पाँचौं पटक प्रधानमन्त्री बन्ने अवसर पाउने शेरबहादुर देउवाको पढाई कत्ति ?

  ।   २०७८ असार २९, मंगलवार १६:२९

संवाददाता  ।
नेपाली काङ्ग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएका देउवा नेपालमा धेरै पटक प्रधानमन्त्री बन्न पाउने थोरै व्यक्तिमध्ये पर्नुहुन्छ ।

आफ्नो राजनीतिक जीवनमा आलोचकबाट ’प्रजातन्त्र दरबारलाई लगेर बुझाएको’ भन्ने आरोप खेप्नुभएका देउवालाई पहिलेका कार्यकालका आधारमा कैयौँले ’काबिल’ प्रधानमन्त्रीको रूपमा लिँदैनन ।

यद्यपि देउवाका प्रशंसकहरू उहाँलाई ’पार्टी र गठबन्धनलाई समेत व्यवस्थापन गर्न सफल’ व्यक्तिका रूपमा चित्रण गर्छन् । कैयौँ काङ्ग्रेसीहरूका भनाइमा देउवा कतिपय परिस्थितिमा ’कूटनीतिकभन्दा पनि बढी स्पष्ट वक्ता’ देखिनुहुन्छ ।

राजनीतिको आरम्भ
सुदूरपश्चिमको डडेलधुरा जिल्लामा २००३ सालमा जन्मिनुभएका उहाँले विद्यार्थी जीवनबाटै राजनीति सुरु गर्नुभएको थियो । २०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी सङ्घबाट देउवाले आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको हो ।

त्यसपछि उहाँ नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य र सभापति बन्नुभयो । पञ्चायत विरोधी राजनीति गर्दा देउवामा पटक–पटक जेल पर्नुभएको थियो ।

त्यस्तै राजा ज्ञानेन्द्र शाहको शासनकालमा पनि उहाँमाथि भ्रष्टाचार अभियोग लगाइएको थियो र त्यसबेला समेत उहाँ केही समय जेल पर्नुभएको थियो । आफ्नो राजनीतिक जीवनमा पटक–पटक गरेर करिब नौ वर्ष जेल जीवन बिताएको प्रतिनिधिसभाको वेबसाइटमा राखिएको परिचयात्मक भिडियोमा देउवाले बताउनुभएको छ ।

प्रजातन्त्र कालमा देउवा २०४६ सालको जनआन्दोलनपछि देउवा सुदूरपश्चिम क्षेत्रमा नेपाली काङ्ग्रेस पार्टीको राजनैतिक प्रमुखको भूमिकामा रहनुभएको थियो । २०४८ सालमा डडेलधुराबाट सांसद बन्नुभएका देउवा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बन्नुभएको थियो ।

२०५१ सालको मध्यावधि निर्वाचनपछि उहाँ संसदमा प्रमुख प्रतिपक्षी दलको नेता बन्नुभयो । २०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि उहाँ पहिलोपटक संयुक्त सरकारको प्रधानमन्त्री बन्नुभएको थियो ।

२०५६ सालमा डडेलधुराबाटै निर्वाचित हुनुभएका देउवा २०५८ साल साउनमा दोस्रोपटक प्रधानमन्त्री बन्नुभएको थियो । त्यसै वर्ष असोज १८ गते राजा ज्ञानेन्द्रले उहाँलाई पदच्युत गर्नुभएको थियो । ज्ञानेन्द्रको उक्त कदमविरुद्ध पाँच दलले आन्दोलन गरेका थिए ।

त्यसपछि २०६१ साल जेठमा राजा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्रीमा पुर्नस्थापित गर्नुभयो । तर फेरि ज्ञानेन्द्रले २०६१ साल माघ १९ मा सत्ता आफ्नै हातमा लिँदै देउवालाई हटाउनुभएको थियो ।

त्यसपछि देउवालाई ज्ञानेन्द्रले गठन गरेको शाही आयोगले भ्रष्टाचार अभियोग लगाएको थियो ।

उक्त आयोगलाई अवैधानिक भन्दै बयान दिन अस्वीकार गर्नुभएका देउवालाई शाही सरकारले भ्रष्टाचारको अभियोगमा पक्राउ समेत गरेको थियो । तर पछि सर्वोच्च अदालतले उक्त आयोगलाई नै खारेज गरिदिएपछि उहाँ छुट्नुभएको थियो ।

पार्टी विभाजन
गिरिजाप्रसाद कोइरालासँगको अन्र्तद्धन्द्वका कारण उहाँले २०५९ सालमा नेपाली काङ्ग्रेसलाई फुटाएर नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक) गठन गरेर त्यसको सभापति हुनुभएको थियो ।

२०६२-०६३ सालको जनआन्दोलनपछि २०६४ सालमा देउवाको उक्त पार्टी पुनः नेपालकी काङ्ग्रेसमा एकीकृत भयो ।

२०७२ साल फागुनमा भएको १३ औं पार्टी महाधिवेशनबाट नेपाली काङ्ग्रेसको सभापति चुनिनुभएका देउवा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको नेता रहनुभएको छ ।

सन् २००८ देखि २०१२ सम्म सोस्यलिस्ट इन्टरन्याशनलको उपाध्यक्ष समेत रहिसक्नुभएका देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गर्नुभएको छ ।

सन् १९८९ देखि १९९० सम्म उहाँ लन्डन स्कूल अफ इकनिमिक्समा राजनीतिशास्त्रको रिसर्च फेलो रहनुभएको थियो । उहाँ वर्तमान प्रतिनिधिसभामा डडेलधुरा जिल्लाबाट निर्वाचित सांसद हुनुहुुन्छ ।

बीबीसी नेपालीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माओवादी केन्द्रको लिस्टमा प्रभाकर र भुसाल

२०७८ असार २९, मंगलवार १६:२९
नेपालगन्ज । नेकपा माओवादी केन्द्रले आफ्नो लिस्टमा नेता जनार्दन शर्मा (प्रभाकर) र पम्फा भुसाललाई पारेको छ । दुइजना नेतालाइ मन्त्रीका लागि सरकारमा पठाउने निर्णय माओवादी केन्द्रले गरेको हो । माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड) ले काँग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि माओवादीका तर्फबाट दुई मन्त्रीको टुंगो […]