जीवन र मृत्युको सीमारेखामा भेरी अस्पताल : दुर्लभ चिकित्सकीय अवस्थाले उठाएको प्रणाली सुधारको प्रश्न

  ।   २०८२ पुष ४, शुक्रबार १३:१३

सम्बाददाता

नेपालगन्ज । भेरी अस्पतालमा मृत घोषणा गरिएको शिशुमा चार घण्टापछि जीवनको संकेत देखिनु र उपचारकै क्रममा पुनः मृत्यु हुनु—यो घटना केवल एक अस्पतालको विषयमा सीमित छैन। अस्पतालको आन्तरिक छानवीन समितिले यसलाई दुर्लभ चिकित्सकीय अवस्था ठहर गर्दै उपचार प्रोटोकल पालना भएको निष्कर्ष निकालेसँगै, घटना अहिले स्वास्थ्य प्रणालीको संवाद, परामर्श र सार्वजनिक बुझाइतर्फ केन्द्रित हुन थालेको छ।

शुक्रबार बिहान भेरी अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले प्रतिवेदन सार्वजनिक गर्दै घटनाको चिकित्सकीय पृष्ठभूमि स्पष्ट पार्नुभयो । उहाँका अनुसार गर्भवती महिला अस्पताल आइपुग्दा नै पाठेघरको पानीको फोका फुटिसकेको, गर्भ अवधि केवल २३ हप्ता पुगेको र आमामा संक्रमणका लक्षण देखिएकाले गर्भावस्था निरन्तरता दिन नसकिने ‘Inevitable Abortion’ को अवस्थामा थियो।

छानवीन प्रतिवेदनले शिशुको तौल ६१७ ग्राम मात्र रहेको, गर्भ अवधि २८ हप्ताभन्दा कम र अत्यन्त कम तौल (Extreme Low Birth Weight) भएकाले बाँच्ने सम्भावना अत्यन्त न्यून रहेको निष्कर्ष निकालेको छ। जन्मका समयमा शिशुमा मुटुको चाल, श्वास–प्रश्वास वा अन्य जीवनचिन्ह नदेखिएपछि चिकित्सकीय मापदण्डअनुसार गरी परिवारलाई हस्तान्तरण गरिएको अस्पतालको भनाइ छ।

तर करिब चार घण्टापछि जीवन संकेतले आम नागरिकलाई झस्कायो। अस्पतालका चिकित्सकहरूका अनुसार यस्तो अवस्था ‘Suspended Animation’ वा ‘Lazarus Phenomenon’ जस्ता दुर्लभ अवस्थाका कारण देखिन सक्छ, जहाँ अत्यन्त अपरिपक्व र कमजोर शिशुमा जीवनचिन्ह ढिलो गरी प्रकट हुन्छन्। चिकित्सकीय दृष्टिले दुर्लभ भए पनि सामाजिक दृष्टिले अत्यन्त संवेदनशील यो घटनाले अस्पताल र परिवारबीचको संवाद कति महत्वपूर्ण हुन्छ भन्ने प्रश्नलाई अगाडि ल्याएको छ।

अस्पताल प्रशासनले उपचार प्रक्रियामा कमजोरी नरहेको दाबी गरे पनि, जोखिम र सम्भावित परिणामबारे आफन्तलाई पर्याप्त परामर्श दिन नसकिएको स्वीकार गरेको छ। यही स्वीकारोक्तिलाई धेरैले यो घटनाको मुख्य पाठका रूपमा लिएका छन्। चिकित्सा विज्ञान जति उन्नत भए पनि, संवेदनशील अवस्थाको व्यवस्थापनमा सञ्चार र विश्वास कमजोर हुँदा उपचारभन्दा ठूलो संकट पैदा हुन सक्ने यथार्थ यो घटनाले उजागर गरेको छ।

छानवीन समितिको निष्कर्षसँगै अब बहसको केन्द्र उपचार प्रोटोकलभन्दा बाहिर सरेको छ। उच्च जोखिम गर्भावस्था, अत्यन्त अपरिपक्व शिशु र सीमित स्रोत भएका सरकारी अस्पतालमा दुर्लभ अवस्थालाई कसरी सञ्चार गर्ने, परिवारलाई कसरी मानसिक रूपमा तयार पार्ने र यस्ता घटनामा संस्थागत प्रतिक्रिया कस्तो हुनुपर्छ भन्ने विषय अहिले बहसमा छन्।

भेरी अस्पतालले आगामी दिनमा काउन्सेलिङ प्रणाली मजबुत बनाउने, जोखिमयुक्त केसमा परिवारसँग निरन्तर संवाद गर्ने र संवेदनशील घटनामा थप सावधानी अपनाउने प्रतिबद्धता जनाएको छ। यो प्रतिबद्धता कार्यान्वयनमा कति प्रभावकारी हुन्छ भन्ने विषयले मात्र होइन, नेपालका सरकारी अस्पतालमा जटिल चिकित्सकीय अवस्थाको व्यवस्थापन कति मानवीय र विश्वसनीय छ भन्ने प्रश्नको उत्तर पनि दिनेछ।

Next Post

बर्दियाको बढैयातालमा किशोर–मैत्री स्वास्थ्य सेवामा ऐतिहासिक कदम

२०८२ पुष ४, शुक्रबार १३:१३
सम्बाददाता नेपालगन्ज । “स्वस्थ किशोर–किशोरी, समृद्ध भविष्य” भन्ने नारालाई आत्मसात गर्दै बर्दियाको बढैयाताल गाउँपालिकाले किशोर स्वास्थ्य सेवामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । बाँके युनेस्को क्लबको सहयोग तथा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बढैयाताल गाउँपालिकाको वडा नम्बर ७ र ८ मा किशोर–मैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । […]