समाचारदाता
नेपालगञ्ज । बाँके युनेस्को क्लबले बर्दियाका अनाथ, अति विपन्न र अपांगता भएका बालबालिकालाई खाद्यान्न राहात वितरण गरेको छ ।
प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा क्लबले बर्दियामा सञ्चालन गरेको बाल संरक्षण परियोजना अन्तर्गत बर्दियाको बारबर्दिया नगरपालिकाको वडा नम्बर ५ र १० का नौ जना अतिनै विपन्न तथा जोखिममा रहेका बालबालिकालाई खाद्यान्न वितरण गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । उहाँले आमा बुवा नभएका, अति विपन्न र अपांगता भएका अतिनै जोखिममा रहेका बालबालिकालाई ४७ हजार ५८० रुपियाँको खाद्यान्न वितरण गरिएको बताउनुभयो ।बारबर्दिया नगरपालिकाका जेष्ठ नागरिक, महिला तथा बालबालिका शाखाका प्रमुख उषा पुन र वडा नम्बर १० का वडा अध्यक्ष निरन्जन कुमार चौधरीले बालबालिकालाई खाद्यान्न वितरण गर्नुभयो । सो अवसरमा बोल्दै जेष्ठ नागरिक, महिला तथा बालबालिका शाखाका प्रमुख पुनले अनाथ अति विपन्न र जोखिममा रहेका बालबालिकाको संरक्षण गर्नु राज्य र गैर सरकारी निकाय सबैको जिम्मेवारी भएको बताउनुभयो ।
वडा नम्बर १० का वडा अध्यक्ष चौधरीले स्थानीय सरकारले गर्नु पर्ने काम युनेस्को क्लब र प्लान नेपालले गरेकोमा आभार प्रकट गर्नुभयो । उहाँले जोखिममा रहेका सबै बालबालिकाको संरक्षण गरिने प्रतिवद्धता पनि सो अवसरमा गर्नु भयो । खाद्यान्न वितरण कार्यक्रम सञ्चालन क्लबका ईश्वर विकले गर्नु भएको थियो । प्लान नेपालले बाँके युनेस्को क्लब मार्फत बाँके र बर्दियामा बाल संरक्षण, बाल विवाह रोक्न, तथा महिला तथा बालबालिका बेचविखन विरुद्ध विभिन्न परियोजना सञ्चालन गरिरहेको क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो ।