सीमा नाका बन्दको सकारात्मक प्रभाव

राजस्व लक्ष्यभन्दा झन्डै दोब्बर

  ।   २०७७ आश्विन १६, शुक्रबार १६:३३

पवन कुमार चौधरी

नेपालगन्ज । ‘सियोदेखि ठूल्ठूला मेसिनरी सामानको आयात हुँदा दैनिक १ अर्बकै कारोबार भारतमा हुन्थ्यो’, नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्य लकडाउनको व्यापारको अनुभव सुनाउनुहुन्छ, ‘भारतीय सामान ८० प्रतिशत कालोबजारी भएर आउँथ्यो । अहिले त्यो ठप्प भएको छ । ठूला व्यापारीले कर तिरेर ल्याउने भएकाले राजस्व पनि बढेको छ ।’ होलसेल कपडाका व्यावसायी वैश्य आफ्नो कारोबारमा २ सय प्रतिशतले वृद्धि भएको बताउनुहुन्छ ।

‘सस्तो पाउने भन्दै नेपाली उपभोक्ताहरु दैनिक उपभोग्यका खाद्यान्न किन्न रुपैडिया जाने गरेका थिए । अहिले स्वदेशी खाद्यान्न उद्योगहरु फस्टाइरहेका छन्’, नेपालगन्ज किराना व्यवसायी संघका अध्यक्ष फडाधर भण्डारीले प्रष्ट पार्नुभयो, ‘खाद्यान्नको थोक बिक्री ७० प्रतिशतले र खुद्रा बिक्री कम्तीमा पनि ४० प्रतिशतले बढेको छ ।’

कोरोना भाइरस (कोभिड–१९) ले सीमा नाका बन्द भएपछि नेपालगन्जको व्यापार २ सय प्रतिशतले वृद्धि भएको छ । सीमावर्ती बजार रुपैडिहामा सामान किन्न जाने उपभोक्ता स्थानीय बजारमै निर्भर भएका छन् ।

‘डाबर, लिभरका सामानहरु नेपालमै सस्तो पाइन्थ्यो । उपभोक्ताले भारतमा गएर किनेर ल्याउँथे । नेपाली चियापत्ति नै राम्रो भए पनि भारतीय किन्थे । बनस्पति घ्यु नेपालबाटै जान्थ्यो । उता गएर ल्याउँथे’, भण्डारीले लकडाउनपछिको अवस्थाबारे प्रष्ट पार्नुभयो, ‘अहिले स्वदेशी उद्योगहरु पनि फस्टाएका छन् । उपभोक्ताहरु पनि नेपाली उत्पादनमा बानी परिरहेका छन् ।’

अध्यक्ष भण्डारी विगतमा खाद्यान्न मात्र दैनिक ५ करोड रुपैयाँ जतिको आउने गरेको बताउँनुहुन्छ । उहाँ लकडाउनको बेलामा भाटभटेनीले खाद्यान्नमा बजार नियन्त्रण गरेर मद्दत गरेको जिकिर गर्नुहुन्छ । भाटभटेनीका क्षेत्रीय प्रबन्धक विनोद भट्टराई पनि लकडाउनको बेलामा भाटभटेनीले कालो बजारी र मूल्य वृद्धि नियन्त्रण गरेको दाबी गर्नुहुन्छ् ।

भन्नुहुन्छ् ‘विगतमा भूकम्प र नाकाबन्दीको बेलामा भएको चर्को कालोबजारीको बेला पनि भाटभटेनीले सेवा गरेको थियो । त्यही अनुभवले लकडाउनको बेलामा पनि बजारलाई मनपरी गर्नबाट रोकेका छौं । भाटभटेनीमा सामान किन्न कैलालीको चिसापानी र दाङका विभिन्न स्थानबाट त्यत्तिकै उपभोक्ता आएका छैनन् ।’

