संघीय सांसदहरुका लागि सुधारिएको ब्याज तयार भएको छ ।
संसद सचिवालयले गत साउन अन्तिमतिर लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नयाँ नक्सा समेटिएको ब्याज तयार पारेको भए पनि त्यो विवादमा आएपछि पुन त्यसलाइ सुधारिएको हो ।
त्यसबेला बनाइएको व्याज कलात्मक हिसावले निकै कमजोर र गुणस्तरको हिसावले पनि निकै कमसल भएपछि चौतर्फी आलोचना भएको थियो ।
साउनमा बनाईएको लोगो भद्दा भएपछि अधिकांश सांसदहरुले लगाउन अस्विकार समेत गरेका थिए । सामाजिक सञ्जालमा पनि उक्त ब्याजलाई लिएर निकै आलोचना भएको थियो ।
लोगोको आलोचना भएपछि संसद सचिवालयले २ भदौमा बनाउने जिम्मा लिएको घरेलु तथा साना उद्योग कार्यालय ललितपुरलाई नै फिर्ता गरेको थियो ।
अहिले पुन घरेलु उद्योगले नै उक्त ब्याज तयार पारेको हो । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे भन्नुहुन्छ ‘सुधारिएको ब्याज आएको छ । केही माननीयहरुले लगाई पनि सक्नुभयो । अब माननीयहरुले संसद सचिवालयबाट ब्याज लैजान सक्नुहुन्छ ।’
नयाँ पत्रिकाबाट




