दाहालद्वारा कात्तिक २७ गते सचिवालय बैठक राख्न प्रस्ताव, ओलीको आनाकानी

  ।   २०७७ कार्तिक २६, बुधबार ०७:१६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको औपचारिक बैठक भोली (बिहीबार) कात्तिक २७ गते राख्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अनुरोध गर्नुभएको छ ।

मंगलबार बालुवाटार पुगेर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग उक्त मितिमा बैठक राख्न प्रस्ताव गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको हो ।

तर, प्रधानमन्त्री तथा अध्यक्ष ओली भने सचिवालय बैठक बोलाउने कुरामा सहमत भइनसकेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

पार्टी मुख्यालय धुम्बाराहीमा मंगलबार बसेको बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठकमा उक्त दिनसम्म कुर्ने निर्णय भएको छ ।

धुम्बाराही जानुअघि प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष दाहालले ओलीसँग भेटघाट गरी छिटोभन्दा छिटो बैठक डाक्न अनुरोध गरेको उहाँले धुम्बाराहीमा बहुमत सचिवालय सदस्यलाई जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री ओली बुधबार किमाथांका जाने भएकाले २७ गते बिहीबार सचिवालय बैठक बोलाउन अध्यक्ष दाहालले प्रस्ताव गर्नुभएको पार्टी प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि, कात्तिक २२ गतेपनि पार्टी अध्यक्ष दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले पार्टी मुख्यालय धुम्बाराहीमै अनौपचारिक छलफल गरी सचिवालय बैठक राख्न लिखितरूपमै अध्यक्ष ओलीसँग माग गर्नुभएको थियो ।

तर, ओली तयार नभएपछि कसरी अघि बढ्ने भन्नेबारे मंगलबार सामान्य छलफल भएको जनाइएको छ ।

Next Post

अबको केही दिन देशभरको मौसम सफा रहने

२०७७ कार्तिक २६, बुधबार ०७:१६
अबको केही दिन देशभरको मौसम सफा रहनेअहिले देशको पहाडी भेगमा सामान्य बादल लागेको छ । बादल हटेर दिउँसो घाम लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो देशका धेरैजसो ठाउँको मौसम सामान्यतया सफा नै रहनेछ । पानी पार्ने कुनै पनि मौसमी प्रणाली […]