कोभिड–१९ र मेरो अनुभव

  ।   २०७७ भाद्र १, सोमबार ०८:५९

चीनको वुहानबाट फैलिएको कोभिड–१९ अहिले विश्वका २१५ वटा देशमा पुगेको छ । अंग्रेजी पात्रो अनुसार २०१९ को डिसेम्बर अन्तिम बाट फैलन थालेको कोभिडले २ करोड १६ लाख बढी मानिसलाई सक्रमित बनाई सकेको छ ।

यसैगरी साढे ७ लाख ६९ हजार बढी मानिसले ज्यान गुमाएका छन ।

यसैगरी १ करोड ४३ लाख बढी संक्रमित मानिस निको भएका छन । कोभिडको असर नेपालमा पनि परेको छ । यो लेख लेखिरहँदा सम्म २६ हजार बढी मानिस संक्रमित भइसकेका छन । १ सय २ जना मानिसले ज्यान गुमाएका छन ।

यसैगरी निको हुने क्रम पनि बढ्दै छ, जस अनुसार १७ हजार २ सय बढी मानिस निको भएर फर्किएका छन । संक्रमण पछि एक पटक निको भई फेरी कोरोना पोजेटिभ भयो भनेर कतै सुनीएको त छैन । तर विश्वव्यापी रूपमा फैलिएको यो माहामारीले नेपालमा पनि सबै वर्ग, क्षेत्रका मानिसहरुलाई छोएको छ ।

यो संक्रमित भएका व्यक्तिहरुको संख्या दिनहुँ जसो बढ्ने क्रममै छ । कन्ट्याक ट्रेसिङग जाँचको कार्य त जारी छ तर पनि ल्यावबाट जाँच भई अन्तिम पोजेटिभ वा नेगेटिभ रिपोर्ट भन्ने जानकारी आउन समय लाग्ने गरेको छ । यो ढिलासुस्ती सरकारी क्षेत्रबाट संञ्चालीत ल्यावबाटै हुने गरेको छ ।

सिमित संख्यामा मात्रै चेकजाँचको अनुमति पाएका निजी क्षेत्रका ल्यावले कोरोना जाँचको रिपोर्ट छिटो दिन्छन । तर त्यहाँ सेवा शुल्क एकदमै महँगो छ । र सबैको पहुँच सम्म पुग्न पनि सकेको छैन ।

अनुभव
म रहेको क्षेत्रमा पनि कोरोनाको संक्रमण दर बढ्दो क्रममै छ । स्वास्थ्य कार्यालय बाँकेको साउन ३२ गते बिहान सम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या ७ सय ६ जना पुगी सकेको छ । जसमध्ये ३ जनाको त मृत्यु नै भइसकेको छ ।

आइसोलेसनमा संक्रमितको संख्या २ सय ५९ जना रहेको छ । र निको हुनेहरुको संख्या ४ सय ४४ जना रहेको छ । यसैगरी यहाँ केही अन्य जिल्लाका संक्रमितहरु पनि ७ जना छन ।

उता बर्दियामा पनि संक्रमितको संख्याको बढेको बढै् छ । जहाँ करिब ३ सय जना मानिस कोरोना संक्रमित भइसकेका छन । यस्तो संकटका बेला पनि मेरो दैनिकी प्राय : भेटघाट, घुमफिर, अवलोकन, जाँच बुझ जस्ता कार्यमै बित्ने गर्दछ ।

त्यही क्रममा मेरो सम्पर्कमा आउनु भएका केहि व्यक्तिहरूमा कोरोनाको संक्रमण देखियो । र मैले नेपाली पात्रो अनुसार २०७७ असार पहिलो सातातिर आरटी पीसीआर जाँच गराए । जाँच गराएको ३ दिन पछि मात्र रिपोर्ट आयो । अनि मैले चौथो दिनमा पक्का कुरा नेगेटिभ रिपोर्ट आएको थाहा पाए ।

शंका लागेर पीसीआर जाँचका लागी स्याम्पल दिएको भएपनि मेरो दैनिकीमा खासै फरक भएको थिएन । रिपोर्ट नआउँदा सम्म मैले आफनो नियमित कार्यलाई निरन्तरता दिइ नै रहेको थिए । त्यति बेला मेरो घाँटी पछाडि गर्धन निकै दुख्ने गरेको थियो । नाकबाट हल्का पानी पनि आइरहन्थ्योे ।

बेस्सरी रुघा खोकी पनि लागेको थिएन । खुट्टाको तिग्रा दुख्ने समस्या पनि थियो । यो बीचमा मैले दुईवटा जति सिटामोल ट्याब्लेट, नियमित खाना संगै लसुन, प्याजको प्रयोग अलि बढी नै गरे । पछि रिपोर्ट नेगेटिभ आएपछि ढुक्क भएर कामतिर लागे । र केहि दिन पछि एउटा आयुर्वेद क्लीनिकमा गएर आफनो समस्या भने ।

