गुड न्युज सम्बाददाता
नेपालगन्ज । नेपालगन्जमा बैशाख ११ गतेदेखि सुरु गरिएको स्ट्रीट फुड एण्ड बेभरिज फेस्टिबल–२०८३ बाहिरबाट हेर्दा रंगीन, आकर्षक र सम्भावनाले भरिएको देखिन्थ्यो। होटल व्यवसायी संघ बाँके र होटल संघ नेपाल बाँकेले संयुक्त रूपमा आयोजना गरेको यो तीन दिने महोत्सव नेपालगन्ज–१ वाटरपार्क परिसरमा सञ्चालन गरिएको थियो। उद्घाटन समारोहमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको उपस्थितिले कार्यक्रमलाई औपचारिक उचाइ दिएको थियो। प्रचार–प्रसारमा यसलाई स्थानीय स्वाद, रैथाने परिकार, आधुनिक होटल संस्कृतिको संगम र मनोरञ्जनको आकर्षक केन्द्रका रूपमा प्रस्तुत गरिएको थियो।
तर जब सर्वसाधारण कार्यक्रम स्थलभित्र प्रवेश गर्न थाले, त्यहाँ देखिएको दृश्यले बाहिरी चमकसँग मेल खाएन। अपेक्षाको उचाइ र वास्तविकताको धरातलबीचको दूरी बिस्तारै खुल्दै गयो। उद्घाटन सत्रमै यसको संकेत देखिन्थ्यो। दिर्घासनमा अतिथिहरूको उपस्थिति बाक्लो थियो—नेता, व्यवसायी, प्रतिनिधिहरू सबै उपस्थित थिए। भाषणमा विकास, पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण र युवालाई अवसर दिने जस्ता विषयले स्थान पाएका थिए। शब्दहरू प्रभावशाली थिए, भावनात्मक पनि थिए। तर ती शब्दहरू सुन्ने श्रोता भने अत्यन्त न्यून थिए। अगाडि राखिएका कुर्सीहरू प्रायः खाली देखिन्थे।
श्रोता नहुँदा भाषण केवल औपचारिकतामा सीमित भए। यसले एउटा गम्भीर प्रश्न उठायो-कार्यक्रम कसका लागि आयोजना गरिएको थियो ? मञ्च र दर्शकबीचको दूरीले योजना र कार्यान्वयनबीचको असन्तुलन प्रष्ट पारिदियो।
महोत्सवको अर्को महत्वपूर्ण पाटो-व्यवसायीहरूको सहभागिता—पनि अपेक्षाअनुसार देखिएन। बाँके जिल्लामा सयौं होटल तथा खाद्य व्यवसाय सञ्चालनमा रहेको दाबी गरिए पनि स्थलमा धेरै स्टलहरू खाली देखिनु चासोको विषय बन्यो। केही स्टलहरू खुलेका थिए, जहाँ स्थानीय परिकारदेखि आधुनिक खानासम्मको स्वाद प्रस्तुत गर्ने प्रयास गरिएको थियो। पाँचतारे होटलस्तरका परिकारदेखि रैथाने खानासम्म एउटै स्थानमा उपलब्ध गराउने अवधारणा आफैंमा आकर्षक थियो।
तर सहभागीको संख्या न्यून हुँदा त्यो सम्भावना पूर्ण रूपमा उपयोग हुन सकेन। यसले या त आयोजकले व्यवसायीहरूसँग पर्याप्त समन्वय गर्न नसकेको, वा कार्यक्रमप्रति उनीहरूको विश्वास मजबुत बनाउन नसकेको संकेत गर्छ।
स्थलको सजावट, स्टेज, लाइटिङ र संरचना भने आकर्षक देखिन्थे। पहिलो नजरमा कार्यक्रम भव्य लाग्थ्यो। तर केही समय त्यहाँ बिताएपछि थाहा हुन्थ्यो-त्यो भव्यता सतहमा मात्र सीमित छ। मानिसहरूको चहलपहल न्यून हुँदा तामझामले जीवन्तता दिन सकेन।
केही व्यवसायीहरू आफ्ना स्टलमा ग्राहकको प्रतीक्षा गर्दै बसिरहेका देखिन्थे। उनीहरूको अनुहारमा आशा र निराशा दुवै मिसिएको भाव देखिन्थ्यो। “साँझतिर भीड बढ्ला” भन्ने अपेक्षा कतिपयमा थियो, तर त्यो अपेक्षा धेरै हदसम्म पूरा हुन सकेन।
