सबिता चन्द ठकुरी
बाँके । रुकुम पश्चिमको राजनीति अहिले असाधारण ढंगले उकुसमुकुस भइरहेको छ । चुनाव नजिकिँदै गर्दा सडकदेखि बैठकखानासम्म एउटा नाम बारम्बार उच्चारण भइरहेको छ— लक्ष्मी पुन। विगत धेरै वर्षसम्म पार्टीभित्रका पहुँचवादी दायराले उहाँलाई बारम्बार पछाडि धकेले पनि यसपटक उहाँ दृढ र निडर रूपमा अगाडि उभिनु भएकोछ । उहाँको आवाजमा आत्मविश्वास छ, “अबको युग महिलाको हो। रुकुम पश्चिम परिवर्तनको बाटो रोज्दै छ।”
पुनको राजनीतिक यात्रा सामान्य नेतृत्वको कथा होइन।
भारतमा जन्मिए पनि उहाँ राजनीतिक चेतनासँगै रुकुमको माटोसँग गहिरोसँग गाँसिइनु भयो । २०५४ सालमा विद्यार्थी राजनीतिबाट सुरु भएको यात्राले उहाँलाई उर्जशिल बनाएकोछ । संकटकाल आउँदा उहाँ भूमिगत भई स्वदेश फर्किनु भयो । युद्धको धुवाँ, पहिरन बदलिएको पहिचान र अनिश्चितताको कालकोठरीमा पनि उहाँले हिम्मत हार्नु भएन । त्यो समय पार्टीले उहाँलाई गणतन्त्र रेडियोमा युद्ध पत्रकारका रूपमा खटायो।
रेडियो जनगणतन्त्र मगरातबाट प्रसारित अङ्ग्रेजी समाचारमा उहाँको आवाज सुनिन्थ्यो— स्थिर, आत्मविश्वासी र विद्रोही चेतनाले भरिएको । युद्धकै बीचमा उहाँले अध्ययन पनि छाड्नु भएन । अङ्ग्रेजीमा स्नातकोत्तर र नेपाल ल क्याम्पसबाट एलएलबी— यी दुवै हासिल गर्दै उहाँले आफ्नो योग्यता, समर्पण र मानसिक दृढता साबित गर्नु भएको छ । यसपछि उहाँ सानीभेरी गाउँपालिका–३ बाट उठेर राष्ट्रिय राजनीतिमा प्रवेश गर्दै माओवादी केन्द्रको आठौँ राष्ट्रिय सम्मेलनमा केन्द्रिय सदस्य पनि बन्नुभयो । तर, किर्तिमानी संघर्ष र क्षमताका बाबजुद बारम्बार समानुपातिक सूचीमा नाम राखिए पनि अन्तिम चरणमा पहुँच, सम्बन्ध र अन्तर्कक्षीय खेलमा पछि पारिनुपर्ने पीडा उहाँले भित्रै बोकिरहनु भयो ।
यस्ता चोट र अन्यायका कारण यसपटक पुनको दाबी केवल व्यक्तिगत आकांक्षा होइन— दशकौँदेखि महिला नेतृत्वलाई छायामा राख्ने संस्कृतिविरुद्धको प्रतिरोध बन्यो। रुकुम पश्चिममा उहाँको उदयले महिला समुदायमा आशा जगाएको स्थानीयहरु बताउँछन् । बर्षौँदेखि ‘हाम्रा मुद्दा कसले उठाउने ?’ भनेर निरन्तर प्रतीक्षा गरिरहेका महिला समूहले पहिलोपटक आफूले भोगेको पीडा प्रत्यक्ष बोकेको नेतृत्व देखेझैँ महसुस गरिरहेका छन्।
उहाँको भाषणभन्दा बढी प्रभावकारी छ — उहाँको जीवनकथा। संघर्ष, ज्ञान, भूमिगत राजनीति, युद्ध पत्रकारिता, अध्ययन, र फेरि स्थानीयदेखि केन्द्रसम्मको जटिल राजनीतिक उचाइ— उहाँसँग यस्तो संयोजन छ, जुन आम नेताहरूमा देखिंदैन। पार्टीभित्र अहिले उहाँको नामले नयाँ बहस सिर्जना गरेको छ। अब निर्णय त्यही पुरानै ढाँचाले हुने हो ? जसले दशकौँसम्म अरूको सहारा लिएर मात्र टिकट पाएका छन् ? कि एउटा त्यस्तो नेतृलाई अवसर दिने हो, जसले संघर्षमार्फत क्षमता सिद्ध गरिसकेकी छ र जसमा भविष्यको राजनीति नयाँ आकार दिन सक्छ भन्ने सम्भावना स्पष्ट देखिन्छ ?
रुकुम पश्चिमको जन–मनोविज्ञान पनि यसपटक बदलिएको छ। मानिसहरू केवल नेताको हैसियत हेर्दैनन्—उनीहरूको कथा, संघर्ष र उनीहरूले बोकेको भविष्य पनि हेरिरहेका छन्। लक्ष्मी पुनको कथा यिनै कारणले जनतासँग जोडिन्छ।यो चुनावमा पुनको दाबी केवल टिकटको माग होइन। यो महिलाले शताब्दीयौँदेखिको उपेक्षा चिरेर स्वतन्त्र र सक्षम नेतृत्व उभ्याउने घोषणा हो। यो रुकुम पश्चिमले आफ्नै भविष्यको दिशानिर्देश रोज्ने क्षण पनि हो।
रुकुम आज एउटा ठूलो प्रश्नको जवाफ खोजिरहेको छ-इतिहास दोहोर्याउने कि भविष्य बनाउने ? लक्ष्मी पुन भने आफ्नो उत्तर पहिले नै दिन सक्ने ठाउँमा उभिनु भएकोछ—संघर्ष, अध्ययन, अनुभव, स्पष्ट दृष्टि र जनभावनाको आधारमा।



