नेपालगन्ज भेरी अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु

  ।   २०८२ बैशाख १०, बुधबार ११:०६

नेपालगञ्ज भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको छ । अस्पताल प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले अस्पतालमा मंगलबारदेखि पहिलो पटक मिर्गौला प्रत्यारोपण हुन लागेको जानकारी दिनु भएको हो ।

उहाँले दुई जना बिरामीको मिर्गौला प्रत्यारोपण गर्न लागेको र त्यसका लागि सबै प्रक्रिया पूरा भएको बताउनु भयो । ‘एक जनाको प्रत्यारोपण सुरु भइसक्यो त्यो सकिएपछि अर्को हुन्छ, ‘डा सुवेदीले भन्नुभयो ।

मिर्गौला प्रत्यारोपणका लागि सहिद धर्मभक्त माथेमा मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठसहित १४ जनाको टोली आउनु भएको छ । डा सुवेदीले अस्पतालको क्षमता बढाउँदै लगेपछि मिर्गौला प्रत्यारोपण गर्न टाढा जानुपर्ने अवस्थाको अन्त्य हुने बताउनु भयो ।

उहाँका अनुसार महिनामा कम्तीमा एक जनाको मिर्गौला प्रत्यारोपण हुने र अस्पतालको जनशक्ति बढाउँदै लगिने छ । अस्पतालका यूरोलोजी विशेषज्ञ, डा दिपेश गुप्ता, एनेस्थेसिया डा. पारस पाण्डे, नेफ्रोलोजीतर्फ डा. शौरभ हमाल, यूरोलोजीका डा. अञ्जित फुयाँल, डायलासिस इन्चार्ज डा. पारस श्रेष्ठलगायतको टोलीले मिर्गौला प्रत्यारोपण गर्ने जनाइएको छ ।

अस्पतालमा हाल दैनिक २० देखि २५ जना मिर्गौलाका बिरामीले डायलासिस गर्दै आएका छन् । यहाँ मिर्गौला प्रत्यारोपण न्यूनतम शुल्कमा हुने र यसबाट बिरामीले लाभ लिने डा. सुवेदीको भनाइ छ । अस्पतालले पछिल्लो समय जलनका बिरामीका लागि छ शैय्याको छुट्टै वार्ड, २० शैय्याको सर्जिकल वार्ड, १६ शैय्याको पोष्ट अपरेटिभ वार्ड, नयाँ ओपिडीसमेत सञ्चालनमा ल्याएको छ । अस्पताल व्यवस्थापन समितिका सदस्य समीर कुमार गुरुङले मृगौला प्रत्यारोपणको सुरु भनेको यस क्षत्रको लागि एतिहासिक कार्य भएको बताउनु भयो ।  त्यस्तै अस्पताल विकास समितिका अर्का सदस्य डा. डक्ट प्रसाद धितालले भेरी अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरुहुनु पश्चिम नेपालकै लागि उपलब्धि भएको बताउनु भयो । पछिल्ला दिनहरुमा भेरी अस्पतालको स्तरोन्नति भैरहेको कुराले नेपालगन्जको गौरव बढेको डा. धितालले बताउनु भयो ।

भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले मिर्गौला प्रत्यारोपण अस्पतालको उपलब्धि हुनाका साथै त्यससम्बन्धी बिरामीका लागि उपचारको आशा जगाउने काम भएको बताउनु भयो ।

 

Next Post

परियोजनाको प्रभावकारिता, पारदर्शिता र दिगोपनमा ध्यान दिन कोषाध्यक्ष जहाँको जोड

२०८२ बैशाख १०, बुधबार ११:०६
नेपालगन्ज । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालित तीनवटा परियोजनाहरुको त्रैमासिक समिक्षा तथा योजना तर्जुमा बैठक गुलरियामा सम्पन्न भएको छ । बर्दियामा सञ्चालित शसक्त बालिका परियोजना, ग्रिन इकोनोमि परियोजना र सुरक्षा परियोजनाको तीन महिने समिक्षा तथा योजना तर्जुमा बैठक सम्पन्न गरिएको बाँके युनेस्को क्लबले जनाएको छ […]