काठमाण्डौ । नेकपा एमालेको खनाल–नेपाल समूहका नेताहरु भोलिका लागि डाकिएको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने या नहुने भन्नेबारेमा अलमलमा परेका छन् ।
दशौं महाधिवेशन आयोजक कमिटी अवैध रहेकोले त्यो कमिटीको निर्णय अनुसार बैठक बोलाइएकोले बैठकमा सहभागी हुने या नहुने भन्नेबारे अहिले नै भन्न नसकिने खनाल–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । यस्तै दशौं महाधिवेशन आयोजक कमिटीले गरेका निर्णयको कुनै तुक नरहेकोले यसबारे अहिले नै भन्न नसकिने नेता गोकर्ण विष्टले बताउनुभयो । हिजो बसेको एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।
यस्तै बैठकले भोलिका लागि केन्द्रीय कमिटी बैठक आह्वानसमेत गरेको छ । केन्द्रीय कमिटीलाई माओवादी केन्द्रबाट आएका ४ जना थपेर २६१ सदस्यीय बनाइएको छ । महाधिवेशन आयोजक कमिटी भङ्ग भएसँगै खनाल–नेपाल समूहमाथि लगाइएको कारबाही पनि खारेज भएको छ ।
तर, खनाल–नेपाल समूहले भने हिजोको निर्णयलाई अर्को जालझेल र अलमल्याउने निर्णयका रुपमा बुझेका छन् । यसबारे खनाल–नेपाल समूहका नेताहरु औपचारिक र अनौपचारिक छलफलमा जुट्दै छन् । हिजोदेखि नै अनौपचारिक छलफलमा जुटेका उनीहरुले आज औपचारिक छलफल गर्दै छन् ।