पुर्व प्रधानमन्त्री प्रचण्डको मार्गदर्शन, युवा नेता बिष्टको सक्रियता: नेपालगन्ज विमानस्थलमा छोटो तर सार्थक भेट

  ।   २०८२ फाल्गुन ९, शनिबार ०७:३०

सबिता चन्द

नेपालगन्ज । रुकुम पूर्वको राजनीतिक कार्यक्रम सकेर नेपालगन्ज आइपुग्नु भएका नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाँके क्षेत्र नम्बर २ का युवा उम्मेदवार दिपेन्द्र बिष्टबीच बिहीबार नेपालगन्ज विमानस्थलमा भएको भेटले स्थानीय तथा राष्ट्रिय राजनीतिमा नयाँ सन्देश दिएको छ। छोटो समयको भेट भए पनि त्यसले अनुभव र युवा ऊर्जाबीचको सहकार्यको सम्भावनालाई उजागर गरेको छ।

विमानस्थलमा भएको उक्त भेट औपचारिक स्वागतमा सीमित रहेन। राजनीतिक अवस्था, निर्वाचन तयारी, संगठन सुदृढीकरण र स्थानीय जनताका अपेक्षाबारे दुवैबीच संक्षिप्त तर अर्थपूर्ण छलफल भएको बताइन्छ। प्रचण्ड काठमाडौं प्रस्थान गरेपछि बिष्ट पुनः नेपालगन्ज फर्किनुभयो, तर त्यो क्षणले बाँके–२ को राजनीतिक माहोलमा तरंग सिर्जना गरिसकेको थियो।

प्रचण्ड नेपाली राजनीतिका अनुभवी र प्रभावशाली व्यक्तित्व हुनुहुन्छ । आन्दोलनदेखि शान्ति प्रक्रिया र शासनसम्मको लामो यात्राले उहाँलाई राजनीतिक दृष्टिले परिपक्व बनाएको छ। उहाँ जहाँ पुग्नुहुन्छ, त्यहाँ राजनीतिक सन्देश स्वतः जोडिन्छ। रुकुम पूर्वबाट नेपालगन्ज हुँदै काठमाडौंको यात्राले पनि संगठनात्मक सक्रियता र जनसम्पर्कलाई निरन्तरता दिएको संकेत गरेको छ।

उता बाँके–२ बाट उभिनु भएका युवा उम्मेदवार दिपेन्द्र बिष्ट नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा हुनुहुन्छ । स्थानीय मुद्दालाई प्राथमिकतामा राख्दै बिष्टले रोजगारी, कृषि, शिक्षा र स्वास्थ्य सुधारलाई आफ्नो एजेन्डाको केन्द्रमा राख्नु भएको छ । शीर्ष नेतृत्वसँगको प्रत्यक्ष संवादले उहाँको राजनीतिक छविलाई थप मजबुत बनाएको विश्लेषण भइरहेको छ।

बाँके–२ सामाजिक र आर्थिक विविधताले भरिएको क्षेत्र हो। यहाँका मतदाताहरू आश्वासनभन्दा कामको अपेक्षा गर्छन्। वैदेशिक रोजगारीमा पलायन भइरहेका युवालाई स्वदेशमै अवसर सिर्जना, कृषिको आधुनिकीकरण, गुणस्तरीय स्वास्थ्य सेवा र सीमावर्ती व्यापार व्यवस्थापन जस्ता विषय जनताको प्राथमिकतामा छन्। यस्ता मुद्दालाई प्रभावकारी रूपमा उठाउन सक्ने नेतृत्वको खोजी मतदातामा स्पष्ट देखिन्छ।

विमानस्थलमा देखिएको दृश्य केवल दुई नेताको भेट मात्र थिएन; त्यो अनुभव र परिवर्तनको चाहनाबीचको संवाद थियो। परम्परागत पहिरन र सांस्कृतिक पहिचानले नेपालीपन झल्काइरहेको थियो भने युवा उम्मेदवारको आत्मविश्वासी प्रस्तुति नयाँ सोच र ऊर्जाको संकेत थियो। यही संयोजनले अबको राजनीतिक यात्रालाई दिशा दिन सक्छ भन्ने अपेक्षा गरिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार यस्तो भेटले पार्टीभित्र पुस्तान्तरण र युवालाई अघि सार्ने सन्देश दिन्छ। यद्यपि जनताको अपेक्षा पूरा गर्नु नै वास्तविक परीक्षा हुने उनीहरूको भनाइ छ। जनताले अब भाषणभन्दा परिणाम खोजिरहेका छन्, र त्यो परिणाम दिन सक्ने नेतृत्वप्रति उनीहरू झुकाव राख्छन्।

नेपालगन्ज विमानस्थलमा भएको छोटो भेटले बाँके–२ को चुनावी माहोललाई थप सक्रिय बनाएको छ। आगामी दिनमा यो सहकार्य व्यवहारमा कसरी रूपान्तरण हुन्छ भन्ने कुराले नै राजनीतिक परिणाम निर्धारण गर्नेछ। अनुभवी नेतृत्वको मार्गदर्शन र युवा उम्मेदवारको ऊर्जा मिलेर यदि जनअपेक्षा पूरा गर्न सके, त्यो केवल एक क्षेत्रको जीत मात्र होइन, सकारात्मक राजनीतिक संस्कारको संकेत पनि बन्न सक्छ।

Next Post

बाँके–२ मा बिष्टको लहर : घर–आँगनबाट उठेको विश्वास, परिवर्तनको प्रतीक्षामा मतदाता

२०८२ फाल्गुन ९, शनिबार ०७:३०
सबिता चन्द नेपालगन्ज । बाँके क्षेत्र नं. २ मा यतिबेला प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट को पक्षमा माहोल तीव्र बन्दै गएको चर्चा छ। टोल–टोलमा भइरहेको घरदैलो अभियान, प्रत्यक्ष संवाद र जनतासँगको आत्मीय सम्बन्धले चुनावी वातावरणलाई बिष्टतर्फ उन्मुख बनाएको स्थानीय विश्लेषकहरूको भनाइ छ। नेपालगन्जदेखि डुडुवा र ग्रामीण बस्तीहरूमा पुगेको […]