हुम्लाको नाम्खा गाउँपालिकामा समुदायस्तरमै फैलियो कोरोना

  ।   २०७७ मंसिर ३, बुधबार ०७:५६

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङमा पहिलो दिन चार जनामा देखिएको कोरोना भाइरस अहिले समुदायस्तरमै फैलिएको छ।

पालिका केन्द्र याल्वाङमा रहेको महाबौद्ध माध्यामिक विद्यालयको होस्टलमा रहेका छात्रछात्रा र शिक्षक कर्मचारीमा देखिएको कोरोना अहिले गाउँस्तरमै फैलिएको हो।

गाउँपालिकाको अन्य वडामा सङ्क्रमण नदेखिएको भए पनि वडा नं ४ को प्रत्येक गाउँमा कोरोना सङ्क्रमित भेटिनुका साथै उच्च जोखिममा रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिएका छन्।

सोमबारसम्म ५३ जना सङ्क्रमित रहेको नाम्खामा मङ्गलबार ५९ जनाको एन्टिजेन परीक्षण गर्दा थप तीन जनामा संक्रमण देखिएको फडेराले बताए। गाउँपालिकाले आवतजावत बन्द गर्दै सिल गरेको भए पनि सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएको छ।

पहिलो दिन चार, दोस्रो दिन आठ, तेस्रो र चौथो दिन कात्तिक २९ गते १५ गरी मङ्सिर १ गते सोमबार २६ जना कोरोना पोजेटिभ देखिएको थियो भने मङ्लबार थप तीन जनामा सङ्क्रमण देखिएको हो।

हिमपातपछि बिहान, बेलुका र रातिको समयमा तापक्रम माइनसमा पुगेसँगै प्रकोपलाई नियन्त्रणमा लिन नसक्दा वडा नं ४ को समुदायस्तरमा प्रवेश गरेको स्वास्थ्यकर्मी बताउँछन्।

यस्तै दुई कोरोना सङ्क्रमितलाई महँगो हवाईभाडा १०(१० लाख तिरेर हेलिकोप्टरमार्फत काठमाडौं उद्धार गरिएको छ।

नाम्खाको याल्वाङ जिल्लाबाट चिकित्सकको टोली खटिएको भए पनि यो महामारीलाई नियन्त्रणमा लिन नसकिएको बताइएको छ। सङ्क्रमित सबैको अवस्था सामान्य रहेको बताइएको छ।

उत्तरी क्षेत्रमा देखिएको कोरोना प्रकोप नियन्त्रणमा जिल्लाका नियमनकारी निकाय नै मौन बसिरहेका छन्।

याल्वाङमा दैनिक कोरोना सङ्क्रमित बढ्दै गए पनि जिल्लाका जनप्रतिनिधि र जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले सक्रिय भूमिका निर्वाह गर्न नसकेको भन्दै बजारमा आलोचना गर्न थालिएको छ। रासस

Next Post

कोरोना जोखिम नभएका ठाउँमा विद्यालय सञ्चालन गर्न सरकारले बनायो कार्यढाँचा

२०७७ मंसिर ३, बुधबार ०७:५६
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको छ। मन्त्रिपरिषद्को गत कात्तिक २२ गतेको निर्णयबाट स्वीकृत ‘कोभिड–१९ को सन्दर्भमा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ लाई मन्त्रालयले वेबसाइटमा समावेश गरी स्थानीय तहलाई […]