सात वर्षीया बालिकालाई बुबाको अंगालोमा जान खोज्दै गर्दा गोली हानि मारियो

  ।   २०७७ चैत्र १२, बिहीबार ०७:३४

बीबीसी । म्यानमारमा सेनाले एक सात वर्षीया बालिकालाई उनको घरमै गोली प्रहार गरि मारेको घटनाले यतिबेला पूरै विश्वलाई स्तब्ध बनाएको छ । किन म्यो छित नामक ती बालिकाको परिवारले बीबीसीसँग बताए अनुसार उनी आफ्ना बुवाको अंगालोमा जान खोज्दा दौडिने क्रममा उनलाई गोली प्रहार गरिएको थियो । मेन्डेले सहरस्थित उनीहरुको घरमा सेनाले छापा मारिरहेका बेलामा यस्तो भएको बताइएको छ ।

फेब्रुअरी १ देखि जारी सेनाको कू विरुद्ध आन्दोलनरत् नागरिकहरुमाथि पछिल्लो समय सेनाले अत्याधिक बल र हिंसा प्रयोग गर्दै आइरहेको छ । यसरी सुरक्षाकर्मीकै गोली लागेर र कुटपिटबाट मृत्यु हुनेको सङ्ख्या २६१ भन्दा धेरै पुगिसकेको अभियन्ता समुहले जानकारी दिएको छ । ती मध्ये २० जना त बालबालिकाहरु रहेको अधिकारवादी समूहले जनाएको छ ।

मंगलबार भने सेनाले मृत्यु भएका प्रदर्शनकारीहरुप्रति दुःख व्यक्त गरेको छ तर साथसाथै अराजक व्यवहार र देशमा हिंसा भड्काएको भनेर उनीहरुमाथि नै आरोप पनि लगाएको हो ।

किन म्यो छितकी दिदीका अनुसार मंगलबार सेनाले उनीहरुको छिमेकका सबैको घरमा खोजत लास गरिरहेको थियो र उनीहरुको घरमा पनि हतियार लिएर छापा मार्न आएका थिए । २५ वर्षीया मे थु सुमाया भन्छिन्, “उनीहरुले लात्तीले हानेर ढोका खोले । अनि बुवालाई घरमा परिवार बाहेक अरु कोही छ कि छैन भनेर सोधे ।”

यसपछि उनीहरुले घरमा अरु कोही छैन भन्दैगर्दा अचानक झुटो बोलेको आरोप लगाउँदै सेनाले आक्रामक रुपमा घरभरि तलासी गरेको उनले बताइन् । त्यही समयमा सानी किन म्यो छित बुवाको काखमा जान दौडदै गर्दा उनीमाथि गोली चलाइएको सुमायाले भावुक हुँदै बताइन् ।

त्यस्तै समुदायसँग दिएको अर्को अन्तर्वार्तामा चाहिँ म्यो छितका पिताले आफ्नी छोरीको अन्तिम शब्द “बुवा म सक्दिनँ । एकदम धेरै दुख्यो” भनेको बताएका थिए जसले उपस्थित सबैलाई मार्मिक बनाएको थियो । तिनका अनुसार गोली लाग्नासाथ उनलाई कारमा हालेर अस्पताल लगिँदै थियो तर आधा घण्टाभित्रै उनको मृत्यु भयो । त्यस्तै प्रहरीले उनका १९ वर्षीय छोरालाई पनि कुटपिट गरि पक्राउ गरेको बताइएको छ ।

सेनाले यो विषयमा कुनै बयान दिएको छैन ।

यसरी बच्चाहरु आफ्नो घरैमा बस्दा पनि दिनदिनै निर्मम तरिकाले मारिनु वास्तवमै भयानक भएको सेभ द चिल्डरेन समुहले अक्रोशित हुँदै बताएको छ ।

Next Post

आगलागीका घटना भए, कसरी नियन्त्रण गर्ने बारेमा पूर्व अभ्यास

२०७७ चैत्र १२, बिहीबार ०७:३४
    संवाददाता, गुलरिया। आगलागीका घटना भई हाले कसरी नियन्त्रण गर्ने भन्ने बारेमा शसस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हे.क्वा. बर्दियाले पूर्व अभ्यास (तयारी) गरेको छ । आज बिहान गुलरिया ८, सुरजपुरको कार्यालय नजिक शसस्त्रले पूर्व अभ्यास गरेका शसस्त्र प्रहरी उपरिक्षक (एसपी) नर बहादुर रावतले जानकारी दिनुभयो । अभ्यासका […]