तिलक बहादुर नेपाली
नेपालगञ्ज । बाँके जिल्लाको डुडुवा गाउँपालिकाले सेवा तथा सुविधाको प्रभावकारिता सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ। बास नेपालको सहजीकरणमा वडा नम्बर ६ स्थित हिरमिनियामा आयोजित कार्यक्रममा गाउँपालिकाले जनसरोकारका सात महत्वपूर्ण प्रतिबद्धता सार्वजनिक गरेको हो।
सुनुवाइमा मन्थनपूर्वामा निर्माण सम्पन्न नालाको निकास अझै सुनिश्चित नभएको गुनासो आएपछि गाउँपालिकाले यथासक्य चाँडो प्राविधिक खटाएर समाधानको पहल गर्ने प्रतिबद्धता जनाएको छ। त्यस्तै, वडा नम्बर ६ को मकौलीमा हिलाम्य बाटोका कारण दैनिक आवतजावतमा समस्या भएको भन्दै एक साताभित्र ग्राभेल खसालेर समस्या समाधान गर्ने र दीर्घकालीन उपायको लागि योजना बनाउने घोषणा गरिएको छ।
गंघोटना लगायतका टोलहरूमा विद्युत भोल्टेज कम देखिएको भन्दै ट्रान्सफर्मर जडानको पहल गरिने बताइएको छ। साथै, हिरमिनियास्थित सशस्त्र प्रहरीको पूर्व क्याम्प पछाडिको २०० मिटर सडक आगामी आर्थिक वर्षको योजनामा पारेर निर्माण गर्न बजेट विनियोजन गरिने भनिएको छ। अहेरपुर टोलमा ह्युमपाइपको आवश्यकता रहेको जनाउँदै पालिकाबाट आवश्यक सामग्री उपलब्ध गराइने स्पष्ट गरिएको छ।
स्वास्थ्य चौकीमा औषधिको अभाव रहेको भन्ने जनगुनासोको जवाफमा आवश्यक औषधिहरू तुरुन्त उपलब्ध गराइने प्रतिबद्धता गरिएको छ भने निर्माणाधीन सडकहरूको गुणस्तरमा सबै सरोकारवालाहरू सजग र उत्तरदायी रहने सहमति सार्वजनिक रूपमा व्यक्त गरिएको छ।
कार्यक्रममा बास नेपालका कार्यक्रम अधिकृत रविन्द्र बोहराले सहजीकरण गर्नु भएको थियो । बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु भएको थियो । नागरिक प्रतिवेदनपत्र र बर्हिगमन अभिमतको नतिजा बास नेपालका निर्देशक हेमराज भट्टले सार्वजनिक गर्नुभएको थियो ।
झन्डै २५० जना स्थानीयवासीको सहभागिता रहेको सो सार्वजनिक सुनुवाइमा उठेका प्रश्नहरूको जवाफ गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी, उपाध्यक्ष शहीदा बानो, प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार पाण्डेय, वडा अध्यक्षहरू र विभिन्न शाखाका प्रमुखहरूले दिनुभएको थियो । कार्यक्रम वडा नम्बर ६ को श्री सरस्वती मावि, गंघोटनामा सम्पन्न भएको हो।





