सबिता चन्द
नेपालगन्ज। आउँदो जुलाई १६ देखि १९ तारिखसम्म थाइल्याण्डको पटायामा आयोजना हुने १२औँ विश्व स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा सहभागिता जनाउनुभएका दुईजना खेलाडीहरूलाई लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर, नेपालगन्जको आयोजनामा एक विशेष कार्यक्रममार्फत बिदाई गरिएको छ।
उक्त प्रतियोगिताका लागि नेपालगञ्जमा सम्पन्न दोस्रो राष्ट्रियस्तरीय मेयर कप स्ट्रेन्थ लिफ्टिङ तथा आइबिपी च्याम्पियनसिपबाट छनोट हुनुभएका खेलाडीहरू मस्टर २ तर्फ ७६ किलो तौल वर्गमा श्री सन्तोष काजी शाक्य र सिनियर तर्फ ६८ किलो तौल वर्गमा श्री मोहित गुप्ता रहनुभएको छ।
बिदाई कार्यक्रममा लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर का निर्देशक भोदुराम थारु, गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, नेपालगन्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य श्री वसन्त कनोजिया र श्री मोहम्मद मुज्ममिल, समाजसेवी अमर भण्डारी, लियानाका प्रमुख कार्यकारी अधिकृत श्री अभिषेक थारु, तथा खैरपुर संगम कंक्रिट का निर्देशक श्री अभय रानाको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै निर्देशक थारुले खेलाडीहरूलाई खेल मैदानमा आत्मबल, आत्मविश्वास र राष्ट्रप्रेमका साथ उत्कृष्ट प्रदर्शन गर्नुहुन प्रेरणा दिनुभयो। उहाँले खेलकुदको वृत्तिविकासका लागि लियानाले सदैव सहयोग र सहकार्य गर्न तत्पर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत शाहले खेलकुदलाई केवल प्रतिस्पर्धाको क्षेत्र मात्र नभई शान्ति, सहकार्य र विश्व एकताको माध्यमको रूपमा विश्लेषण गर्नुभयो। उहाँले भन्नुभयो, “खेलले ठूला द्वन्द्वहरू समाधान गरेको छ, समाजलाई एकताबद्ध बनाएको छ, र राष्ट्रको समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याएको छ।”
यसअघि काजकिस्तानमा सम्पन्न ११औँ अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा मोहित गुप्ताले नेपालका लागि स्वर्ण र रजत पदक जित्नुभएको थियो। उहाँले यस पटक पनि देशको गौरव उच्च राख्ने दृढ इच्छा व्यक्त गर्नुभयो।उहाँले अधिकांश खेलाडीहरू आफ्नै खर्चमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनुपर्ने बाध्यताको गुनासो गर्दै राज्यको ध्यानाकर्षण गराउनुभयो।
उहाँले भन्नुभयो, “हामी खेलाडीहरू राष्ट्रिय गौरव बढाउन अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दैछौं, तर राज्यको नीतिगत समर्थन अभावमा मानसिक र आर्थिक बोझ खेप्नुपरेको छ। आशा गरिन्छ—सरकारले हाम्रो त्याग, परिश्रम र सफलताको मूल्य बुझ्नेछ र यथोचित सहयोग पुर्याउनेछ।”
थाइल्याण्डको पटायामा आयोजना हुने यस च्याम्पियनसिपमा नेपालबाट कुल ९ जना खेलाडीहरू सहभागी हुनेछन्। यस किसिमका अवसरहरूले नेपाली खेलकुदको अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्न भूमिका खेल्ने अपेक्षा गरिएको छ।
यस अवसरमा बिदाई भएका खेलाडीहरूलाई सम्पूर्ण नेपालीको तर्फबाट शुभकामना प्रकट गरिएको छ। राष्ट्रको झण्डा अन्तर्राष्ट्रिय मञ्चमा उचो राख्ने महान् अभियानमा उहाँहरूको सफलताको कामना गर्दै, संस्थागत र नीतिगत समर्थनसमेत सुनिश्चित गरिनुपर्नेमा सरोकारवाला निकायको ध्यान जानु आवश्यक देखिन्छ ।





