख गरेको छ ।

संयुक्त राज्य अमेरिकामा प्रत्येक वर्ष प्रति १० लाख व्यक्तिमध्ये झन्डै १० जनालाई यो समस्या देखा परेको तथ्याङ्क छ । गम्भीर लक्षण विकसित भए पनि यो अवस्थाबाट धेरै जना निको हुने बताइन्छ । कोभिड–१९ लागेका व्यक्तिमा पनि यो अवस्था देखा परेको द न्यूयोर्क टाइम्सले जनाएको छ ।

यसअघि गीयाङ बारे सिन्ड्रोमलाई १९७६ को स्वाइन फ्लूको खोप र अरू रुघाखोकीका खोपसँग पनि जोडेर हेर्ने गरिएको थियो । कतिपय अध्ययनले खोप नभई रुघाखोकीका कारण मानिसमा उक्त अवस्था विकास हुने दाबी पनि गरेका छन ।

जोनसन एन्ड जोनसनले आफ्नो खोपबाट त्यस्तो अवस्था आउने सम्भावना एकदमै कम रहेको भन्दै अहिले सार्वजनिक भएको सङ्ख्या अपेक्षा गरिएको दरभन्दा थोरै बढी भएको जनाएको छ ।

एउटा मात्रा मात्रै लगाए पुग्ने उक्त खोपलाई विश्व स्वास्थ्य सङ्गठनसहित ५५ देशमा आपत्कालीन प्रयोगको अनुमति रहेको कोभिड १९ भ्याक्सीन ट्र्याकर नामक वेबसाइटमा उल्लेख छ ।

जोनसन एन्ड जोनसनको कोभिड खोपबारे नेपाली अधिकारीहरू के भन्छन ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका एक जना अधिकारीले अमेरिकी सरकारी निकायले जारीको गरेको चेतावनीबारे आफूहरू जानकार रहेको बताउनुभएको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेल भन्नुहुन्छ, “यसमा हाम्रो खोप समितिले हेर्छ ।

अरू ठाउँमा यो खोप प्रयोग भइरहेको छ र अहिले भनिएको जोखिम ठूलो पनि होइन ।“ उहाँले थप्नुभयोे, “डब्ल्यूएचओले प्रयोग गर्न मिल्छ भनेपछि हामीले पनि प्रयोग गर्न मिल्छ । एफडीएले के भन्यो त्यतातिर हामी जाँदैनौँ ।“

उहाँले आस्ट्राजनेका खोपमा पनि विगतमा जोखिमको सम्भावना औँल्याइएको उल्लेख गर्दै भन्नुभयोे, “डब्ल्यूएचओले पनि केही भन्ला, हाम्रो खोप समितिले पनि अनुसन्धान गर्छ । सबै खोपमा केही न केही जोखिमको कुरा निस्केको छ तर त्यसबाट प्राप्त हुने लाभ धेरै गुणा बढी छ ।“ उहाँले पछिल्लो चेतावनीकै कारण जोनसन एन्ड जोनसन खोपको नेपालमा वितरण नरोकिने पनि बताउनुभयो ।

नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले सोमवार आयोजित विशेष कार्यक्रममा १५ लाख ३४ हजार ८ सय ५० जोनसन एन्ड जोनसन खोप नेपाल सरकारलाई हस्तान्तरण गर्नुभएको थियो ।

उहाँले उक्त खोप अमेरिकी नागरिकका तर्फबाट नेपाललाई उपहार भएको उल्लेख गर्नुभएको थियो ।

जोनसन एन्ड जोनसन खोप कसले पाउँछन ?

स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले जोनसन एन्ड जोनसनको खोप पहिलो मात्रा लगाउन बाँकी रहेका ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई दिने निर्णय गरेको छ ।

त्यसबाहेक अपाङ्गता भएका व्यक्ति, नेपालमा बसिरहेका शरणार्थी र यसअघिको अभियानमा छुटेका स्वास्थ्यकर्मी र सफाइकर्मीलाई उक्त खोप मङ्गलवारबाटै दिने व्यवस्था मिलाउन विभागले आफू मातहतका स्वास्थ्य निकायलाई निर्देशन दिएको थियो ।

काठमाण्डूमा साउन ४ देखि साउन ६ गतेसम्म जोनसन एन्ड जोनसनको खोप वितरण गर्ने सूचना मङ्गलवार काठमाण्डू जिल्ला प्रशासन कार्यालयले जारी गरेको थियो ।

नेपालको जनसङ्ख्याको लगभग पाँच प्रतिशतलाई लगाउन पुग्ने परिमाणमा प्राप्त भएको उक्त खोप हालसम्म नेपालले अनुदानमा पाएको कोरोनाभाइरसविरुद्धको सबैभन्दा ठूलो खोप सहयोग हो ।

युरोपको औषधिसम्बन्धी नियामक निकायले गएको एप्रिलमा अक्सफर्ड–आस्ट्राजेनेका खोपका कारण अस्वाभाविक रूपमा रगत जम्ने समस्या देखिनु एकदमै दुर्लभ नकारात्मक असर भएको बताएको थियो ।

उसले उक्त खोपको नकारात्मक असर भन्दा लाभ बढी भएको निष्कर्ष निकालेको थियो । आस्ट्राजेनेकाको भारतमा उत्पादित संस्करण कोभिशील्ड खोप नेपालमा पनि प्रयोग गरिएको छ तर हालसम्म उक्त खोप प्रयोग गर्दा गम्भीर नकारात्मक असर देखा परेका विवरण आएको छैन ।

बीबीसी न्यूज नेपाली

Next Post

चुनावका सबै कार्यक्रम रद्द

२०७८ असार ३०, बुधबार १५:२२
संवाददाता । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य चुनाव २०७८ को चुनाव कार्यक्रम रद्द गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरेर ६ महिनाभित्र चुनाव गर्ने भन्दै कात्तिक २६ र मङ्सिर ३ गतेका लागि चुनावको मिति तोकेको थियो । तर सर्वोच्च अदालतले संसद् पुर्नस्थापना गर्ने फैसलासँगै आयोगले […]

सम्बन्धित समाचार