काठमाण्डौ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नेपालले साफ च्याम्पियनशिप फुटबलमा उच्च मनोबलका साथ खेलेको भन्दै प्रशंसा गर्नुभएको छ । आज आइतवार काठमाण्डौमा भएको एक कार्यक्रमा बोल्दै मन्त्री गहतराजले नेपालले साफ च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेर इतिहास बनाइसकेको भन्दै उपाधि जित्ने प्रयास गर्दा गर्दै नसके पनि आफू निराश नभएको बताउनुभयो ।
‘म राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूको प्रदर्शनबाट निराश छैन, नयाँ आशा जगाएको छ,’ उहाँले भन्नुभयो, ‘नेपालले अझ राम्रो प्रदर्शन गरेर भविष्यमा विभिन्न उपाधि जित्न सक्छ ।’ आफूले खेल हुनुभन्दा अघि पनि टिम व्यवस्थापक, प्रशिक्षकसँग संवाद गरेको खुलाउँदै उच्च मनोबलका साथ खेलाडीहरूले खेल्ने अपेक्षा गरेको समेत मन्त्री गहतराजले सुनाउनुभयो ।
नेपालले समग्रमा साफ च्याम्पियनशिपमा उत्कृष्ट प्रदर्शन गरेको गहतराजको भनाइ थियो । उहाँले भन्नुभयो, ‘नेपाली गोर्खा स्प्रिट सम्झेर खेल्न प्रेरित गरेको थिएँ गर खेले पनि ।’ नेपालले भविष्यमा अझ राम्रो प्रदर्शन गर्न सक्ने देखिएको उहाँले बताउनुभयो ।
भारतलाई लामो समयसम्म गोल गर्नबाट रोक्न सकेको भन्दै जितको आशा भने पूरा नभएको मन्त्री गहतराजले उल्लेख गर्नुभयो । खेलाडीहरू खेल्दा खेल्दै असफल भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘असफलताबाट सिकेर सफलताका लागि बढ्नुपर्छ ।’ नेपालको खेलको समीक्षा हुने र भविष्यमा अझ खेलको स्तर सुधार्न आवश्यक कदम चालिने मन्त्री गहतराजले आश्वासन दिनुभयो ।
आफूले युवा र खेलकुदको विकासको आधार तयार गर्न काम थालिसकेको उहाँले दाबी गर्नुभयो । मन्त्री नियुक्त भएकै दिनदेखि आफू काममा खटिइसकेको उहाँले बताउनुभयो । आफ्नो कार्यकालमा सम्झनलायक काम गर्न योजनाबद्ध तरिकाले बढिरहेको मन्त्री गहतराजले बताउनुभयो ।
आफू काममा विश्वास गर्ने व्यक्ति भएको उहाँको भनाइ छ । गफ र भाषणमा आफूले विश्वास नगर्ने र काममा नै विश्वास गर्ने भएकाले त्यसअनुसारको काम बढाउने मन्त्री गहतराजले बताउनुभयो । देशभित्र निराशा पैदा भएकाले आशा बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
खेल क्षेत्रलाई परिणाममुखी बनाउन अपेक्षित परिणाम हासिल नभएको बताउँदै मन्त्री गहतराजले सोच र भिजन सार्वजनिक गरेर अगाडि बढ्ने जानकारी दिनुभयो ।