काठमाडौं । सरकारले हाल जारी लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे छलफल चलाएको छ ।
सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि योजना पेश गर्न सिसिएमसीलाई निर्देशन दिएको हो ।
कोरोना संक्रमण व्यापक रुपमा फैलिएको भन्दै मन्त्रीहरुले फेरि लकडाउन गर्नुपर्ने राय राखेपछि प्रधानमन्त्री केपी ओलीले रोकथामका लागि उपाय पेश गर्न निर्देशन दिनुभएको एक मन्त्रीले जानकारी दिनुभयो ।
सीसीएमसीका संयोजक एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई सुझाव पेश गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको हो ।
बैठकले युवा तथा साना व्यवसाय स्वरोजगार कोषको उपाध्यक्षमा डा। कल्याण रोका र प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ ।
काउन्सिलको नियमावली संशोधन गरेर केही दिनअघि मात्र नियुक्त भएकी भण्डारीलाई जिम्मेवारी दिइएको हो ।
बैठकले परराष्ट्र मन्त्रालयका सहसचिवहरू तापस अधिकारी, गेहेन्द्र राजभण्डारी र रामकाजी खड्कालाई राजदूतमा सिफारिश गरेको मन्त्री ती मन्त्रीले जानकारी दिनुभएको छ । ईमेजखबर