संवाददाता, नेपालगंज ।
बाँकेमा कोभिड–१९ को संक्रमण फैलिने क्रम रोकिएको छैन । विगत २४ घन्टामा भेरी अस्पताल नेपालगंजकोे प्रयोगशालामा ८१ वटा नमुनामा आरटीपीसीआर गरिएकोमा ७५ जनामा कोरोना संक्रमण भेटिएको छ ।
जसअनुसार कोरोनाको संक्रमणदर ९२.६ प्रतिशत पुगेको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।
यी नमुनाहरू स्वास प्रश्वास सम्बन्धि समस्या, ज्वरो वा अन्य लक्षण सहित अस्पतालमा आएका व्यक्तिहरूबाट चिकित्सक वा स्वास्थ्यकर्मीको सिफारिसमा गरिएकोले संक्रमणदर यति उच्च हुन आएको अस्पतालको भनाई छ ।
अस्पतालले समुदायमा संक्रमणको अवस्था कस्तो छ भनेर पहिचान गर्न समुदायस्तरबाटै नमुना संकलन गरि परिक्षण गर्नु आबश्यक रहेको जनाएको छ ।
यसको निम्ति नेपाल सरकारबाट पर्याप्त रियाजेन्ट-अन्य आबश्यक सामाग्री प्राप्त हुने र स्थानिय निकायहरूबाट नमुना संकलन गरि पठाइदिए परिक्षणको दायरा थप बढाउन भेरी अस्पताल तयार रहेको छ, भनिएको छ ।
कोभिड महामारी सुरु भएपछि यस भेरी अस्पतालमा स्थापना गरिएको कोरोना बिशेष आइसोलेसन वार्डको १०२ बेड, शंकास्पद बिरामीलाई राख्ने ४० शैयाको प्रिआइसोलेसन वार्ड (जम्मा क्षमता १४२ बेड) करीब करीब भरिइसकेको छ ।
१५ शैयाको कोभिड आइसियू पनि भरीएको छ । संक्रमण फैलिने क्रम नरोक्ने हो भने अस्पतालहरूले थेग्न नसक्ने गरि बिरामीको चाप बढ्दा समग्र स्वास्थ्य प्रणाली नै फेल हुन सक्ने जोखिम रहेको छ ।
अतः भिडभाड नगरिदिनुहुन, अत्याबश्यक काम नपरेसम्म घरबाट ननिस्कनुहुन, मास्कको अनिवार्य प्रयोग गर्नुहुन, भौतिक दुरी कामय गर्नुहुन तथा रुघा-खोकी, ज्वरोका लक्षण देखा परेमा स्वएकान्तबास सेल्फ आइसोलेशन गर्नुहुन अस्पतालले अनुरोध गरेको छ ।
स्वाब परिक्षणमा पोजिटिभ आएका व्यक्तिहरूले समेत घरमै पर्याप्त आराम गर्ने, थर्मोमिटरको प्रयोग गरि तापक्रमको अभिलेख राख्ने, सामान्य ज्वरो आएमा सिटामोल आवश्यकता अनुसार प्रयोग गर्ने, रगतमा अक्सिजनको मात्रा नाप्न पल्स अक्सिमिटरको व्यवस्था गरि समय–समयमा नाप्ने, स्वास प्रश्वासमा समस्या आएमा, ज्वरो नियन्त्रण नभएमा वा अक्सिजन स्याचुरेसन ९४ प्रतिशत भन्दा कम भएमा मात्र अस्पतालमा जान जारी सुचनामा भनिएको छ ।