त्यसपछि परिवर्तन मसाज नामक तेल लिएर हरेक दिन तिग्रामा लगाए । र त्यसले विस्तारै दुखाई कम हुदै गयो । पहिलो पटक मेरो पीसीआर जाँच गराउदै गर्दा इन्टरनेट, विभिन्न संचारमाध्यम लगायतबाट आएका जानकारी हेर्दा लाग्थ्यो की साँच्ची नै मलाई कोरोना लागी सक्यो होला । तर त्यो मेरो शंका, सोच गलत साबित रहेछ । र मेरो दैनिकी फेरी उस्तै गरी अघि बढ्न थाल्यो ।

छिमेकी भाइलाई कोरोना
म सँगै एउटै घरमा बस्ने भाईलाई २०७७ साउन तेस्रो सातामा कोरोना पोजेटिभ (संक्रमण) पुष्टि भयो । उहाँको पनि स्याम्पल दिएको ३ दिन पछि मात्र जाँच रिपोर्ट आएको थियो । जति बेला हामी सबै परिवार र सम्र्पकमा आउनुभएका सबै ब्यक्तिको मनमा अनेक थरी सोच र डर शंकाहरु धेरै आएका थिए । गाडी चालक रहनु भएका भाई रिपोर्ट नआउँदा सम्म एउटै कोठा भएपनि अलगै सुत्नु भयो ।

सर्जिकल माष्क लगाई रहनु भयो । उहाँले परिवारका सदस्य संँग दुरी कायम गरी बस्नु भयो । मेरो र उहाँको परिवारका लागी खानेपानी धारा, शौचालय, बाटो एउटै थियो । भाईले काम गर्ने ठाउँका नजिकका कर्मचारीलाई कोरोना संक्रमण भएकाले उहाँलाई पनि लाग्ने संम्भावना धेरै थियो । त्यस कारण हामी घरपरिवारका सबै सदस्य अलि चिन्तित थियौ । कि अब के गर्ने होला भनेर ।

हामी सबै जना घर भाडामा बस्नेभएकाले पनि समस्या हुन्छ की भन्ने एक किसिमको डर थियो । भाईको रिपोर्ट ३ औं दिनको अपराह्न्न तिर मात्र आइपुग्यो । जति बेला म अफिसमा काम गरिरहेको थिए । त्यतिकैमा एकिन जानकारी र अब के गर्ने भनेर टेलिफोनमै सल्लाह ग¥यौ ।

सोही अनुसार राता–रात एम्बुलेन्स मार्फत भाई आइसोलेसनमा जानु भयो । अनि हामी परिवारका सदस्यहरू भने अर्को दिन कन्ट्याक ट्रेसिङ्गको लागी गयौं । दिनभरीको चर्को घाममा बसेर साँझ तिर पालो आएपछि पीसीआर जाँचको लागी स्याम्पल दिइ घर फर्कयौ । त्यस दिन पीसीआर जाँचका लागी आउनेहरुको भीड थियो । त्यसैमाथी बाहिर लागेको चर्को घामले थप सास्ती दिइरहेको भएपनि हामीले धर्य गरी काम सम्पन्न ग¥यौं ।

त्यहाँ स्याम्पल कलेक्सन गर्नेहरुको भने त्यति राम्रो तालमेल मिलाईएको थिएन । त्यसैकारण पनि दिनभरी बस्नुपर्ने अवस्था सिर्जना भयो । जसोतसो गरी स्याम्पल दिएर सके पछि हामी पनि ३ दिन सम्म घरमै बसेर दिन बिताएयांै । कोहि कसैको सम्र्पकमा पनि गएनयौं । हामीले आफनो सरसफाई खानामा बढी ध्यान दिई नियमित ध्यान प्रार्थनामा लागी रहयौं ।

दुधमा बेसार हालेर खाने, अरु कालो चिया, तातो पानी खाने गरेका थियौं । त्यतिबेला सम्म केहि आफन्त बाहेक छरछिमेकी कसैलाई पनि हाम्रो घरमा बस्ने १ जना भाईलाई कोरोना लागेको छ भन्ने कुरा थाहा भएको थिएन । त्यसै क्रममा ३ औं दिन हाम्रो रिपोर्ट आयो । त्यो रिपोर्ट सबै परिवारको नेगेटिभ थियो । यति सम्मकी एउटै कोठामा बसेका परिवारका सदस्यको रिपोर्ट पनि नेगेटिभ नै थियो ।

जसले संक्रमित भाई र हामी सबै जनालाई अलिकति भएपनि हर्षित बनायो । कि भाई जस्तै सेल्फ क्वारिन्टन बाट आइसोलेसनमा गएर बस्नु पर्ने अवस्था आएन । तर परिवारका सदस्यका एक साथीबाट घरमा सगैं बस्ने भाईलाई कोरोना सक्रमण भएको भन्ने खबर छरछिमेकीले थाहा पाएछन् । त्यसपछि हामी माथी छरछिमिकीले अघिको भन्दा फरक दृष्टिकोणले हेर्न थाले । घरैपिच्छे कुरा काट्न लागे ।

