काठमाडौं । प्रेस स्वतन्त्रता माथी गम्भीर प्रहार भइरहेको भन्दै प्रेस सेन्टर नेपालले तत्काल यस्ता गतिविधिहरू बन्द गर्न माग गरेको छ। विशेषगरी वरिष्ठ पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पुर्जी लिएको घटनाप्रति प्रेस सेन्टर नेपालले गम्भीर आपत्ति जनाएको हो।
प्रेस सेन्टर नेपालका महासचिव मनोज घर्तीमगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपालखबर डटकम र बिजमाण्डू डटकममा प्रकाशित समाचार हटाउन तथा थप समाचार नलेख्न जिल्ला अदालतबाट आदेश जारी हुनु र सोही आधारमा पत्रकार पक्राउ गर्न खोजिनु प्रेस स्वतन्त्रता, लोकतन्त्र र संविधान माथिको प्रत्यक्ष प्रहार हो।”
विज्ञप्तिमा संचारमाध्यममा आएका समाचारबारे चित्त नबुझेको खण्डमा नियामक निकाय प्रेस काउन्सिल नेपालमा उजुरी दिन सकिने स्पष्ट व्यवस्था हुँदाहुँदै अदालतबाट प्रत्यक्ष हस्तक्षेप हुनु अत्यन्तै दुःखद र निन्दनीय भएको उल्लेख छ। साथै, अदालतबाट पटक–पटक यस्ता आदेशहरू आउनु र पत्रकार पक्राउ गर्न पुर्जी जारी हुनु संयोग मात्र नभई संगठित षड्यन्त्रको संकेत भएको पनि प्रेस सेन्टर नेपालको ठम्याइ छ।
“यसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समावेशीतालाई कमजोर पार्ने गम्भीर षड्यन्त्र भइरहेको संकेत गर्छ,” विज्ञप्तिमा भनिएको छ।
प्रेस सेन्टर नेपालले सरकार, गृहमन्त्री र गृह प्रशासनलाई यस्ता कार्यको जिम्मेवारी लिन आग्रह गर्दै वरिष्ठ पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्ने तयारी तत्काल फिर्ता लिन स्पष्ट रूपमा चेतावनी दिएको छ। साथै, संविधान प्रदत्त प्रेस स्वतन्त्रता र सञ्चार नियामक निकायको अधिकार क्षेत्रलाई सम्मान गर्न सबै सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।
विज्ञप्तिको अन्त्यमा प्रेस सेन्टर नेपालले प्रेस स्वतन्त्रताको रक्षार्थ सामूहिक प्रतिवाद र संघर्षका लागि तयार रहने प्रतिबद्धता पनि जनाएको छ।
प्रेस विज्ञप्तिको पुर्ण पाठ
प्रेस सेन्टर नेपाल
मिति : २०८२/०२/२८
प्रेस विज्ञप्ति
संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको अधिकारमाथि गम्भीर प्रहार हुने गरी न्यायलयले दिएको आदेश र पत्रकार पक्राउ गर्न पुर्जी जारी भएको घटनाप्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपालखबर डटकम र बिजमाण्डू डटकममा प्रकाशित समाचार हटाउन र थप समाचार नलेख्न जिल्ला अदालत काठमाडौंले दिएको आदेश र प्रहरीले सोही अदालतबाट वरिष्ठ पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न पुर्जी लिनु प्रेस स्वतन्त्रताको गम्भीर उल्लङ्घन हो । यो प्रेस स्वतन्त्रता, लोकतन्त्र र संविधानमाथिको प्रहार हो । प्रेस सेन्टर नेपाल यसप्रकारको कार्यको घोर निन्दा गर्दछ ।
सञ्चार माध्ययममा आएको समाचारका विषयमा चित्त नबुझेमा वा अन्याय भएको महशुस गरेमा प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने स्पष्ट व्यवस्था छ । नियामक निकाय प्रेस काउन्सिल छँदाछँदै अदालतमा मुद्दा दायर गरिनु र अदालतले संवैधानिक र कानूनी अधिकारलाई बिर्सेर समाचार हटाउन तथा आगामी दिनमा नलेख्न आदेश दिनु नेपालको लोकतन्त्र र प्रेस स्वतन्त्रताको गम्भीर हनन् हो ।
स्वतन्त्र न्यायलयबाट पटक–पटक यस प्रकारको आदेश हुनु, समाचार प्रशारण गरेकै कारण पत्रकारलाई पक्राउ गर्न पुर्जी लिनुलाई संयोगमात्रै मान्न सकिदैन । यसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशीतालाई उल्टाउने षड्यन्त्र हो भन्ने शंकाको सुविधा दिएको छ । यसको जिम्मा वर्तमान सरकार, गृहमन्त्री र गृह प्रशासनले लिनुपर्दछ ।
प्रेस सेन्टर वरिष्ठ पत्रकार दिलभूषण पाठकलाई पक्राउको तयारीबाट पछि हट्न सरकारसँग आग्रह गर्दछ । संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रता, नेपाली सञ्चार क्षेत्रको नियामक निकायको क्षेत्राधिकारलगायतका बारेमा विवेक पु¥याउन सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछ ।
यस प्रकारको प्रेस स्वतन्त्रता विरोधी कार्यको प्रतिवाद गर्न सामूहिक सहकार्यका लागि सम्बद्ध पक्षसँग आग्रह गर्दछ । प्रेस स्वतन्त्रता र राजनीतिक उपलब्धि रक्षाका लागि जस्तो सुकै संघर्ष गर्न प्रेस सेन्टर तयार छ ।
(मनोज घर्तीमगर)
महासचिव



