पवन कुमार चौधरी
दाङ । सामाजिक सञ्जाल इमोमार्फत लटरी (चिट्ठा) पर्यो भनेर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको लमही नगरपालिका ५ का दुई जना महिलालाई इमोमार्फत चिट्ठा पर्यो भनेर ठगी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रौतहटको दुर्गा भगवती गाउँपालिका ६ का १८ वर्षीय सुमन झा, रौतहटकै देवाही गोनाही नगरपालिका ६ का ५० वर्षीय सोनालाल ठाकुर र पर्साको वीरगञ्ज महानगरपालिका १६ को नगवाका १८ वर्षीय राजनारायण चौरसिया रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिनुभएको छ ।
गएको असोज २२ गते पीडित महिलाले इमोमार्फत चिट्ठा पर्यो भनेर आफूलाई ठगी गरेको भनेर जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि दाङ प्रहरीले खोजीका क्रममा उनीहरुलाई पक्राउ गरेको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी टोलीले रौतहट प्रहरीको सहयोगमा दुई जना र पर्सा प्रहरीको सहयोगमा एक जनालाई पक्राउ गरेको हो । उनीहरुले ठूलो धनराशीको प्रलोभन देखाए आईएमई तथा विभिन्न व्यक्तिगत बैंक खातामार्फत ६३ हजार रुपैयाँ रकम पठाउन लगाएका थिए । त्यो रकम पठाइसकेपछि पनि फेरि फोन, म्यासेज, भ्वाइस कलका माध्यमबाट थप रकम पठाउन बारम्बार आग्रह गरेपछि महिलाहरुले आफू ठगिएको महसुस गरेर प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
त्यही निवेदनको आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदा रौतहट र पर्सा जिल्लाबाट उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रमुख चन्दले बताउनुभयो ।