यद्दपी हामीले त्यसको कुनै प्रवाह गरेका छैनांै । र गरे नांै पनि । हामी हाम्रो काम तर्फ केन्द्रित बढी र अझ सचेत भयौं । अहिले भाई आइसोलेसनमा हुनुहुन्छ । लक्षण कुनै छैन, स्वास्थ्य लाभको कामना गरी रहनु भएको छ । आशा छ, सवारी चालक भाई, पुर्ण रूपमा स्वस्थ भएर फर्किनु हुन्छ ।

 

सल्लाह
तपाई आफनो आनीबानीलाई सुधार गर्नुहोस । पहिलेको जस्तो सहज जीवनयापन खानपीन, रमाईलो, भीडभाड, जथाभावी लापरवाही गर्ने बेला अहिले छैन ।

नियमित मास्क लगाउने, साबुनपानीले हातधुने, उपलब्ध भएसम्म स्यानिटाइजरले हात राम्ररी सफा गर्ने, आफनै घरमा भएका ताजा र तागतदार खानेकुराहरु बढी खाने, जटिबुटीको सेवन गर्ने, हल्ला शंकाको पछाडि नलाग्ने गर्नुपर्छ ।

साना बालबालिका र बढी उमेर हुनुभएका वृद्धवृद्धाहरुको सरसफाई, अनि जवानहरुको घर बाहिर जाने र घरमा आउने क्रियाकलापहरुमा बढी सावधानी अपनाउनु पर्छ । केहि कुरा जानकारी थाहा पाएपछि सही हो वा गलत भन्ने कुरा राम्ररी बुझने र त्यसपछि मात्र आवाश्यक निर्णय लिने गर्नुपर्छ । घर होस वा बाहिर निस्कदा भौतिक दुरी कम्तीमा पनि २ मिटर टाढा बस्ने, जहाँ पायो त्यही नबस्ने, नछुने गर्नुपर्छ ।

सकिन्छ भने कोरोना बीमा गरि हाल्ने, सावधानी अपनाउदा–अपनाउदै पनि यदि आफु अथवा घरपरिवार, आफन्त कसैमा कोरोना भाइरस देखीई नै हाल्यो भने नआतिने । बरु कसरी सहज हुन्छ, अन्य सदस्यमा फैलनबाट रोक्ने प्रयास गर्ने । कत्ति पनि लापरवाही नगर्ने, स्वास्थ्यकर्मीको सम्पर्कमा छिटो जाने, नभाग्ने, नलुक्ने ।

सबै स्वास्थ्यकर्मी र कोभिड–१९ को रोकथाममा क्रियाशिल सरोकारवाला ब्यक्तिहरुले दिएका सल्लाह, सुझाव ग्रहण गर्ने तर निर्णाय भने आफै गर्ने । आफुलाई जुन सहज हुन्छ, किनकी सबैले राम्रो मात्रै सल्लाह दिन्छन भन्ने यहाँ छैन ।

कसैलाई कोरोना संक्रमित हो भन्ने थाहा पायौं भने संक्रमित र उसको सम्र्पकमा आउनुभएका ब्यक्तिहरुलाई विभेद, दुब्र्यवहार नगर्ने । बरु उनीहरुलाई कसरी सहयोग गर्न सकिन्छ, स्वास्थ्य सुरक्षा सावधानी अपनाउन सल्लाह, हौसला दिन सकिन्छ भनेर सोच विचार गर्ने ।

यसो गर्न सकियो भने मात्र असल घर परिवार, आफन्त, छिमेकी बन्न सकिन्छ । र कोभिड–१९ को रोकथाम, नियन्त्रण, ब्यवस्थापनमा क्रियाशिल सरोकारवाला निकाय, ब्यक्तिहरुले पीसीआर जाँँचको रिपोर्ट छिटो उपलब्ध गराउने ब्यवस्था गर्नु अति जरुरी छ ।

रिपोर्ट छिटो दिने, संक्रमित देखिए ठाउँको–ठाँउ उठाउने कार्य गरे एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्ने जुन दर छ, त्यो मा निकै कमी आउने थियो । तर यहाँ अहिले म पीसीआर जाँच गराउँछु भनेर जाँदा पनि सहज तरिकाले जाँच गराउने पालो पाईदैन ।
(लेखक पत्रकार हुनुुहुन्छ) ।

Next Post

नेपालगन्ज-१ का वडा अध्यक्ष रिजाल संगै ११ जना घर फर्किदै

२०७७ भाद्र १, सोमबार ०८:५९
नेपालगन्ज / नेपालगन्ज-१ का वडा अध्यक्ष सहित उपमहानगरपालिकाका ४ अधिकृत लगायत ११ जना कोरोना जितेर डिस्चार्ज हुनुभएको छ । आजै (सोमबार) आ-आफ्नो घर फर्किदै हुनुहुन्छ । कोरोना विशेष अस्पताल खजुरामा भर्ना हुनुभएका अध्यक्ष रिजाल लगायत उपमहानगरपालिकाका ४ जना अधिकृतहरुलाई साउन १९ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि पछि […]

सम्बन्धित शीर्षक