
सबिता चन्द
नेपालगञ्ज। भारतको देहरादुनमा सम्पन्न ८औँ खुला इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपको अवसरमा बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा खेलप्रेमी नेता दिपेन्द्र बिष्टले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरेका खेलाडी र प्रशिक्षकहरूसँग आत्मीय संवाद गर्नुभएको छ।
चुनावी प्रचारप्रसारकै क्रममा विशेष रूपमा उपस्थित हुनु भएका बिष्टले खेलाडीहरूको मेहनत, अनुशासन र उत्कृष्ट प्रदर्शनको खुलेर प्रशंसा गर्दै खेलकुद युवालाई सकारात्मक सोच, आत्मअनुशासन र नेतृत्व क्षमतातर्फ डोर्याउने प्रभावकारी माध्यम भएको उल्लेख गर्नुभयो।
“खेलकुदले युवालाई आत्मविश्वास र नेतृत्व सिकाउँछ,” भन्दै उहाँले खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि पूर्वाधार निर्माण, गुणस्तरीय प्रशिक्षण र अवसरको विस्तारमा राज्यको भूमिका निर्णायक हुनुपर्ने धारणा राख्नुभयो। खेलाडीमैत्री नीति निर्माणका लागि आफू दृढ रहेको उहाँको भनाइ थियो।
खेलाडी र प्रशिक्षकहरूले पनि बिष्टको स्पष्ट दृष्टिकोण र व्यवहारिक प्रतिबद्धतालाई सकारात्मक रूपमा लिँदै खेलकुदमैत्री नेतृत्वप्रति भरोसा बढेको प्रतिक्रिया दिएका थिए ।





