सबिता चन्द
नेपालगन्ज । नेपाली युवालाई व्यावसायिक तालिम मार्फत रोजगारीका अवसर दिलाउने उद्देश्यले बाँकेको नेपालगन्जमा ‘लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर’ औपचारिक रुपमा सञ्चालनमा आएको छ ।
उद्घाटन समारोहमा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाह, र नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले संयुक्त रूपमा केन्द्रको उद्घाटन गर्नुभयो। कार्यक्रममा सरकारी, राजनीतिक, सामाजिक र सुरक्षातर्फका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
दक्ष जनशक्तिका लागि प्रतिबद्धता
कार्यक्रमका प्रमुख अतिथि मेयर यादवले नेपाली युवाको इमानदारी, लगनशीलता र अनुशासनको अन्तर्राष्ट्रिय रूपमा प्रशंसा भइरहे पनि सीप अभावले उनीहरू उपयुक्त रोजगारीबाट वञ्चित हुने गरेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “दक्ष जनशक्ति उत्पादन नगरिकन समृद्धि सम्भव छैन, त्यसैले नगरपालिकाले यस्ता तालिम केन्द्रसँग समन्वय गर्दै आगामी दिनमा आवश्यक सहयोग गर्नेछ।”
नरैनापुरका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले सीपविना वैदेशिक रोजगारीमा गएकाहरू ठगिने, न्यून पारिश्रमिक पाउने र अप्ठ्यारोमा पर्ने अवस्था रहेको जनाउँदै भन्नुभयो, “युवाहरूलाई सीप सिकाएर पठाउने हो भने उनीहरू विदेशमा राम्रो रोजगारी पाउँछन्, पारिश्रमिक पनि उच्च हुन्छ र जोखिम पनि कम हुन्छ।”
तालिम र रोजगारीबीचको सेतु
सेन्टरका निर्देशक भोदुराम थारुले तालिमलाई व्यावसायिकतासँग जोड्दै रोजगारीमुखी बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो। “हामी केवल कागजी प्रमाणपत्र होइन, व्यवहारिक सीप सिकाउनेछौं जसले उनीहरूलाई स्वदेश तथा विदेश दुबैतिर अवसर दिलाउनेछ,” उहाँले भन्नुभयो।
त्यसैगरी, नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले युवाहरू तालिम नपाएर विदेशमा काम पाउन नसकेको गुनासो आइरहेको उल्लेख गर्नुभयो। उहाँले आउने आर्थिक वर्षमा सेन्टरसँग सहकार्य गर्दै बजेट विनियोजन मार्फत विभिन्न तालिम सञ्चालन गर्ने जानकारी दिनुभयो।
बहुपक्षीय सहभागिता र शुभकामना 
कार्यक्रममा नेकपा माओवादी केन्द्रकी नेतृ मिना मल्ल पुनले तालिम, शिक्षा परामर्श, र वैदेशिक रोजगार क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनु भयो ।
त्यस्तै, मधुवन नगरपालिकाका पूर्व मेयर कृष्ण केसी, सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर राउत र शोभाकान्त खनाल, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक ओम खण्डका, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि जीवन मल्ल, समाजसेवी अमर भण्डारी, लियाना म्यानेजमेन्ट सर्भिसका डाइरेक्टर उदय खत्री, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, भान्से लक्ष्मण प्रसाद भण्डारी लगायतले सीप विकास, व्यावसायिकता र सहकार्यको महत्त्वमा जोड दिनुभयो।
कार्यक्रमकै क्रममा बाँकेबाट सरुवा भएका राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक ओम खण्डकालाई सेन्टरले मायाको चिनो प्रदान गर्दै आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गर्यो।
आधुनिक संरचना र सुविधायुक्त पूर्वाधार
‘लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर’मा व्यावसायिक शिक्षा प्रदान गर्नका लागि अत्याधुनिक पूर्वाधार तयार गरिएको छ। तालिम केन्द्रमा प्रविधिसम्पन्न पठन–पाठन कक्ष, केयरिङ तालिमका लागि प्रयोगशाला, बरिस्ट र सेफसहितको रेस्टुरेन्ट कक्षको व्यवस्था रहेको सेन्टरका अध्यक्ष भोधुराम थारुले बताउनु भयो ।
सेन्टरका सीईओ अभिषेक थारुका अनुसार, प्रत्येक कक्षा कोठामा २० देखि २५ जना प्रशिक्षार्थी अट्ने क्षमता रहेको छ। तालिम लिएर दक्षता हासिल गरेपछि प्रशिक्षार्थीलाई रोजगारीका अवसरसमेत उपलब्ध गराइनेछ।
युवा रोजगारीको आशा बोकेको केन्द्र
देशभित्रै सीप सिक्ने र त्यसको आधारमा रोजगारी पाउने अवसर कम भएका बेला लियाना हस्पिटालिटी ट्रेनिङ सेन्टरले युवाहरूलाई उज्यालो भविष्यतर्फ डोर्याउने विश्वास लिएको छ। सीप सिकेपछि मात्रै सुरक्षित र समृद्ध वैदेशिक रोजगारी सम्भव छ भन्ने सन्देश सहित सञ्चालनमा आएको यो केन्द्रले पश्चिम नेपालमा सीप तालिमको खालि स्थानलाई भरिदिने अपेक्षा गरिएको छ।





