युनेस्कोद्धारा जिविकोपार्जन परियोजना बारे मधुवनका जनप्रतिनिधिसंग अन्तरक्रिया

  ।   २०७८ बैशाख २, बिहीबार २२:०८

समाचारदाता
नेपालगन्ज । बाँके युनेस्को क्लबले प्लान नेपालको सहयोगमा बर्दियाको मधुवन नगरपालिकामा सञ्चालन गरेको जिविकोपार्जन परियोजनाबारे विस्तृत छलफलका लागि नगरपालिकाका जनप्रतिनिधिहरुसंग विहिबार एकदिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरयो ।

मधुवन नगरपालिकामा आयोजना गरिएको सो अभिमुखिकरणमा नगरपालिकाका मेयर, उप मयेर, प्रशासकिय प्रमुख, वडा अध्यक्षहरु, पशु शाखाका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा अधिकांश वडा अध्यक्ष र अन्य जनप्रतिनिधीहरुले वडा नम्बर १ र २ मा मात्रै किन कार्यक्रम सञ्चालन गरिएको तथा अन्य वडालाई किन न समेटिएको भनि जिज्ञासा राखेका थिए ।

सो अवसरमा बोल्दै मधुवन नगरपालिकाका मेयर गणेश बहादुर क्षेत्रीले वडा नम्बर १ र २ का अतिविपन्न तथा कोरोनाको उच्च जोखिममा रहेका ७० परिवारको आर्थिक अवस्था बलियो बनाउन बाख्रापालन कार्यक्रम गर्न लागेकोमा खुशी जनाउँदै अरु वडामा पनि सहयोग गर्न सकेको भए अझै राम्रो हुने बताउनु भयो ।

उहाँले प्लान नेपाललाई प्रयोजित परिवारको संख्या बढाउन माग गर्दै सबै वडालाई छुने गरि कार्यक्रम गर्न आग्रह गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत शाहले सहयोग मात्र गरेर नपुग्ने जनाउँदै कार्यक्रमको सफलताको लागि निरन्तर अनुगमनमा जोड दिनुभयो ।

यस्तै नगरपालिकाका पशु सेवा शाखाका अधिकृत गणेश बहादुर बोहोराले पशु शाखासंग समन्वय र सहकार्य गरेर कार्यक्रम गर्न आग्रह गर्नुभयो ।

वडा नम्बर ४ का वडा अध्यक्ष विन्तीराम थारुले दुई वटा वडामा मात्र कार्यक्रम गर्दा अन्य वडाका जनप्रतिनिधिलाई जनतालाई जवाफ दिन समस्या भएको बताउनुभयो ।

जिज्ञासाहरुको जवाफ दिंदै बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले प्लानद्धारा छनोट गरिएका प्रयोजित परिवारलाई मात्रै यो सहयोग दिने परियोजनाको बाध्यता रहेकोले यस पटक केही गर्न नसकेपनि प्रायोजित परिवार हरेक वडामा बढाउन संस्थाले सिफारिस गर्ने बताउनुभयो ।
परियोजनाका बारेमा कार्यक्रम संयोजक गोविन्द लामिछानेले विस्तृत रुपमा जानकारी गराउनु भएको थियो ।

सो अवसरमा नगरपालिकाका उप मेयर सुवरानी थारु, वडा नम्बर १ देखि ९ नम्बर सम्मका वडा अध्यक्षहरु लगायत पशु शाखा, स्वास्थ्य शाखा र लेखा शाखाका कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।

जिविकोपार्जन परियोजना अन्तर्गत ठाकुरबाबा नगरपालिकाका वडा नम्बर ३, ४ र ५ तथा मधुवन नगरपालिकाका वडा नम्बर १ र २ का गरेर १५५ परिवारलाई आर्थिक समृद्धिका लागि बाख्रा वितरण गरिने बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

Next Post

बाँकेमा फेरी १ जना कोरोना संक्रमितको मृत्यु

२०७८ बैशाख २, बिहीबार २२:०८
संवाददाता नेपालगंज । उपचारका लागी बाहिरी जिल्लाबाट बाँकेमा आई मृत्यु हुने कोरोना संक्रमितको संख्या ९३ जना पुगेको छ । आज मात्रै पनि भेरी अस्पताल नेपालगंजमा सुर्खेत गुर्भाकोट १३ का ३१ वर्षिय पुरुषको मृत्यु भएको हो । उहाँको पिसिआर जाँच २०७७ चैत्र ३१  गते नेपालगज मेडिकल कलेजमा गर्दा पोजिटिभ आई भेरी […]