गैंडाको प्राकृतिक मृत्युदर बढेपछि अध्ययन गरिँदै

  ।   २०७७ आश्विन २३, शुक्रबार १२:२४

चितवन
चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैंडा मर्न थालेपछि यसको अध्ययन गरिने भएको छ । प्राकृतिक मृत्युदर उच्च हुँदै गएपछि मृत्युदर घटाउन निकुञ्जले अध्ययन गर्न लागेको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक प्रेमनारायण कँडेलको निर्देशनपछि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग समन्वय गरेर अध्ययन गर्न लागिएको हो ।

विज्ञलाई अध्ययनमा सहभागी गराइने छ । निकुञ्जको पश्चिमी क्षेत्रमा बढी गैंडा मरेपछि अध्ययन त्यस क्षेत्रमा केन्द्रीत हुनेछ । उहाँका अनुसार प्राकृतिक कारणले गैंडा मर्ने क्रम बढेपछि न्यूनीकरणका लागि गर्न सकिने उपायको खोजी गरिने छ ।

कहिलेदेखि अध्ययन थाल्ने भन्ने विषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । गएको दुई महिना नपुग्दै चोरी सिकारीबाट एउटा र प्राकृतिक कारणबाट सात वटा गैंडा मरेपछि निकुञ्जले अध्ययन गर्न लागेको हो ।

अघिल्लो आर्थिक वर्षमा पनि ४३ वटा गैंडा प्राकृतिक कारणले मरेका थिए भने गएको आवमा यो सङ्ख्या २६ रहेको थियो । मुख्यरुपमा गैंडा बाढीले बगाएर, दलदलमा फसेर, एक अर्कोसँग जुधेर मर्ने गरेका छन् ।

बाढीले बगाएका गैंडाको फोक्सोमा पानी जमेको भेटिने गरेको छ । नदी किनारका मानव निर्मित तटबन्ध पनि बाधक बन्ने गरेको छन् । नदीले बगाएका गैंडा तटबन्धका कारण सबै ठाउँबाट सहज नदी बाहिर आउन नसक्दा समस्या हुने गरेको उहाँले बताउनुभयो ।

विभागले यसअघि पनि गैंडाको प्राकृतिक मृत्युदरबारे अध्ययन गरेको थियो । निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार चालु आवको साउन २७ गतेदेखि असोज २१ गतेसम्मको अवधिमा सात गैंडा प्राकृतिक कारणले र एउटा गैंडा तस्करले मारेका छन् ।

उहाँका अनुसार साउन २७ गते राप्ती नदी किनारको अन्द्रौलीघाटमा २० वर्षको पोेथी गैंडा मृत फेला परेको थियो । त्यस गैंडा भालेको आक्रमणबाट मृत्यु भएको हो । भदौ ६ गते राप्ती किनारको जोतुवाघाटमा दलदलमा फसेर सात वर्षको पोथीको मृत्यु भएको थियो ।

यस्तै भदौ २१ गते बाँदरझुला टापुमा २५–३० वर्षको भाले गैंडा तस्करले मारेका छन् । त्यस गैंडाको टाउकोमा हतियारले प्रहार गरेको घाउ देखिएको थियो तर खाग, खुर भने सुरक्षित रहेका थिए ।

असोज १६ गते टापु क्षेत्रको सेरावा घोलमा कुहिएको अवस्थामा वृद्ध गैंडा मृत फेला परेको छ । त्यस गैंडाको लिङ्ग र उमेरसमेत पहिचान हुन नसकेको सूचना अधिकारी रामले जानकारी दिनुभयो ।

यस्तै असोज १७ गते त्रिवेणीमा रहेको गण्डक नहरमा मृत गैंडा भेटिएको थियो । पैँतीस वर्षको पोथी गैंडा नारायणी नदी पार गर्ने क्रममा नदीले बगाएको उहाँले जानकारी दिनुभयो । यसैगरी असोज १९ गते एकै दिन दुई गैंडा मृत फेला परेका थिए ।

एउटा वयस्क पोथी वाल्मीकि गण्डक नहरमा खसेर मरेको थियो । त्यस गैंडालाई नारायणीले बगाएको अनुमान गरिएको छ । अर्को १०(१२ वर्षको भाले सौराहा क्षेत्रको वनकट्टा घाँसे मैदानमा त्यही दिन मृत फेला परेको थियो ।

भिरालो जमिनमा लडेर त्यस गैंडा मरेको हो । असोज २१ गते नारायणी नदी छेउको भेलौजी दलदलमा १५ वर्षको पोथी गैंडा मृत फेला परेको थियो । गैंडा नारायणी नदीले बगाएको हो । यस अवधिमा मरेका गैंडामध्ये चार वटा बाढीकै कारण मरेका हुन् ।

उज्यालो अनलाइनबाट

Next Post

बाँकेमा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु

२०७७ आश्विन २३, शुक्रबार १२:२४
बाँकेमा कोरोना संक्रमणका कारण थप एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का ८५ वर्षीया महिलाको हुनुुहुन्छ । उहाँको बिहिवार (हिजो) राती ९ बजे मृत्यु भएको थियो । तर कोरोना संक्रमणको रिपोर्ट भने आज बिहान मात्रै आएको हो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु […]