नश्ल सुधार सगैं राँगो, बोका, साँडे पालनमा लाग्ने अतिरिक्त खर्च घटाउन अब कृत्रिम गर्भाधान

२५ रुपैयाँमा जमेको बीर्य, ३० रुपैयाँमा तरल नाईट्रोजन

  ।   २०७९ चैत्र २७, सोमबार १६:३५

प्रेम विश्वकर्मा, बाँके ।

राँगो, बोका, साँडे खोज्दै गाउँभरी चहार्नु पर्ने बाध्यतामा रहेका पशुपालक किसानका लागी खुसीको खबर छ । अब, कृत्रिम गर्भाधान सम्बन्धि दुई हप्ते तालिम लिएको दक्ष प्राविधिकलाई भेटे मात्रै पनि धेरै समस्याको हल हुन्छ ।

बाँके, बर्दिया सहित लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलाई लक्षित गरी राष्ट्रिय पशु प्रजनन् कार्यालय, गौघाट बाँकेले पर्याप्त मात्रामा कृत्रिम गर्भाधानका लागी जमेको बीर्य, तरल नाईट्रोजनको ब्यवस्था मिलाईरहेको छ ।

स्थानीय तह, नीजि क्षेत्रका पशु प्राविधिकले दैनिक जसो कृत्रिम गर्भाधानका लागी २५ रुपैयाँमा जमेको बीर्य, ३० रुपैयाँमा तरल नाईट्रोजन लिईरहेका छन ।

राष्ट्रिय पशु प्रजनन् कार्यालय, गौघाटमा बीर्य उत्पादनका लागी ८ वटा मुर्रा जातको राँगो, ११ वटा बोयर जातको बोका, ५ वटा जर्सी, होलस्टेन जातको साँडे राखिएको छ ।

यसका साथै प्राकृतिक गर्भाधान सम्बन्धि कार्य, स्थानीय जातको संरक्षणका लागी भने २ वटा स्थानीय जातका राँगो पनि राखिएको छ ।

राष्ट्रिय पशु प्रजनन कार्यालयका पशु विकास अधिकृत डाक्टर मिलन चौधरीले कृत्रिम गर्भाधान गर्दा वंशाणुगत उच्च प्रजनन्मान भएका पाडो–पाडी, पाठो–पाठी, बाच्छो–बाच्छी उत्पादन हुने बताउनुभयो ।

उहाँका अनुसार कृत्रिम गर्भाधानको प्रभावकारिता ४८ देखी ५० प्रतिशत हाराहारी रहेको छ । पशुको प्राकृतिक गर्भाधान समय चक्र, पशु पोषण तत्व, पशुको उमेर, प्राविधिक क्षमता जस्ता कुराले कृत्रिम गर्र्भाधानको प्रभावकारिता निर्धारण हुने गर्दछ ।

स्थानीय जातका कोरेली गाईमा ठुलो होलस्टेन जातको कृत्रिम गर्भाधान गर्दा केही जोखिम हुन सक्छ, यी र यस्ता केही महत्वपूर्ण कृत्रिम गर्भाधान सम्बन्धिका कार्यमा भने प्राविधिक र किसान दुबैले सावधानी अपनाउनुपर्दछ ।

राष्ट्रिय पशु प्रजनन् कार्यालय, गौघाट बाँकेले चालु आर्थिक बर्षको साउन देखी कृत्रिम गर्भाधानका लागी बीर्य उत्पादन गर्न शुरु गरेको हो ।

साउन देखी फागुन सम्म कार्यालयले मुर्रा राँगोको ३६ हजार ५५७ डोज जमेको बीर्य उत्पादन गरेको छ । बोयर जातको बोकाको ४ हजार ६४५ डोज जमेको बीर्य उत्पादन गरेको छ ।

गत आर्थिक बर्ष २०७८-०७९ मा भने पोखरा कार्यालयबाट ४७ हजार ३३७ डोज कृत्रिम गर्भाधानको बीर्य ल्याएर वितरण गरिएको छ ।

संघीय सरकार मातहत रहेको लहान, पोखरा पछिको यस कार्यालयले गत बर्ष ५५ हजार ५५७ लिटर तरल नाईट्रोजन स्थानीय तह, नीजि क्षेत्रका प्राविधिकलाई वितरण गरेको थियो ।

पशुमा कृत्रिम गर्भाधानले नश्ल सुधार सगैं किसानको राँगो, बोका, साँडे पालनमा लाग्ने अतिरिक्त खर्च घटाउन मद्दत पुग्ने पशु प्राविधिकको भनाई छ ।

यसैबीच, राष्ट्रिय पशु प्रजनन् कार्यालय, गौघाट बाँकेले पशुहरुमा यथोचित पौष्टिक आहारा पुरा हुने किसिमका हिउँदे घाँस, बर्षे घाँस, बहु बर्षे घाँस, डाले घाँसका बीउ विजन सहुलियत दरमै उपलब्ध गराईरहेको जनाएको छ ।

 

 

Next Post

राष्ट्र बैंकले सार्वजनिक गर्यो देशको आर्थिक स्थिति (पूर्णपाठ)

२०७९ चैत्र २७, सोमबार १६:३५
संवाददाता । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको आठ महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । बैंकले आज पत्रकार सम्मेलन आयोजना गर्दै गत साउनदेखि फागुन महिनासम्मको प्रतिवेदन सार्वजनिक गरेको हो । जसमा मुद्रास्फिति नियन्त्रित र घट्ने दिशामा रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । […]

सम्बन्धित समाचार