काठमाण्डौ । पछिल्लो एकसाताको निरन्तरको भारी वर्षा (भदौरे झरी)का कारण देशभर १५ जनाले ज्यान गुमाएका छन् ।
भदौ १० पछिको बाढीपहिरामा परेर उनीहरुको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले बताउनुभयो । सो अवधिमा तीन जना बेपत्ता तथा १४ जना घाइते भएको प्राधिकरणको तथ्यांक छ ।
भौतिक क्षतिको विवरण संकलनको क्रम भने जारी रहेको बताउँदै प्राधिकरणले अवरुद्ध कतिपय राजमार्ग खुलाउने प्रयास भइरहेको जनाएको छ । प्राधिकरणले दिएको जानकारीअनुसार गएको जेठ ३१ पछि अहिलेसम्म मनसुनजन्य घटनामा परेर एक सय जनाले ज्यान गुमाएका छन् ।
उक्त अवधिमा ४४ व्यक्ति बेपत्ता भएका छन् भने १०९ जना घाइते भएका छन् । मनसुनजन्य विपद्मा परेर ३७ सरकारी कार्यालय, १६ सामुदायिक भवन र विद्यालय, २५ जलविद्युत् आयोजना, ३० मोटरेवल पुल र ३० झोलुंगे पुलमा क्षति पुगेको छ । उक्त अवधिमा छ हजार १८१ जनालाई स्थानान्तरण गरेर सुरक्षित स्थानमा सारिएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।
पछिल्लो चार दिनमा मात्रै झण्डै एक हजार व्यक्तिलाई स्थानान्तरण गरिएको छ । मन्त्रालयका अनुसार बेपत्ताको खोजी, आवश्यक राहत तथा उद्धार कार्यलाई प्रभावकारीरुपमा अघि बढाइएको छ । यस्तै पुनःस्थापन र पुनःनिर्माणका कार्यक्रमसमेत सँगसँगै लगिएको जनाइएको छ ।