प्रमिला चौधरी
बाँके । नेपाली पत्रकारिता क्षेत्रले अन्तर्राष्ट्रिय पहिचान बनाउँदै लगेका क्रममा भारतको उत्तर प्रदेशस्थित बहराइचमा आयोजित एक विशेष पत्रकार सम्मेलन तथा सम्मान कार्यक्रममा नेपाली सञ्चारकर्मी वरिष्ठ पत्रकार डा। डक्टप्रसाद धिताल लगायत ४ जना पत्रकारहरुको भव्य सम्मान गरिएको छ । कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी तथा रेडियो मोर्निङ स्टारका स्टेसन म्यानेजर डा. डक्टप्रसाद धिताललाई राष्ट्रिय/अन्तर्राष्ट्रिय पत्रकारिता तथा सञ्चार क्षेत्रमा पुर्याएको दीर्घ योगदानका लागि विशेष सम्मान प्रदान गरिएको छ। सञ्चार जगतमा उहाँले पुर्याउनु भएको योगदानको चर्चा गर्दै कार्यक्रमका वक्ताहरूले डा. धिताल जस्ता पत्रकारहरू राष्ट्र, अन्तराष्ट्र र समाजका लागि प्रेरणाका स्रोत भएको बताउनु भयो ।
त्यसैगरी, गोरखापत्रका संवाददाता सिराज खानलाई पनि पत्रकारिता क्षेत्रमा उहाँले पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मानित गरिएको हिन्दी पत्रकार एसोसियटका अध्यक्ष अनन्द प्रकाश गुप्ताले बताउनु भयो । गोरखापत्र जस्तो ऐतिहासिक मिडियासँग आबद्ध भई सामाजिक मुद्दा उठानमा सक्रिय भूमिका खेल्नु भएका खानको कामको खुलेर प्रशंसा गरिएको थियो ।
रेडियो नेपाल बाँके संवाददाता आलम खानलाई नेपाली पत्रकारितामार्फत पुर्याएको योगदानका लागि सम्मान गरिएको हो। ‘हिन्दी पत्रकारिता दिवस’ को अवसरमा आयोजित उक्त कार्यक्रममा खानले विदेश मामिला, भूराजनीति तथा अनुसन्धानात्मक पत्रकारितामा पुर्याएको योगदानको चर्चा गर्दै प्रेस काउन्सिल अफ इन्डियाका पूर्व सदस्य रजा हुसेन रिजबी, वरिष्ठ महापमण्डलेश्वर स्वामी रवि गिरि जी महाराज, उत्तर प्रदेशका विधायक राम निवास बर्मा, विधायक सुभाष त्रिपाठी तथा सदाब हुसेनद्वारा हस्ताक्षर गरिएको सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा गुड न्युजकी संवाददाता सबिता चन्द ठकुरीलाई पनि सम्मान गरिएको थियो। सामाजिक मुद्दा, महिला सशक्तीकरण र मानव अधिकार जस्ता विषयमा क्रियाशील ठकुरीको लेखनीले सामाजिक सचेतना अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै आयोजक संस्थाले उहाँलाई पनि सम्मानित गरेको हो।
सो सम्मान कार्यक्रम उत्तर प्रदेश मान्यता प्राप्त पत्रकार एशोसिएसनको आयोजनामा सम्पन्न भएको थियो। कार्यक्रममा उत्तर प्रदेशका विधायक राम निवास बर्माले त्रेता युगदेखि कायम नेपाल(भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । विधायक सुभाष त्रिपाठीले पनि सञ्चार क्षेत्रको माध्यमबाट सीमा क्षेत्रमा सहजता र समझदारी बढाउने दिशामा दुई मुलुकका पत्रकारहरू मिलेर काम गर्नुपर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा नेपाली मात्र नभई भारतीय पत्रकारहरूलाई समेत सम्मान गरिएको थियो, जसले पत्रकारिता क्षेत्रको समग्र सम्मान र दायित्व प्रतिको प्रतिबद्धता झल्काउँछ ।
नेपाल/भारत पत्रकारिता सम्बन्धको सेतु बन्न सफल यस सम्मान समारोहले दुवै देशबीचको पत्रकारिता साझेदारीलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।