सबिता चन्द
नेपालगन्ज । भेरी अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु पश्चात अस्पताल परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। मृतकका आफन्त तथा आफूलाई पत्रकार बताउने केही व्यक्तिहरूले अस्पताल प्रशासनमाथि दुर्व्यवहार गरेपछि घटनाले थप जटिल रूप लिएको हो ।
बाँकेको बैजनाथ गाउँपालिका–६ निवासी ६२ वर्षीया महिलालाई पेट तथा छातीसम्बन्धी समस्या लिएर बैशाख ६ गते अस्पतालमा भर्ना गरिएको थियो । प्रारम्भिक अवस्थामै बिरामीमा APD, Hypothyroidism, Hypertension तथा Type 2 Diabetes Mellitus जस्ता दीर्घरोगहरू देखिएको अस्पतालले जनाएको छ। उपचारका क्रममा मुटुसम्बन्धी समस्या देखिएपछि कार्डियोलोजिस्टको निगरानीमा राखी इसिजी, इको तथा कार्डियाक इन्जाइम जस्ता विभिन्न परीक्षणहरू गरिएको थियो।
अस्पतालका अनुसार बिरामीको उपचारमा बहुविधागत (Multidisciplinary) पद्धति अपनाउँदै ग्यास्ट्रोलोजिस्ट र मनोरोग विशेषज्ञको समेत परामर्श लिइएको थियो। यथासम्भव सबै स्थापित विधि अपनाउँदा पनि रोगको स्पष्ट निदान हुन नसकेको अवस्थामा थप “क्रस ओपिनियन” का लागि बैशाख ११ गते अन्यत्र रिफर गरिएको थियो।
तर, बिरामीको अवस्था केही सुधार देखिएपछि अस्पतालमै उपचार जारी राखिएकोमा बैशाख १३ गते अचानक अवस्था बिग्रिएर उहँको मृत्यु भएको अस्पतालले जनाएको छ।
घटनापछि अस्पताल प्रशासन र मृतकका आफन्तबीच पटक–पटक छलफल भएको थियो । बैशाख १४ गते अस्पताल प्रमुख, विभिन्न विभागीय प्रमुखहरू, प्रतिनिधिसभा बाँके क्षेत्र नं. ३ का सांसद खगेन्द्र सुनार तथा पूर्वराज्यमन्त्री दल बहादुर सुनारको उपस्थितिमा समेत छलफल भएको थियो । सो क्रममा चिकित्सकीय उपचारका सीमितता र नियन्त्रण बाहिरका अवस्थाका कारण यस्ता घटना हुनसक्ने भन्दै अस्पताल पक्षले आफ्नो धारणा स्पष्ट पारेको थियो।
अस्पतालले यदि उपचारमा कुनै नियतवश त्रुटि भएको ठहरिएमा सम्बन्धित निकायबाट अनुसन्धान गर्न सकिने र त्यसका लागि बिरामी पक्ष स्वतन्त्र रहेको बताएको छ। तर, दबाबका आधारमा लापरवाही स्वीकार नगर्ने अडानसमेत अस्पतालले लिएको छ ।
यसैबीच, बैशाख १५ गते बिहान करिब १०:३० बजे मृतकका आफन्त तथा केही व्यक्तिहरू अस्पताल प्रमुखको कार्यकक्षमा प्रवेश गरी मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीमाथि गालीगलौज, ज्यान मार्ने धम्की तथा हातपातको प्रयास गरेको आरोप अस्पतालले लगाएको छ। उक्त घटनाले स्वास्थ्यकर्मीहरूको मनोबलमा गम्भीर असर परेको जनाइएको छ ।
सामाजिक सञ्जालमा पनि अस्पताल र स्वास्थ्यकर्मीविरुद्ध अशोभनीय आरोप तथा अनर्गल प्रचार भइरहेको भन्दै अस्पताल प्रशासनले आपत्ति जनाएको छ ।
उक्त घटनामा संलग्न व्यक्तिहरूविरुद्ध “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६” बमोजिम कानुनी प्रक्रिया अघि बढाइएको अस्पतालले जानकारी दिएको छ।
मानसिक दबाब र असुरक्षाको वातावरणका कारण अस्पतालका केही सेवाहरू प्रभावित हुन सक्ने जनाउँदै अस्पतालले चिकित्सक–बिरामी सम्बन्धमा आँच पुर्याउने र सामाजिक सद्भाव बिगार्ने गतिविधि नगर्न सबैसँग अपिल गरेको छ।