मिडिया व्यवस्थापनको पक्ष पनि विवादरहित रहेन। कार्यक्रमको प्रचार–प्रसार सीमित दायराभित्र केन्द्रित भएको गुनासो सुनियो। केही सञ्चार माध्यमहरू मात्र प्राथमिकतामा परेको आरोपले कार्यक्रमको पारदर्शितामाथि प्रश्न उठायो। सूचना सबै मिडियासम्म समान रूपमा नपुग्दा कार्यक्रमको पहुँच पनि सीमित रह्यो।
जब प्रचार नै सीमित हुन्छ, सहभागिता स्वतः सीमित हुन्छ। यो महोत्सवले त्यसको प्रत्यक्ष उदाहरण प्रस्तुत गर्यो।
प्रवेश शुल्क पनि अर्को महत्वपूर्ण पक्ष बन्यो, जसले धेरै इच्छुक दर्शकलाई कार्यक्रमसम्म पुग्नबाट रोकेको देखियो। स्ट्रीट फुडको अवधारणा सामान्यतया खुला, सहज र सबैका लागि पहुँचयोग्य हुन्छ। तर यहाँ शुल्कको व्यवस्थाले कार्यक्रमलाई आम जनताबाट केही टाढा बनायो।
परिवार, विद्यार्थी, युवा समूह-जो यस्तो कार्यक्रममा सहभागी हुन सक्थे-उनीहरूमध्ये धेरैले शुल्ककै कारण फर्किएको अनुभव सुनाए। यसले “स्ट्रीट” भन्ने शब्दको अर्थमाथि नै प्रश्न खडा गरिदियो।
यद्यपि, आयोजकले मनोरञ्जनको पक्षलाई बलियो बनाउन प्रयास गरेका थिए। लोकप्रिय “दि फिरन्ते ब्यान्ड” को प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सहभागिताले कार्यक्रमलाई सांगीतिक रंग दिने योजना थियो। विभिन्न ब्रान्डका पेय पदार्थहरू प्रिन्ट रेटमै उपलब्ध गराउने व्यवस्था पनि गरिएको थियो। तर यी सबै प्रयासहरू सहभागिताको अभावले ओझेलमा परे। कार्यक्रमको मूल उद्देश्य-मानिसहरूलाई आकर्षित गर्ने नै कमजोर भएपछि अन्य आकर्षणहरूले प्रभाव पार्न सकेनन्।
समग्रमा हेर्दा, महोत्सवले सबै तह र तप्कालाई समेट्न सकेन। स्थानीय साना व्यवसायी, नयाँ उद्यमी, महिला समूह र घरेलु उत्पादनकर्ताहरूलाई समावेश गर्ने पर्याप्त अवसर थियो। तर त्यो सम्भावना व्यवहारमा रूपान्तरण हुन सकेन।
अपेक्षा र यथार्थबीचको दूरीले अन्ततः निराशा जन्मायो। “हाती आयो हाती आयो फुस्सा” भन्ने उखान यहाँ सान्दर्भिक देखिन्छ। प्रचार र तयारीले ठूलो आशा जगाए पनि परिणामले त्यो आशालाई धान्न सकेन।
तर यसलाई केवल असफलताको कथा भनेर टुंग्याउनु पर्याप्त हुँदैन। यो एउटा सिकाइ पनि हो। नेपालगन्जजस्तो सम्भावनायुक्त शहरमा यस्ता कार्यक्रमले पर्यटन, व्यापार र सांस्कृतिक पहिचान प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्छन्। त्यसका लागि केवल तामझाम होइन, गहिरो योजना, समावेशी दृष्टिकोण, पारदर्शी व्यवस्थापन र प्रभावकारी कार्यान्वयन आवश्यक हुन्छ भन्दै एक विज्ञले बताउनु भयो ।
कार्यक्रम सफल हुन दर्शकको उपस्थिति, व्यवसायीको विश्वास र समुदायको सहभागिता अनिवार्य हुन्छ। यी तत्वहरू कमजोर हुँदा कार्यक्रम केवल औपचारिकतामा सीमित हुने जोखिम रहन्छ। यो महोत्सवले एउटा स्पष्ट सन्देश दिएको छ, नाम ठूलो भएर मात्र पुग्दैन, परिणाम पनि त्यत्तिकै ठूलो हुनुपर्छ। नत्र, चमकभित्रको शून्यता एक दिन सबैले देख्नेछन् ।



