संवाददाता, नेपालगन्ज ।
‘तराईका अधिकांश भू–भागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ’, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको २८ मंसिर बिहान ८ः४५ बजेको तराईको हुस्सु-शितलहर बुलेटिनमा भनिएको थियो, ‘पश्चिम तराईका धेरै स्थानहरुमा बिहानको समयमा बाक्लो हुस्सु÷कुहिरो लागेको भए पनि केही स्थानहरुमा अपरान्हसम्ममा सुधार हुनेछ ।’
यो अनुमान जस्तै नेपालगन्जमा आइतबार दिनभर पारिलो घाम लाग्यो तर बिहान जाडो भने बढेको छ । बुलेटिनमा कुहिरो लागेको स्थानहरुमा राम्रोसँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउनु हुनका साथै यात्रामा पर्नसक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
विभागको नेपालगन्जको राँझास्थित हावापानी फिल्ड कार्यालयका प्रमुख पलबहादुर बिकका अनुसार यो वर्ष नोभेम्बर महिनादेखि चिसो बढ्न थालेको हो । अर्थात मंसिरको थालनीसँगै नेपालगन्जमा ह्वात्तै चिसो बढेको हो ।
१८ नेभेम्बर (३ मंसिर) मा नेपालगन्जमा बिहान ११ बजेसम्म बाक्लो हुस्सु कुहिरो लागेको थियो । बिहान मौसम सफा भएर ८ बजेसम्म विमानहरुले उडान भरे पनि एक्कासी मौसम परिवर्तन भएर नगर कुहिरोले ढाकेको थियो ।
यद्यपी दिउँसो भने मौसम सफा नै भयो । यो वर्ष गत ७ मंसिर (२२ नोभेम्बर २०२०) मा नेपालगन्जमा यो वर्षकै सबैभन्दा कम तापक्रम ८.६ डिग्री सेल्सियस मापन गरियो । गत वर्षको ७ डिसेम्बरमा ३.५ डिग्री सेल्सियसमा तापक्रम झरेको थियो ।
‘अघिल्ला वर्षहरुमा त यति बाक्लो हुस्सु कुहिरो लाग्थ्यो कि विमान नै उडाउन मिल्दैनथ्यो’, प्रमुख विक स्मरण गर्नुहुन्छ, ‘यो वर्ष बिहान बाक्लो हुस्सु कुहिरो लागे पनि विमान सेवा नै ठप्प भइसकेको छैन । कम्तीमा एक डेढ घण्टा हुस्सुकै कारण विमान डिले भएको छ । ठप्प नै भइसकेको छैन ।’
गत वर्षसँग तुलना गर्दा भने नेपालगन्जमा यो वर्ष जाडो बढेको छ । ‘गत वर्ष त जाडो नै भएन’, नेपालगन्जको न्यूरोडमा कपडाको पसल सञ्चालन गर्नुभएका घनश्याम बेल्वासे जाडोको कपडाको बिक्री निकै कम भएको सम्झना ताजै भएको बताउँनुहुन्छ ।
यसपटक भने जाडो बढ्ने संकेत देखाएको उहाँले अनुभव गर्नुभएको छ् । भन्नुहुन्छ, ‘जाडो नबढ्दा कपडा बिक्री हुँदैन । अर्को वर्ष फेसन गइसकेको हुन्छ । हामी साना व्यापारीलाई घाटा मात्र हुन्छ ।’
मौसमविद्हरु पनि क्रमश : जाडो बढ्दै गएको बताउँछन् । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा काठमाडौंमा कार्यरत बरिष्ठ मौसमविद् निराजन सापकोटा डिसेम्बर महिना लागेसँगै जाडो बढ्न सुरु भएको बताउँनुहुन्छ ।
‘बिहान–साँझ चिसो नै छ । दिउँसो घाम लागेर तातोपनको महसुस भएको मात्रै हो । जाडो महसुस हुँदैन । क्रमिक रुपमा जाडो बढ्दै गएको छ ।’
जाडो बढ्दै गएपछि सहरी क्षेत्रमा भने स्थानीय तहहरुले पनि दाउरा बाँड्ने गरेको छ ।
गुड न्यूज साप्ताहिक पत्रिकाबाट
#मौसमका #जाडो #हुस्सु #कुहिरोको #सास्ती