
सबिता चन्द
नेपालगन्ज । बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट चुनावी प्रचारप्रसारलाई जनतासँग प्रत्यक्ष जोड्दै नेपालगन्जका विभिन्न वडामा सक्रिय रूपमा खटिनुभएको छ। बिहानदेखि साँझसम्म घरदैलो, चोक–चौराहा र सडक पेटीमा पुगेर उहाँले मतदातासँग भेटघाट गर्दै तारा चिन्हमा मतदान गर्न आग्रह गर्नुभएको हो।
उम्मेदवार बिष्टले व्यापारी, सर्वसाधारण, Gen-Z युवा, खेलाडी युवाहरूसँग संवाद गर्दै रोजगारी, उद्यम, शिक्षा, खेलकुद र अवसर विस्तारका विषयमा आफ्ना चुनावी प्रतिबद्धता राख्नुभयो। बाटो छेउमा सानो पेसा–व्यवसाय गरिरहेका श्रमिक र पसलेसँग बसेर उहाँले दैनिकीका चुनौती र समाधानका उपायबारे छलफल गर्नुभयो।
सडक पेटीमा बसेका बेसहारा र श्रमिकसँग मन साट्दै बिष्टले उनीहरूका पीडा सुन्नुभयो भने मजदुरहरूसँग भेटेर उजुरी, ज्याला, सुरक्षा र सम्मानका सवालमा आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो। जेष्ठ नागरिकहरूसँगको भेटमा उहाँले स्वास्थ्य, सामाजिक सुरक्षा र सम्मानजनक जीवनका विषयमा गहिरो चासो व्यक्त गर्नुभयो।
“राजनीति जनताको दुःख–सुखसँग जोडिनुपर्छ,” भन्ने धारणा राख्दै बिष्टले सुन्ने राजनीति र समाधानमुखी नेतृत्वलाई आफ्नो मूल मन्त्र बताउनुभयो। स्थानीयले पनि उम्मेदवारको सरल पहुँच, संवेदनशीलता र निरन्तर उपस्थितिले भरोसा बढाएको प्रतिक्रिया दिएका छन्।
नेपालगन्जका वडावडामा चलिरहेको यो तीव्र जनसम्पर्कले बिष्टको अभियानलाई थप उर्जाशील बनाएको छ। घरदैलोमा भ्याइनभ्याई देखिएको यो दृश्यले बाँके क्षेत्र नं. २ मा जनतासँगै अघि बढ्ने राजनीतिको संकेत दिएको छ।