मोबाइल लगायतका इलोक्ट्रोनिक सामानहरु पनि भारतबाट धेरै आउने गरेकोमा अहिले नेपालगन्जकै बजारमा बिक्री बढेको नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले बताउनुभयो । नेपालगन्ज इलेक्ट्रोनिक एशोसियसन बाँकेका अध्यक्ष समेत रहनुभएका ओली विगत सम्झन्नुहुन्छ, ‘एउटा मोबाइल किन्न पनि रुपैडिया जाने चलन थियो । भन्सार नतिरेरै आउँथ्यो । अहिले नेपालगन्जमै मोबाइलको बिक्री बढेको छ ।’

उहाँ यस्ता समानको मात्र २५ प्रतिशत वृद्धि बढेको बताउँनुहुन्छ । ओली आशावादी हुँदै भन्नुहुन्छ, ‘लकडाउन उपभोक्तालाई स्वदेशी उत्पादन नेपालगन्जमै सस्तो र गुणस्तरीय भएको थाहा पाउने अवसर भएकाले पनि सीमा नाका खुलेपछि स्वदेशी उत्पादनको खपत कायम रहनेछ ।’
नेपालगन्जका उद्योगी र व्यवसायी मात्र उत्साही भएका छैनन्, भन्सारको राजस्व पनि लक्ष्यभन्दा झन्डै दोब्बर वृद्धि भएको छ ।

नेपालगन्ज भन्सार कार्यालय बाँकेका निमित्त प्रमुख रमेशकुमार खतिवडा चालु आर्थिक वर्षको साउन र भदौको राजस्व लक्ष्यभन्दा धेरै उठेको छ । ‘साउनमा १७२ प्रतिशत र भदौमा १३२ प्रतिशत राजस्व संक्रलन भएको छ’, खतिवडाले अघिल्लो वर्षको राजस्वसँग तुलना गर्दै भन्नुभयोे, ‘गत वर्ष साउनमा ६९.६९ प्रतिशत र भदौमा ६५.१६ प्रतिशत राजस्व मात्र संकलन भएको थियो । यो वर्ष गत वर्षभन्दा दोब्बर भन्दा पनि बढी राजस्व संकलन भएको छ ।’

भन्सार कार्यालयका अनुुसार गत वर्षको साउनमा एक अर्ब २३ करोड राजस्व संकलनको लक्ष्य रहेकोमा ८६ करोड मात्र संकलन भएको थियो । भदौमा १ अर्ब ५४ करोडको लक्ष्य लिएकोमा एक अर्ब ८ करोड मात्र राजस्व संकलन भएको थियो । यो वर्षको साउनमा ९४ करोडको लक्ष्य रहेकोमा एक अर्ब ६२ र भदौमा १ अर्ब ६ करोडको लक्ष्यमा एक अर्ब ४१ करोड राजस्व संकलन भएको छ ।

भन्सार कार्यालयका कर अधिकृत खतिवडाले प्रष्ट पार्नुभयो, ‘हिजो चोरी पैठारी हुन्थ्यो । राजस्व छलिन्थ्यो । अहिले ती सबै सामान राजस्व तिरेर मात्र आयात भइरहेको छ । त्यसैले लकडाउनपछि राजस्व वृद्धि भएको हो ।’

  • गुड न्यूज साप्ताहिक पत्रिकाबाट

 

Next Post

कोरोना संक्रमणबाट नेपालगञ्जमा थप १ जनाको मृत्यु

२०७७ आश्विन १६, शुक्रबार १६:३३
नेपालगञ्ज । कैलाली जिल्लाको धनगढी उप–महानगरपालिका वडा नम्बर २ सन्तोशी टोल स्थायी घर भई नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ९ बाँके गाउँमा बसोबास गर्दै आएकी २५ वर्षीय महिलाको कोरोना सङ्क्रमणका कारण शुक्रबार भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ । बाँके जिल्लाका कोरोना संकलनबाट हाल सम्म १९ जनाको मृत्यु भइसकेको छ ।