बर्दियामा पाटेबाघको आक्रमणबाट एक जनाको ज्यान गयो

  ।   २०७७ कार्तिक १६, आईतवार ०७:४६

बर्दिया । बर्दियामा पाटेबाघको आक्रमबाट ​एक जनाको ज्यान गएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रसँग सीमा जोडिएको गेरुवा गाउँपालिकामा शनिबार बेलुका पाटेबाघको आक्रमणबाट ६८ वर्षीय लहानु थारुको ज्यान गएको हो ।

घर नजिकै रहेको खोलामा गोरुलाई पानी खुवाउने क्रममा पाटेबाघले आक्रमण गर्दा थारुको घटनास्थलमै ज्यान गएको हो । बाघले थारुलाई आक्रमण गरी मारेर त्यहीँ छाडेको र एउटा गोरुलाई बोकेर जंगलतर्फ लगेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषसहितको क्यामरा ट्रयापिङ र बाघ नियन्त्रणमा लिने विषेशज्ञसहितको टोली खटिसकेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले बताउनुभयो । यस्तै इलाका प्रहरी कार्यालयबाट नेपाल प्रहरीको टोली पनि खटिएको छ ।

नेपाल भारत सीमा नजिकको मधुवन नगरपालिका ३ मा पर्ने पुरानो भन्सार कार्यालय धनौरा नजिक डिभिजन वन कार्यालय अन्तर्गतको बेलझुण्डी सामुदायिक वनमा पाँच दिनअघि गएको मंगलबार दिउँसो पाटे बाघको आक्रमणबाट दुई जनाको ज्यान गएको थियो ।

नेपाल भारत सीमा नजिक डिभिजन वन कार्यालय बर्दिया अन्तर्गत पर्ने मधुवन नगरपालिका क्षेत्रमा स्थानीयलाई आक्रमण गर्ने बाघ हुनसक्ने निकुञ्जले अनुमान गरेको छ । दुई हप्ताअघि पाटे बाघको आक्रमणमा परि सामुदायिक वनमा डालेघाँस काट्न गएकी मधुवन ३ की एक महिलाको ज्यान गएको थियो ।

यस्तै एक महिनाअघि माछा मार्न गएका मधुवन नगरपालिकाकै एक किशोरको पनि बाघको आक्रमणमा परि ज्यान गएको थियो । मान्छे मार्ने बाघ तत्काल नियन्त्रणमा लिन वा मार्न स्थानीयले माग गरेपछि बर्दिया निकुञ्ज र डिभिजन वन कार्यालयको टोली बाघ पहिचान र नियन्त्रण गर्न खटिएको छ ।

नियन्त्रका लागि खटिएकै बेला निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघले फेरि एक जनाको ज्यान लिएपछि स्थानीयवासी त्रसित बनेका छन् । एक महिनाभित्र बर्दियामा पाटे बाघको आक्रमणबाट ५ जनाको ज्यान गएको छ भने साढे एक वर्षको अवधिमा बर्दिया निकुञ्ज, मध्यवर्ती क्षेत्र र डिभिजन बन क्षेत्रमा पाटेबाघको आक्रमणबाट १० जनाको ज्यान गएको छ । उज्यालो अनलाइन

Next Post

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम आंशिकदेखि सामान्य बद्ली हुने

२०७७ कार्तिक १६, आईतवार ०७:४६
काठमाण्डौ । आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन् । स्थानीय वायुको प्रभावले आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बद्ली हुने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मन्जु वासीले जानकारी दिनुभयो । उहाँका अनुसार अरु प्रदेशको मौसम भने सामान्यतया सफा रहनेछ । […]