परिकल्पनाकार,
डा. मनोज कुमार झा
(डा. मनोज मुक्ति “विकेक”)
“प्रेम” के हो ?
“प्रेम”, अव्याख्य हो,
जसको कुनै व्याख्या हुन सक्दैन ।
जसको कुनै भाषा हुँदैन,
जसको कुनै लिपि हुँदैन ।।
“प्रेम” के हो ?
जुन “शुद्ध” छ, त्यो नै “प्रेम” हो !
जुन “पवित्र” छ, त्यो नै “प्रेम” हो !!
जुन “निष्कलङ्कित” छ,त्यो “प्रेम” हो !
जुन “भौतिकता” भन्दा निकै माथि छ, त्यो नै “प्रेम” हो ।।
“प्रेम” के हो ?
पवित्रता भित्रको शुद्धता,
कलङकको थुप्रो भित्रको निष्कलङ्क ।
सम्भावनाहरुको अन्त्य,
आत्मा र परमात्माको मिलन ।।
“प्रेम” के हो ?
अपराध बिनाको दण्ड,
चोट-घाउ बिनाको गहिरो पिडादायी दर्द-तकलीफ !
त्यो, दर्द-तकलीफ भित्र लुकेको उत्कृष्ट आनन्द !
“योग समाधी” को अवस्था, मृत्यु माथिको विजय !!
“प्रेम” के हो ?
तथ्य,
स्वाद,
अक्षर,
शब्द,
वाक्य,
ब्रम्हाण्ड ।।
“प्रेम” के हो ?
त्याग, समर्पण र विश्वासको अनुपम संगम,
प्राप्ति, भोग, मिलन को बिपरितार्थक ।
बिच्छोड, राग, पीडा को उत्त्कर्ष बिन्दु,
भाव र भावना भित्र लुकेको उत्कृष्ट भाव ।।
“प्रेम” के हो ?
आवश्यकता भित्रको अतिआवश्यकता,
भ्रमहरु भित्र लुकेको मोक्ष,
जीवनको यथार्थता,
झुठ र अन्धविश्वास बाट मुक्ति ।।
“प्रेम” के हो ?
प्रश्नहरू को उत्तर,
समस्याहरु को समाधान ।
चाहतको अन्तिम चाहना,
जीवनको निष्कर्ष ।।
“प्रेम” के हो ?
मुक्तिको चाहना,
मोक्षको प्राप्ति ।
स्वार्थको त्याग,
आँसुको बर्षात ।।
“प्रेम” के हो ?
जो अजर, अमर, अविनाशी छ,
“प्रेम” परमात्मा हो ।
परमात्मा “प्रेम” हो,
“प्रेम” नै परमात्मा हो ।।
“प्रेम” के हो ?
प्रकृतिबाट ग्रहण गरिने प्राण वायु,
शरिरमा बग्ने रातो पानी !
आँखाको नानी, मस्तिष्कको जागरण,
ज्ञानको आगमन, परमज्ञानको प्राप्ति ।।
“प्रेम” के हो ?
बिन्दु भित्रका वाक्यहरु,
जीवनका महाभारतहरु !
गीताको ज्ञान र यथार्थताको समागम,
ब्रम्हज्ञानको प्राप्ति र ॐकार सँगको मिलन ।।
“प्रेम” के हो ?
यो भूत, वर्तमान र भविष्य हो !
असत्य र सत्य भित्रको सत्य हो !!
नटराजको “नटरासन” हो !
त्यस भित्रको “नट-आलिङगन” हो ।।
“प्रेम” के हो ?
रुह-आत्माले महसुस मात्र गर्ने सकिने,
जुन “अव्याख्य, अनिर्वचनीय” छ ।
त्यो नै “प्रेम” हो !
त्यसैले,
“प्रेम” लाई “प्रेम” नै रहन दिउँ,
यसलाई कुनै नाम नदिउँ ।।
परिकल्पनाकार
राष्ट्रिय नागरिक आन्दोलन एवं राष्ट्र बचाउ अभियानका संयोजक हुनुहुन्छ ।