सबिता चन्द
नेपालगन्ज । पूर्णतारा फाउन्डेसन नेपालले आफ्नो ६औँ स्थापना दिवसको अवसरमा भेरी अस्पताल नेपालगन्ज परिसरमा सामाजिक सेवामूलक कार्यक्रम आयोजना गरी ६० जना नवजात शिशुहरूलाई न्यानो कपडा सेट तथा ६ जना विद्यार्थीहरूलाई विद्यालय पोशाक र स्टेशनरी सामग्री वितरण गरेको छ।
कार्यक्रममा बोल्दै वक्ताहरूले पूर्णतारा फाउन्डेसनले स्थापना दिवसलाई औपचारिकतामा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोडेर सञ्चालन गरेको मानवीय अभियान प्रशंसनीय रहेको बताएका थिए। प्रमुख अतिथि डा. नवीन दर्नालले संस्थाले समाजका विपन्न तथा आवश्यकतामा रहेका वर्गलाई लक्षित गरी सञ्चालन गर्दै आएका कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरेको धारणा व्यक्त गर्नुभयो । आन्तरिक राजस्व प्रमुख पूर्णप्रसाद न्यौपानेले नवजात शिशु तथा विद्यार्थीहरूलाई लक्षित सहयोगले मानवता, करुणा र सामाजिक सद्भावलाई थप मजबुत बनाउने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । क्रममा वरिष्ठ पत्रकार डा. डक्टप्रसाद धिताल, नर्सिङ प्रमुख पद्मा देवकोटा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रमको अन्त्यमा संस्थाकी अध्यक्ष तारा कुमारी रोकायले स्थापना दिवसको केक काटेर संस्थाको छैटौँ वार्षिकोत्सव मनाउनुभएको थियो। लगत्तै प्रमुख अतिथि डा. नवीन दर्नाल, विशिष्ट अतिथि पूर्णप्रसाद न्यौपाने, नर्सिङ प्रमुख पद्मा देवकोटा लगायतका अतिथिहरूले संयुक्त रूपमा ६० जना नवजात शिशुहरूलाई न्यानो कपडा सेट वितरण गर्नुभएको थियो। साथै ६ जना विद्यार्थीहरूलाई विद्यालय पोशाक तथा आवश्यक स्टेशनरी सामग्री प्रदान गरिएको छ ।
स्थापनाको छैटौँ वर्ष पूरा गरेको पूर्णतारा फाउन्डेसन नेपालले
स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको छ। स्थापना दिवसका अवसरमा आयोजित सहयोग वितरण कार्यक्रमले संस्थाको सेवामूलक उद्देश्य र सामाजिक प्रतिबद्धतालाई थप उजागर गरेको सहभागीहरूले बताएका छन्।
संस्थाकी अध्यक्ष तारा कुमारी रोकायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नाल प्रमुख अतिथि तथा आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख पूर्णप्रसाद न्यौपाने विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा नर्सिङ प्रमुख पद्मा देवकोटा, अस्पताल विकास समितिका सदस्य समीरकुमार गुरुङ, दन्त रोग विभाग प्रमुख डा. विवेक महतो, संस्थाका आजीवन सदस्य तथा वरिष्ठ पत्रकार डा. डक्टप्रसाद धिताल र औद्योगिक क्षेत्र विकास समिति नेपालगन्जका निवर्तमान अध्यक्ष राजेश मास्के लगायतको उपस्थिति रहेको थियो।


