निर्वाचनमा कर्मचारी खटनपटन विवाद: बाँकेका राष्ट्रिय ट्रेड युनियनको कडा चेतावनी

  ।   २०८२ फाल्गुन ८, शुक्रबार २२:४७

गुडन्युज सम्बाददाता

बाँके । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत फागुन २१ गते हुने निर्वाचनको तयारीका क्रममा बाँके जिल्लामा कर्मचारी खटनपटन र व्यवस्थापन प्रक्रियालाई लिएर गम्भीर असन्तोष सार्वजनिक भएको छ। जिल्लास्थित निजामती सेवाका क्षेत्रमा क्रियाशील राष्ट्रिय स्तरका ट्रेड युनियनहरूले शुक्रबार संयुक्त प्रेस नोट जारी गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न माग गरेका छन्।

प्रेस नोटमार्फत युनियनहरूले विगतदेखि निर्वाचनमा खटिँदै आएका अनुभवी, प्रशासनिक कार्यमा दक्ष निजामती कर्मचारीहरूलाई पाखा लगाई लघुवित्त, बैंक तथा वित्तीय संस्थाका प्राविधिक, अस्थायी र करार कर्मचारीलाई प्राथमिकता दिई खटनपटन गरिएकोप्रति आपत्ति जनाएका छन्। उनीहरूले पद र तहअनुसार जिम्मेवारी नदिइएको, राष्ट्र सेवक कर्मचारीहरूको मनोबल गिराउने तथा निरुत्साहित बनाउने कार्य भएको आरोप लगाएका छन्।संयुक्त वक्तव्यमा विशेषगरी न्याय सेवाका नायब सुब्बालाई मतदान अधिकृत बनाइएको तर प्रशासन वा अन्य सेवाका अधिकृतहरूलाई सहायक कर्मचारीका रूपमा खटाइएको विषयप्रति प्रश्न उठाइएको छ। त्यस्तै, टेलिकम जस्ता प्राविधिक कार्यालयका सम्पूर्ण कर्मचारीलाई एउटै मतदान केन्द्रमा पठाइएको, कतिपय कर्मचारीलाई दोहोरो–तेहोरो भूमिकामा राखिएको जस्ता व्यवस्थापकीय कमजोरीहरू तत्काल सच्याउन माग गरिएको छ।

युनियनहरुले भनेका छन्, “निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो। यसलाई प्रभावकारी र विश्वसनीय बनाउन अनुभवी तथा योग्य कर्मचारीलाई उचित जिम्मेवारी दिनु अपरिहार्य छ।” उनीहरूले अविलम्ब त्रुटिपूर्ण खटनपटन सच्याई न्यायोचित ढंगले कर्मचारी व्यवस्थापन गर्न र निष्पक्ष तथा विश्वासनीय वातावरण निर्माण गर्न प्रशासनको ध्यानाकर्षण गराएका छन्।

उक्त संयुक्त प्रेस नोट नेपाल निजामती कर्मचारी संगठन, निजामती कर्मचारी राष्ट्रिय कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन तथा एकीकृत सरकारी कर्मचारी संगठन, जिल्ला कार्यसमिति बाँकेका पदाधिकारीहरूले हस्ताक्षर गरी जारी गरेका हुन्।

लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण चरणका रूपमा रहेको निर्वाचनमा देखिएको यो असन्तोषले प्रशासनिक पारदर्शिता र समन्वयको आवश्यकता झनै औंल्याएको छ। अबको कदम कस्तो हुन्छ भन्नेमा कर्मचारी वृत्त मात्र होइन, आम नागरिकको चासो समेत केन्द्रित भएको भन्ने बुझाइ छ ।

Next Post

पुर्व प्रधानमन्त्री प्रचण्डको मार्गदर्शन, युवा नेता बिष्टको सक्रियता: नेपालगन्ज विमानस्थलमा छोटो तर सार्थक भेट

२०८२ फाल्गुन ८, शुक्रबार २२:४७
सबिता चन्द नेपालगन्ज । रुकुम पूर्वको राजनीतिक कार्यक्रम सकेर नेपालगन्ज आइपुग्नु भएका नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाँके क्षेत्र नम्बर २ का युवा उम्मेदवार दिपेन्द्र बिष्टबीच बिहीबार नेपालगन्ज विमानस्थलमा भएको भेटले स्थानीय तथा राष्ट्रिय राजनीतिमा नयाँ सन्देश दिएको छ। छोटो समयको भेट भए पनि […]