बाँके । नरैनापुरका ३५ वर्षीय नसिब खाँले विद्यालयसम्म पुग्न सकेनन् । घरभन्दा धेरै टाढा विद्यालय हुँदा उनी शिक्षाबाट वञ्चित भए । पढ्ने इच्छा भए पनि उनले पढ्न पाएनन् । आधारभूत शिक्षाबाट समेत वञ्चित भएका उनी अहिले पौढ शिक्षा लिएर हस्ताक्षर गर्ने भएका छन् ।
सरिता यादवले प्राथमिक तहसम्मको मात्र शिक्षा हासिल गरिन् । पायक पर्ने ठाउँमा विद्यालय हुँदा उनले प्राथमिक शिक्षा लिइन् । नजिकै विद्यालय नहुँदा माध्यमिक शिक्षा लिन उनले सकेनिन् । उनीहरु मात्र होइन, यहाँका कयौं सर्वसाधारणले विद्यालय जानै पाएनन् । गएकाले गुणस्तरीय शिक्षा नपाउँदा प्रतिस्पर्धामा उत्तीर्ण हुन हम्मेहम्मे थियो । तर, अहिले यहाँको अवस्था पहिले जस्तो छैन । ठाउँठाउँमा विद्यालय छन् । विद्यालयमा विभिन्न स्रोतबाट शिक्षकशिक्षिका व्यवस्थापन गरिएको छ । यति मात्र होइन, प्राविधिक धारका विद्यालयहरु समेत सञ्चालन छन् । पछिल्लो समय नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा शिक्षाले फट्को मार्दै गएको छ । सानासाना बालबालिका विद्यालय जान्छन् । विद्यालयका छाना फेरिएका छन् । विद्यालयहरुमा पक्की भवन निर्माण गरिएको छ । गुणस्तरीय शिक्षामा दिइएको देखिन्छ । ‘मैले पढ्न नपाए पनि छोराछोरीलाई विद्यालय पठाउन पाएको छुँ,’ राप्तीसोनारीकी गीता थारुले भनिन्, ‘गाउँमै विद्यालयहरु सञ्चालन भएपछि सजिलो भएको छ ।’ गाउँमा उच्च शिक्षा नहुँदा आफ्नो साथीसंगी नेपालगन्ज, कोहलपुर लगायतका क्षेत्रमा पुगेर अध्ययन गरेको उनको भनाइ छ । ‘घरभन्दा बाहिर गएर पढ्न आर्थिक समस्या थियो । त्यसैले पनि पढ्न पाइनँ,’ उनी भन्छिन्, ‘आफूले पढ्न नपाए पनि सन्ततीले पढ्न पाएका छन् । यसमै खुसी छुँ ।’
यस क्षेत्रमा शिक्षाको ज्याति ल्याएर निवर्तमान सांसद तथा बाँके निर्वाचन क्षेत्र नम्बर १ (क) की उम्मेदवार कृष्णा केसी (नमूना) गाउँगाउँ पुगेकी थिइन् । उनको पहलमा यहाँ शिक्षाले ठूलो फट्को मारेको छ । राप्तीसोनारी र नरैनापुर गाउँपालिकालाई शिक्षाको मूल प्रवाहमा ल्याउन नमूनाले योगदान पुर्याएको यहाँका अंकीत चौधरीले बताए । ‘हामीले २०७४ सालको चुनावमा उहाँलाई विश्वास मानेर जिताएका थियौं,’ उनले भने, ‘उहाँले हाम्रो आसा र भावनालाई सम्बोधन गरेर काम गर्नुभयो । जसको फलस्वरुप आज हाम्रै सन्ततीले गाउँमा उच्च शिक्षा तथा प्राविधिक शिक्षा हासिल गरिरहेका छन् ।’
समुदायमा सञ्चालित विद्यालयलाई अधिकतम बजेटको व्यवस्था गरेर विद्यार्थीलाई पाठ्य सामग्री, दिवा खाजा लगायतका कार्यक्रम सञ्चालनमा ल्याइ उनीहरुलाई शिक्षाको पहुँचमा ल्याएको उनको भनाइ छ । उनले बेरोजगार उत्पादन गर्ने कारखाना बनेका विद्यालय परिमार्जन गरी प्राविधिक र गुणस्तरीय शिक्षा प्रदान गर्नु आफू लागिरहेको बताइन् । निजी विद्यालयहरुले शैक्षिक विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै उनले भनिन्, ‘अब सबै मिलेर गरिबी र बेरोजगारको अवस्था अन्त्य गर्नसक्ने शिक्षा बालबालिकालाई दिन तर्फ केन्द्रित हुनुपर्ने छ ।’ उनले आफ्नै व्यक्तिगत खर्चमा बाढीपीडित, विपन्नलगायतका बालबालिकालाई शैक्षिक सामग्रीसमेत वितरण गर्दै आएकी छिन् ।
नैतिक तथा व्यवहारिक शिक्षालाई प्राथमिकता दिएर गुणस्तर शिक्षा प्रदान गर्ने थालिएको र यसलाई मूर्तरुप लिन आवश्यक रहेको उनी बताउँछिन् ।