नेपालगन्ज । अन्तर्राष्ट्रिय युवा दिवस–२०२५ को अवसरमा ‘बास–ब्राईटल्याण्ड युवा पुरस्कार’ यस वर्ष सामाजिक कार्यकर्ता खगेन्द्र दाहाललाई प्रदान गरिएको छ।
बास नेपाल र ब्राईटल्याण्ड स्कुल नेपालगञ्जको संयुक्त आयोजनामा भएको विशेष कार्यक्रममा दाहाललाई ताम्रपत्र, सम्मानपत्र, ट्रफी र नगद १५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो। पुरस्कार जिल्ला समन्वय समिति बाँकेकी उपप्रमुख सिता कार्की, बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह र ब्राईटल्याण्ड स्कुलका सहायक प्रधानाध्यापक राजा तिमिल्सनासहितका व्यक्तिहरूले संयुक्त रूपमा प्रदान गर्नुभएको थियो ।
बास नेपालका कार्यकारी निर्देशक शाहका अनुसार दाहाललाई युवाक्षेत्रमा सक्रियता, रचनात्मकता, सामाजिक योगदान, संघर्षपश्चातको सफलता र प्रेरक व्यक्तित्वजस्ता सूचकका आधारमा चयन गरिएको हो।
पुरस्कार ग्रहण गर्दै दाहालले यो सम्मानले आफूलाई अझ जिम्मेवार बनाएको बताउनु भयो । कार्यक्रममा बोल्दै उपप्रमुख कार्कीले इच्छाशक्ति, निरन्तरता र परिश्रमले नै व्यक्तिलाई सफल बनाउने धारणा राख्नु भयो ।
२०४५ भाद्र १ गते बाँकेको खजुरा गाउँपालिका–४ डि गाउँमा पिता रामचन्द्र दाहाल र माता देवकुमारी दाहालको कोखबाट जन्मेका दाहाल २०६४ सालदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । समाजसेवामा पनि एक दशकभन्दा बढी समय समर्पण गर्दै आउनु भएका उहाँ अपाङ्गता भएका, असहाय, जेष्ठ नागरिक, प्रकोप पीडित र उपचारबाट वञ्चित व्यक्तिहरूको सहयोगमा निरन्तर सक्रिय हुनुहुन्छ ।
युवा रेडक्रस सर्कल खजुराका अध्यक्ष र आदर्श युवा समाजका उपाध्यक्ष रहनु भएका दाहालले २०८१ सालमा दृष्टिबिहिन जयबहादुर बिक र भिमबहादुर खत्रीको घर निर्माण गरेर हस्तान्तरण गर्नु भएको थियो । साथै, उहाँले एक दर्जनभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री, मानसिक सन्तुलन गुमाएका व्यक्तिहरूको उद्धार, मृगौला तथा क्यान्सर पीडित र आगलागी पीडितको उपचार तथा पुनर्स्थापनामा सहयोग गर्नु भएको छ । उहाँका अनुसार अहिलेसम्म उहाँले विभिन्न अभियानमार्फत २० लाख रुपैयाँभन्दा बढी रकम जुटाएर सहयोग गर्नु भएको छ ।
२०११ सालमा असल कार्य गर्ने युवालाई प्रेरित गर्न बास युवा पुरस्कार स्थापना भएको हो। २०१२ सालमा ब्राईटल्याण्ड स्कुलसँग साझेदारी भएपछि यसलाई ‘बास–ब्राईटल्याण्ड युवा पुरस्कार’ नाम दिइएको हो। सुरुवाती चरणमा ५ हजार रुपैयाँसहित प्रदान गरिएको यो पुरस्कार हाल १५ हजार रुपैयाँमा पुगेको छ।
अघिल्ला विजेतामा क्रिकेटर बिनु मगर (२०११), पत्रकार भेषराज बस्नेत (२०१२), कलाकार प्रशान्त केसी (२०१३), शिक्षा अभियन्ता किशोर मल्ल (२०१४), कलाकार राजबहादुर साने (२०१५), मुस्लिम युवा सबनम परविन (२०१६), वातावरण अभियन्ता हेमन्तराज काफ्ले (२०१७), लागुऔषधविरुद्धका अभियन्ता अभिराज क्षेत्री (२०१८), पत्रकार कमल खत्री (२०१९), युवा अभियन्ता आशिष बर्मा (२०२१), सरिता खनाल (२०२२), सामाजिक अभियन्ता बिनोद थापा (२०२३) र सुनिल परियार (२०२४) रहनु भएको छ ।





