सत्कर्मले बनायो आइकन

सेवाको पहिलो पोस्टिङकै कर्म प्रेरणादायी बन्यो

  ।   २०७७ माघ १४, बुधबार ०८:३०

इन्टेग्रीटी आइकन २०२० विजेता आरती थारु र उहाँको सम्मान पत्र । फोटो सौजन्य : एकाउन्ट्याविलिटी ल्याब नेपाल

संवाददाता, नेपालगन्ज  ।
‘कर्म गर तर फलको आशा नगर’, धार्मिक ग्रन्थ गीतामा भनिएको यही भनाइलाई आत्मसात गर्ने स्वास्थ्यकर्मी आरती थारुले जीवनमै नचिताएको सफलता हात पार्नुभयो, इन्टेग्रीटी आइकन नेपाल २०२० को विजेता बनेर ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको नेपालगन्ज स्वास्थ्य चौकीकी इन्चार्ज जनस्वास्थ्य निरीक्षक थारुले एकाउन्ट्याविलिटी ल्याब नेपालको इन्टेग्रीटी आइकन सातौं संस्करणमा देशभरीबाट प्रतिष्पर्र्धामा रहेका एक हजार पाँच सय दुई जना सरकारी कर्मचारीमध्ये आफूलाई अब्बल साबित गर्नुभयो, केवल आफ्नो जिम्मेवारीलाई इमान्दारितापूर्वक वहन गरेर मात्र ।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा इन्टेग्रीटी आइकनको यो वर्ष उत्कृष्ट ५ मा छनोट भएका सबैलाई विभिन्न टाइटलमा सम्मान गरिएको थियो । आरती इन्टेग्रीटी वीथ करेजबाट सम्मानित हुनुभयो ।

इन्टेग्रीटी आइकनको टप १५ मा छनोट भएपछि मात्र एक्कासी चर्चामा आउनुभएको आरती विजेता घोषणा हुँदा खुसी त हुनुभएको तर धेरै उत्साही हुनुहुन्न ।

‘इन्टेग्रीटी आइकन हुन्छु भनेर मैले काम गरेको होइन । हुनुपर्छ भनेर कहिल्यै सोचेकी पनि थिइन । मैले त जिम्मेवारी वहन गरेको हो । निस्वार्थ रुपमा काम गरेकोे हो’, उहाँ भन्नुहुन्छ, ‘इन्टेग्रीटी आइकनलाई गौरवपूर्ण मानिन्छ । यसको एउटा पार्ट बन्न पाउँदा एकदम खुसी भइहाल्छ । विजेता बनेपछि चिनेका र नचिनेका सबैबाट एकदमै हौसला प्रदान गरिरहनु भएको छ ।’

आरतीलाई आफूले स्वास्थ्य क्षेत्रमा कुनै चमत्कार नै गरेकोे छु जस्तो लागेको छैन । न त उहाँले गरेका कामले नै त्यस्तो देखाउँछ । उहाँ निर्धक्क रुपमा आफूलाई राज्यले दिएको जिम्मेवारी मात्र बहन गरेको बताउँनुहुन्छ । ‘आफ्नो काम कर्तव्यमा निर्वाह गर्न सधैं सक्दो प्रयास गर्नुपर्नुपर्छ । सधैं गर्छु’, उहाँ प्रतिबद्धता जनाउँनुहुन्छ् ।

८ वर्षको सरकारी सेवाका क्रममा आरतीले ३ वटा स्वास्थ्य चौकीमा इन्चार्ज बनेर काम गर्नुभयो । इन्टेग्रीटी आइकन बन्नका लागि उहाँलाई सेवाको पहिलो पोस्टिङकै कर्म प्रेरणादायी बन्यो ।

तराईमा जन्मे हुर्कनुभएको उहाँ प्युठान जस्तो विकट जिल्लामा पुग्नुभयो । त्यहाँ कार्यरत हुँदा उहाँले सुत्केरी महिलाका लागि गरेको काम उल्लेखनीय छ ।

