सबिता चन्द
नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नं. २ अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ मा चुनावी सरगर्मी बढेको छ । आज यहाँ चुनावी सम्पर्क कार्यालयको उद्घाटन प्रतिनिधि सभा सदस्य पदका प्रत्यक्ष उम्मेदवार दिपेन्द्र विष्टले गर्नुभएको हो । उद्घाटनसँगै स्थानीयस्तरमा चुनावी माहोल झनै सक्रिय बनेको छ।
उद्घाटन कार्यक्रममा प्रत्यक्ष उम्मेदवार दिपेन्द्र विष्टसँगै समानुपातिक उम्मेदवारद्वय काली मिया (कस्मिरा) र जामिया खातुन, पार्टीका नेता डिल्ली बराल (अमिर)–कार्यकर्ता तथा स्थानीय जनसमुदायको उल्लेख्य उपस्थिति रहेको थियो । उपस्थित सहभागिताले वडा नं. ५ मा जनचासो र सहभागिता बढ्दो क्रममा रहेको संकेत गरेको छ।
कार्यक्रममा बोल्दै उम्मेदवार दिपेन्द्र विष्टले चुनाव चिन्ह तारालाई जनताको भरोसा र सहाराको प्रतीकका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले राजनीति जनताको जीवनसँग जोडिनुपर्ने भन्दै रोजगारी, उद्यम, शिक्षा र आधारभूत सेवामा सुधार आफ्नो प्राथमिकता हुने स्पष्ट पार्नुभयो । “जनताको आवाज संसदसम्म पुर्याउनु नै मेरो जिम्मेवारी हो,” उहाँको भनाइ थियो।
समानुपातिक उम्मेदवारद्वय काली मिया (कस्मिरा) र जामिया खातुनले समावेशी प्रतिनिधित्व र सामाजिक न्यायका पक्षमा एकजुट भएर काम गर्ने धारणा राख्नुभयो। उहाँहरूले महिला, अल्पसंख्यक र पछाडि पारिएका समुदायको आवाजलाई सशक्त बनाउने प्रतिबद्धता दोहोर्याउनुभयो।
चुनावी सम्पर्क कार्यालय उद्घाटनसँगै वडा नं. ५ मा घरदैलो, जनसंवाद र संगठन विस्तारका गतिविधि तीव्र बनाइने बताइएको छ। स्थानीयले पनि उम्मेदवार विष्टको सक्रियता, सरल शैली र स्पष्ट दृष्टिकोणले आशा र भरोसा बढाएको प्रतिक्रिया दिएका छन्।
वडा नं. ५ मा खुलेको यो सम्पर्क कार्यालय चुनावी प्रचारको केन्द्र मात्र नभई, जनता र नेतृत्वबीच प्रत्यक्ष संवादको साझा थलो बन्ने अपेक्षा गरिएको छ।





