मास्क नलगाउनेलाई कारबाही हुने, भीडभाड गरेर होली खेल्न नपाइने

  ।   २०७७ चैत्र १२, बिहीबार ०७:०५

काठमाण्डाै | कोरोनाको जोखिम बढेपछि सरकारले स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह गरेको छ । काठमाण्डौ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले मेला, महोत्सव र भीडभाड नगर्न तथा मास्क अनिवार्य लगाउन आग्रह गरेका छन् ।

काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकालेर सार्वजनिक स्थलमा हिँडडुल गर्दा मास्क नलगाउने र स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारबाही हुने चेतावनी दिएका छन् । यस्तै होली पर्वलाई घरभित्रै सीमित गर्न आग्रह गरिएको छ ।

भीडभाड हुने गरी कुनै किसिमको मेला, जात्रा, सांस्कृतिक कार्यलगायतको काम अर्को सूचना नभएसम्म नगर्न, नगराउन पनि प्रशासन कार्यालयले अनुरोध गरेका छन् । ललितपुरमा रात्रिकालीन व्यवसायहरू राति ११ बजेपछि सञ्चालन गर्न रोक लगाउने निर्णय गरिएको छ ।

नेपालमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर आउने सम्भावना उच्च रहेको भन्दै सावधानी अपनाउन सरकारले सबैसँग आग्रह गरेको छ । भारतमा नयाँ भेरिएन्टसहित नयाँ लहर देखा पर्नु र नेपालमा पनि सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या बढ्दै जानुले नयाँ लहरको सम्भावना उच्च रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै स्वास्थ्य मन्त्रालयले कोरोना सङ्क्रमण फैलिने जोखिम रहेको भन्दै फागु पूर्णिमा अर्थात् होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । बुधवार नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका सह-प्रवक्ता डाक्टर समीरकुमार अधिकारीले सङ्क्रमणको अवस्था बढेमा लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै होली मनाउँदा भेला नभइ घरपरिवारमा सीमित गर्न आग्रह गर्नुभयो ।

उहाँले सङ्क्रमणको दर बढेको खण्डमा नीतिगत निर्णय गरेर सङ्क्रमणको चक्रलाई रोक्ने बताउनुभयो । ‘लकडाउन गर्नु सरकारको उद्देश्य, वाचा होइन, तर सङ्क्रमणको सङ्ख्या उच्च हुन गएमा सरकारले परिस्थितिअनुसार नीतिगत निर्णय गरेर सङ्क्रमणको चक्र रोक्नुपर्ने हुन्छ र सङ्क्रमणलाई भयावह रुपमा फैलिन नदिन हामी सबै सजग हुनुपर्छ’, उहाँले भन्नुभयो ।

‘भीडभाड बढी हुनु, मास्कको प्रयोग नगर्नु, एक अर्काबीचको दूरी कायम नगर्नु, जुलुस, सभाजस्ता गतिविधि गरेकाले अहिले सङ्क्रमणको दर बिस्तारै बढ्दै गएको छ’, उहाँले भन्नुभयो । कोभिड-१९ सङ्क्रमितको सङ्ख्या कमी आएको तर सङ्क्रमण जोखिम कम नभएको उहाँको भनाइ छ ।

यस्तै गृह मन्त्रालयले पनि सबै जिल्ला प्रकाशन कार्यालयलाई जमघट रोक्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर भीडभाड नगर्न आग्रह गरेपछि त्यहीअनुसार भीडभाड हुने र धेरै मानिस जमघट हुने कार्यक्रम बन्द गराउन भनेको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताउनुभयो । समूहमा होली पर्व मनाउने, अरू भेला गरेमा प्रहरीले कारबाही गर्ने पनि उहाँले बताउनुभयो ।

१४५ सङ्क्रमित थपिए

नेपालमा कोरोना भाइरसका १४५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १४५ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७६ हजार ३८९ पुगेको मन्त्रालयले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा ६३ जनामा कोरोनाको भाइरस थप भएको छ । भक्तपुरमा दुई, ललितपुरमा आठ र काठमाण्डौ जिल्लामा ५३ जना सङ्क्रमित भएका छन् । यस्तै, ९० जना सङ्क्रमित निको भएका छन् । अहिलेसम्म दुई लाख ७२ हजार १८७ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार अहिले एक हजार १८२ जनामा कोरोनाको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले अहिले ६३ जना क्वरेण्टीनमा रहेको जनाएको छ । अहिले निको हुने दर ९८ दशमलव ६ प्रतिशत छ । पछिल्लो चौबीस घण्टामा एक जनाको ज्यान गएको छ । अहिलेसम्म तीन हजार २० जनाको कोरोनाबाट ज्यान गएको छ ।

Next Post

सात वर्षीया बालिकालाई बुबाको अंगालोमा जान खोज्दै गर्दा गोली हानि मारियो

२०७७ चैत्र १२, बिहीबार ०७:०५
बीबीसी । म्यानमारमा सेनाले एक सात वर्षीया बालिकालाई उनको घरमै गोली प्रहार गरि मारेको घटनाले यतिबेला पूरै विश्वलाई स्तब्ध बनाएको छ । किन म्यो छित नामक ती बालिकाको परिवारले बीबीसीसँग बताए अनुसार उनी आफ्ना बुवाको अंगालोमा जान खोज्दा दौडिने क्रममा उनलाई गोली प्रहार गरिएको थियो । मेन्डेले सहरस्थित उनीहरुको घरमा […]

सम्बन्धित शीर्षक