‘सुत्केरी सेवा सबैको पहुँचमा पु¥याउन बर्थिङ सेन्टर सबैको पायक पर्ने ठाउँमा राख्न अग्रणी भुमिका निर्वाह गर्नुभयो’, एकाउन्ट्याविलिटी ल्याब नेपालको इन्टेग्रीटी आइकन उत्कृष्ट ५ छनोट गर्दा भनेको छ, ‘नेपालगन्जमा रहँदा कोभिड–१९ महामारीको समयमा उहाँले क्वारेन्टाईनमा काम गर्दा देखाएको सहास, आइसोलेशन र होम आइसोलेशनमा बस्ने संक्रमितलाई गरेको सेवाको सबैले प्रसंशा गरेका छन् ।’

२०७० सालमा प्युठानको स्वर्गद्वारी स्वास्थ्य चौकीमा काम गर्दा स्वास्थ्य संंस्थामा सुत्केरी सेवा लिन आउने वातावरण बनाउनुभयो । त्यत्ति बेला घरमै सुत्केरी गराउने धेरै हुन्थे ।

उहाँले खोप सेवालाई गाउँ–गाउँमा विस्तार गर्न मद्दत गर्नुभयो । उहाँकै कार्यकालमा २०७१ सालमा प्युठानको तत्कालीन खाल गाविसलाई पूर्ण खोप घोषणा भएको थियो ।

उहाँको कामको उच्च मूल्याङ्कन गदै जिल्ला जनस्वास्थ्य कार्यालय प्युठानले उहाँलाई उत्कृष्ट कर्मचारी सम्मान गरेको थियो । त्यहाँबाट उहाँ सरुवा भएर बाँकेको जानकी गाउँपालिकाको गनापुर स्वास्थ्य चौकी इन्चार्ज बन्नुभयो ।

८ फागुन २०७४ मा उहाँले जानकी गाउँपालिकालाई पनि पूर्ण खोप घोषणा गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । आरती अहिले नेपालगन्ज स्वास्थ्य चौकी इन्चार्ज हुनुहुन्छ ।

कोरोना रेडजोनको रुपमा परिचित नेपालगन्जमा क्वारेन्टाइन र आइसोलेसन सेन्टरमा पनि उहाँले आफूलाई आएको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुभयो ।

गैसस महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहले कोरोना संक्रमण हुँदा होम आइसोलेसनमा बस्दा आरतीले स्वास्थ्यकर्मी बनेर गरेको सेवाबारे भन्नुभएको छ, ‘प्रायः स्वास्थ्यकर्मीले संक्रमितलाई आफ्नो नियमित अपडेट एसएमएस मार्फत गर्नुभन्थे ।

तर उहाँले बिरामीलाई आफैले सम्पर्क गर्ने, घरमा हेर्न जाने र अवस्था बुझ्ने गर्नुहुन्थ्यो । म आफै संक्रमित हुँदा पनि मैले त्यही अनुभव गरे ।

उहाँजस्तै त्यस्तै अनुभव अरु संक्रमितले पनि बाँडेका छन् । आरतीले गरेको सत्कर्म र त्यसबाट पाएको सफलता हरेक राष्ट्रसेवकका लागि पक्कै पनि प्रेरणा बन्नसक्छ ।

#प्रेरणा    #आरती  #इन्टेग्रीटी

गुडन्युज साप्ताहिक पत्रिकाबाट

Next Post

अबको प्रधानमन्त्री देउवा कि भट्टराई ?

२०७७ माघ १४, बुधबार ०८:३०
संवाददाता  । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि तरंगित र संवेदनशील बन्दै गइरहेको नेपाली राजनीतिमा अहिले आआफ्नै दाउपेच शुरु भएको छ । कसैले नयाँ जनादेशका लागि चुनावको वकालत गर्दै हिडेका छन् भने कसैले प्रतिनिधिसभा पुर्नस्थापनामा नै जोड दिएका छन् । प्रतिनिधिसभा पुर्नस्थापना होस् वा नयाँ […]