लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई प्रदेशसभाका ४२ सांसदको मत प्राप्त

  ।   २०७८ भाद्र ७, सोमबार १८:००

संवाददाता ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको छ । आज प्रदेशसभा बैठकमा आफूलाई प्रदेशसभाको विश्वास छ, भनी मुख्यमन्त्री केसीले राखेको प्रस्तावको पक्षमा ४२ मत र विपक्षमा शून्य मत प¥यो ।

उपसभामुख कृष्णी थारु तटस्थ बस्नुभयो । सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो ।

प्रदेशसभाका ८० सांसदमध्ये आज मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुँदा ४३ जना प्रदेशसभा सदस्यमात्र उपस्थित थिए ।

मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक भने प्रमुख विपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको थियो । त्यसैले विपक्षमा मत नपरेको हो ।

माओवादी केन्द्र संसदीय दलका नेता केसी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा गत साउन २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

विश्वासको मत माग्दै मुख्यमन्त्ती केसीले प्रदेश सरकारको आवधिक योजना व्यवहारमा देखिने गरी कार्यान्वयन गर्ने बताउनुभयो । त्यस्तै समृद्ध प्रदेश खुशी जनताको नारा जनताले अनुभूति गर्ने गरी काम गर्ने बताउनुभयो ।

नेकपा एमालेले भने मुख्यमन्त्रीलाई समर्थन गर्ने अजय शाही र विमलाकुमारी खत्री वली आफ्नो दलको सांसद रहेको दावी गरेको छ ।

एमालेले उनीहरुले दलको ह्वीप नमानेको भन्दै निष्कासनको कारबाही गरी पदमुक्त गर्न प्रदेशसभामा जानकारीसमेत गराएको छ । तर सभामुख पूर्णबहादुर घर्तीले उनीहरु एमाले सांसद रहेको पुष्टि नभएको भन्दै कारबाही गर्न अस्वीकार गर्नुभएको छ ।

एमालेले भने उनीहरुलाई कारबाही नगरेसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने बताएको छ ।

२०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहका अजय शाहीले नेकपा एमालेको सूर्य चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्नुभएको थियो ।

त्यस्तै २०७६ सालमा भएको उपनिर्वाचनमा तत्कालिन नेकपाकी उम्मेदवार विमलाकुमारी खत्री वलीले पनि सूर्य चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्नुभएको थियो ।

सोही कारण एमालेले उनीहरु आफ्नो दलको सांसद भएको दावी गरेको छ । तर शाहीले नेकपा एमाले र माओवादी केन्द्र अलग भएपनि आफूले माओवादी केन्द्र रोजेको दावी गर्नुभएको छ ।

अनलाइन खबरबाट

Next Post

लुम्बिनीका मुख्यमन्त्री केसीले बिश्वासको मत लिनुभयो

२०७८ भाद्र ७, सोमबार १८:००
नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । सोमबार प्रदेशसभा बैठकमा आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री केसीले राखेको प्रस्तावको पक्षमा ४२ मत प्राप्त गरेपछि अब मुख्यमन्त्रीमा स्थायित्वमा हुने भएको छ । लुम्बिनी प्रदेश सभा सदस्यको संख्या जम्मा ८० जना सदस्य संख्या रहेको थियो […]

सम्बन्धित समाचार